फुटबल सरुवा बजार
‘रोनाल्डो म्यानचेस्टर सिटी जाने पक्का’
काठमाडौँ- युरोपियन क्लब फुटबलको सरुवा बजार सकिन केही दिन बाँकी छ । अगस्ट ३१ अघि नै युरोपियन क्लबहरूले खेलाडी खरिद बिक्री सक्नुपर्नेछ । यसपटकको सरुवा बजार विशेष रह्यो । किनभने लियोनल मेस्सीले क्लब परिवर्तन गरे ।
मेस्सी गत अगस्ट १० बाट पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी बने । त्यो पनि ‘फ्रि–ट्रान्सफर’मा । बार्सिलोनाले आफ्ना सबैभन्दा महंगा रत्नलाई नयाँ सम्झौता प्रस्ताव गर्न नसकेपछि पीएसजीले बाजी मार्यो ।
विश्व फुटबलमा मेस्सी जत्तिकै महत्वपूर्ण रहँदै आएका क्रिस्टियानो रोनाल्डोले पनि क्लब परिवर्तन गर्ने चर्चा चलिरहेको छ । हाल युभेन्टसमा रहेका ३६ वर्षीय रोनाल्डो म्यानचेस्टर सिटीसँग जोडिएका छन् । सर्जियो अग्वेरो बार्सिलोना लागेपछि सिटी नयाँ स्ट्राइकरको खोजीमा छ । सिटीले टोटनहमका ह्यारी केन खरिद गर्न नखोजेको होइन । तर उसको प्रयास असफल भयो ।
केनलाई अनुबन्ध गर्ने प्रयास असफल भएपछि सिटीको नजर रोनाल्डोमाथि छ । पोर्चुगलका पत्रकार गोन्न्सालो लोपेसको दाबी अनुसार रोनाल्डो र सिटीबीच सहमति पनि भइसकेको छ । लोपेसले बिहीबार साँझ ट्वीट गर्दै भनेका छन्, ‘रोनाल्डो म्यानचेस्टर सिटी जाने पक्का ।’
लोपेसले रोनाल्डो सिटी जाने पक्का भएको दाबी गरे पनि युभेन्टस भने उसको स्टार खेलाडीलाई टुरिनमै राख्न प्रतिबद्ध छ । बिहीबार मात्रै दी एथ्लेटिकसँग कुरा गर्दै युभेन्टसका उपाध्यक्ष पाभेल नेदभेदले रोनाल्डो यस सिजन युभेन्टसमै रहने बताएका थिए । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पनि रोनाल्डोले क्लब छाड्ने हल्लामा कुनै प्रकारको सत्यता नरहेको दाबी गरेका थिए ।
युभेन्टससँगको रोनाल्डोको सम्झौता जुन ३०, २०२२ मा सकिँदैछ । यदि इटालियन क्लबसँग सम्झौता नवीकरण नहुने भए, रोनाल्डो अर्को सिजन फरक क्लबमा हुनेछन् । उनी मेस्सी जस्तै ‘फ्रि–ट्रान्सफर’मा अर्को कुनै क्लबसँग आबद्ध हुन सक्नेछन् ।
Ronaldo e Manchester City. Done deal ✔️
— Gonçalo Lopes (@_GoncaloLopes) August 26, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया