पेप ग्वार्डिओलाको योजनाः सिटी छाडेर विश्राम, अनि राष्ट्रिय टिमको जिम्मेवारी
काठमाडौँ-म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लब फुटबल छाडेर राष्ट्रिय टिमको जिम्मेवारी लिने आफ्नो इच्छा रहेको बताएका छन् । ग्वार्डिओलाले सिटी छाडेपछि केही समय विश्राम लिने र कुनै पनि राष्ट्रिय टिमको जिम्मेवारी लिने बताएका हुन् ।
ग्वार्डिओलाले सिटीसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेका छन् । गत नोभेम्बर, २०२० मा सिटीसँगको सम्झौता नविकरण गरेका ग्वार्डिओला इंग्लिस प्रिमियर लिगमा कुल सात वर्ष रहने छन् ।
‘मेरो करियरको अर्को विन्दु राष्ट्रिय टिमको जिम्मेवारी हुनेछ । सिटीसँगको सम्झौतापछि म सम्भवत विश्राम लिनेछु । प्रिमियर लिगमा सात वर्ष बिताइसकेपछि निश्चय पनि मैले आफ्नो स्वमुल्यांकन गर्नेछु । त्यसपछि नयाँ निर्णय लिनेछु । युरोसपयन चयाम्पियनसिप, कोपा अमेरिका, विश्वकप जस्ता प्रतियोगितामा म कुनै एउटा राष्ट्रिय टिमको जिम्मेवारी लिनेछु,’ ग्लोबो टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा ग्वार्डिओलाले भने ।
उनलाई ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने इच्छा छ कि भनेर पनि सोधियो । ‘ब्राजिल उत्कृष्ट टिम हो । ब्राजिलका केही खेलाडीसँग मैले काम गर्ने मौका पाएको छु । अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्राजिललाई सधैँ सम्भावित विजेताका रुपमा लिइन्छ,’ ग्वार्डिओलाले भने ।
बायर्न म्युनिख तथा बार्सिलोनाका पूर्वप्रशिक्षक समेत रहेका ग्वार्डिओला ब्राजिलको प्रशिक्षक बन्न लालयित रहेको उनका पूर्वसहायक डोमेनेक टोरेन्टले बताएका छन् । सिटीमा उडरसन, फर्नानडिन्हो र गाब्रियल जिजस जस्ता ब्रजिलियन खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका ग्वार्डिओला ब्राजिलियन प्रतिभाहरुको प्रशंसक रहेको टोरेन्टको भनाइ थियो ।
ग्वार्डिओलाले आफू एउटा क्लबमा लामो समय रहन नसक्ने बताउँदै आएका छन् । बार्सिलोनामा चार सिजन बिताएपछि ग्वार्डिओलाले एक वर्ष विश्राम लिएका थिए । तर बायर्नमा तीन वर्ष रहेपछि भने ग्वार्डिओला सिधै सिटी पुगेका थिए । सिटीमा ग्वार्डिओलाले तीन पटक प्रिमियर लिग जितेका छन् ।
बार्सिलोनाका पूर्व मिडफिल्डर समेत रहेका ग्वािर्डओलाले स्पेनिस राष्ट्रिय टिमका लागि ४७ खेल खेलेका छन् । उनी स्पेनका लागि उपयुक्त प्रशिक्षक बन्न सक्छन् । तर कयाट्लोनिया क्षेत्रका ग्वार्डिओलाले स्पेनिस टिम सम्हाल्ने सम्भावना कम रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया