खेलकुद

प्रिमियर लिग राउन्डअपः

च्याम्पियन सिटीको फराकिलो जित, एभरटन लिड्ससँग रोकियो

इकागज |
भदौ ५, २०७८ शनिबार २२:११ बजे

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार राति नर्विच सिटीमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । सिटीको जितमा ज्याक ग्रेलिस, एयमेरिक लापार्टे, रहिम स्टर्लिङ र रियाह माहरेजले एक-एक गोल गरे । एक गोल भने सिटीले उपहार स्वरुप पायो । 

गत साता टोटनहमसँग पराजित भएको सिटीका लागि यो सिजनको पहिलो जित हो । शनिबार राति नै भएका अन्य खेलमा एस्टन भिल्लाले न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्‍यो भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । 


भिल्लाको जितमा नयाँ खेलाडी डानी इंग्स र अनवर एल गाजीले एक-एक गोल गरे । गत सिजन भिल्लाका लागि महत्वपूर्ण खेलाडी साबित भएका ग्रेलिस सिटी लागेपछि खरिद गरिएका इंग्सले खेलको पहिलो हाफमा गोल गरेका थियो । विजयी टिमको दोस्रो गोल भने गाजीले पेनाल्टीमा गरे । 

उता क्रिस्टल आफ्नै मैदानमा नव प्रवेशी ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो । गत साता चेल्सीसँग पराजित भएको क्रिस्टलले नयाँ प्रशिक्षक प्याट्रिक भिएराको नेतृत्वमा पहिलो अंक बटुलेको हो । उता बे्रन्टफोर्डले भने आफ्नो पहिलो खेलमा आर्सनललाई स्तब्ध तुल्याएको थियो । 

शनिबार राति नै एल्लान्ड रोडमा भएको खेलमा लिड्स युनाइटेड र एभरटनले २-२ को रोमाञ्चक बराबरी खेले । ७२ औँ मिनेटमा राफिन्हाले गोल फर्काएपछि लिड्स लगातार पराजित हुनबाट रोकियो ।

गत साता म्यानचेस्टर युनाइटेडसँग पराजित भएको लिड्सका लागि एभरटनविरुद्धको खेलमा माटेउस क्लिचले पनि गोल गरे ।  एभरटनबाट डोमिनिक कालभर्ट लेविन र डेमराई ग्रेले समान एक गोल गरे । 
 


Author

थप समाचार
x