खेलकुद

आरबी लाइपजिगलाई घृणा किन ?

इकागज |
मंसिर २५, २०७७ बिहीबार ७:२९ बजे

काठमाडौँ : बुन्डेसलिगा धेरै कारणले अन्य ठूला युरोपियन लिगहरूभन्दा फरक छ । त्यसमध्येको एक कारण हो, बुन्डेसलिगा खेल्ने क्लबहरू सञ्चालन हुने शैली । जर्मन फुटबल संघको ५० प्रतिशत प्लस एक नामक नीतिका कारण इंगल्यान्डमा जस्तो कुनै एउटा संस्था वा अर्बपतिले जर्मन क्लबको स्वामित्व लिन सक्दैन । कुनैपनि बुन्डेसलिगा क्लबमा सर्मथकहरूको बहुमत शेयर र भोटिङ अधिकार रहन्छ । यी क्लबहरूमा कुनै पनि व्यवसायिक समूहले लगानी गर्नै नपाउने भन्ने होइन । तर उसको शेयर ४९ प्रतिशत भन्दा धेरै हुनुहुँदैन । ताकि क्लबमा सर्मथकहरू नै निर्णायक रहुन् ।

यति हुदाँहुदै पनि बुन्डेसलिगामा केही अपवादहरू भने पक्कै छन् । जस्तै, बार्यन लेभरकुजन र उल्फसवर्ग । यी क्लबहरूमा ५० प्लस एक नियम लागू भएको छैन । कारण ? लेभरकुजन र उल्फसबर्गमा लगानी गरेका लगानीकर्ताहरू उल्लेखित क्लबहरूसँग कुनै न कुनै हिसाबले २० वर्ष भन्दा बढी समयदेखि आबद्ध छन् । कुनै पनि क्लबमा यदि कुनै व्यवसायिक समूह २० वर्ष भन्दा बढी समयदेखि आबद्ध छ भने, उसले बहुमत शेयर खरिद गर्न निवेदन दिनसक्छ । लेभरकुजनको स्वामित्व जर्मन औषधी कम्पनी बायरसँग छ । सन् १९०४ मा बायरका कामदारहरूले लेभरकुजनको स्थापना गरेका थिए । त्यसको सात वर्षपछि भोक्सवागन मोटर कम्पनीमा काम गर्नेहरूले उल्फसबर्गको स्थापना गरे ।


जर्मन फुटबल सर्मथकहरू बुन्डेसलिगाको यस्तो नियमलाई राम्रो मान्छन् । कुन्डेसलिगालाई अन्य लिगहरू भन्दा फरक बनाउनमा यो नियमले महत्वपूर्ण भूमिका खेलेको उनीहरूको ठम्याँई छ । त्यसो त उनीहरू आफ्नो क्लबको इतिहास र जर्मनीमा रहेको फुटबल वतारणलाई लिएर पनि सधै उत्साहित रहन्छन् ।

यहाँ सम्म बुन्डेसलिगामा केही समस्या छैन । तर जब रेडबुल जस्तो विशाल कम्पनी जर्मन फुटबलमा आइपुग्यो, तब विवाद सुरु भयो । रेडबुलले आरबी लाइपजिगको स्वामित्व लिदाँ ५० प्लस एक नियमको उल्लघंन भएको अधिकांश जर्मनहरूको भनाई छ । रेडबुलको लगानी जर्मन बुन्डेसलिगामा मात्र छैन । अस्ट्रियन लिग खेल्ने साल्जबर्गमा पनि रेडबुलको लगानी छ । सन् २००५ मा रेडबुलले साल्जबर्गको स्वामित्व लियो । अनि क्लबको नामदेखि जर्सीसम्म परिवर्तन गर्‍यो । धेरैले रेडबुलले साल्जबर्गको इतिहास परिवर्तन गर्न खोजेको भने ।

सन् १९६३ देखि १२ क्लबहरूले मात्र जितेको लिगमा रेडबुलको प्रवेशलाई किन सकारात्मक रुपमा लिईन्थ्यो र? जब की त्यसपछिका वर्षहरूमा रेडबुलको लगानीमा साल्जबर्गले अस्ट्रियन बुन्डेसलिगाको समिकरण नै परिवर्तन गर्ने वाला थियो । तर अस्ट्रियन र जर्मन लिगमा रेडबुलको लगानीलाई अर्को कोणबाट पनि हेर्न सकिन्छ । त्यो भनेको सकारात्मक कोण । किनभने साल्जबर्ग र लाइपजिगमा धेरै राम्रा कामहरू पनि भएका छन् । रेडबुल विश्वकै ठूलो व्यवसायिक समूहहरूमध्येको एक हो । रेडबुलसँग अथाह स्रोतहरू छन् । उसले चाहेको भए, पेरिस सेन्ट जर्मेन (पिएसजी) वा म्यानचेस्टर सिटीले जस्तो नाम चलेका खेलाडीहरू खरिद गर्न सक्थ्यो । तर रेडबुलले फरक बाटो चुनेको छ ।

लाइपजिग र साल्जबर्गले युवा प्रतिभाहरू पहिचान गर्ने, उनीहरूलाई मौका दिने, एकेडेमीमा लगानी गर्ने, अभ्यास केन्द्रहरूलाई सुविधा सम्पन्न बनाउने लगायतका दिर्घकालिन योजनाहरू बनाएर काम गरेका छन् ।

लाइपजिग र साल्जबर्गले युवा प्रतिभाहरू पहिचान गर्ने, उनीहरूलाई मौका दिने, एकेडेमीमा लगानी गर्ने, अभ्यास केन्द्रहरूलाई सुविधा सम्पन्‍न बनाउने लगायतका दिर्घकालिन योजनाहरू बनाएर काम गरेका छन् । त्यति मात्र होइन, रेडबुलका क्लबहरूमा युवा प्रशिक्षकहरूलाई उमेर समूहदेखि सिनियर टोलीहरूलाई प्रशिक्षण गराउने जिम्मेवारी दिनेदेखि विश्वभर नै ‘स्काउट’हरू खटाउनेसम्मको काम भएको छ । रेडबुल अन्र्तगतका क्लबहरूले विश्वका विभिन्न कुनाहरूबाट पहिचान गरेर ल्याएको खेलाडीहरूलाई स्थापित नाममा बदलेर, ठूला क्लबलाई बेचेका छन् । उदाहरणका लागि, लाइपजिग केही वर्षअघि मात्र नेबी केइटालाई लिभरपुललाई ठूलो रकममा बेच्न सफल भयो ।

हालको लाइपजिगको टिममा धेरै युवा खेलाडीहरू छन् । जसलाई क्लबले उनीहरू सानै छदाँ पहिचान गरेर आफ्नो एकेडेमीमा ल्याएको हो । जस्तै, डेनमार्कका युसुफ पौउलसन । डेनिस स्ट्राइकर सन् २०१३ मा लाइपजिग आएका हुन् । जतिबेला, लाइपजिग जर्मन फुटबलको तेस्रो श्रेणीमा थियो । सानै उमेरमा लाइपजिग आइपुग्‍ने अर्का खेलाडी हुन् राइट व्याक लुकास क्लोसटरम्यान । जसलाई लाइपजिगले दोस्रो श्रेणीको बोचुमबाट अनुबन्धन गरेको हो । अस्ट्रियन मिडफिल्डर मार्सेल साबिट्जर सन् २०१४ मा लाइपजिग आउँदा २० वर्षको थिए ।

स्वीडेनका एमाइल फोर्जबर्ग सन् २०१३ बाट २०१५ सम्म माल्मोसँग आबद्ध थिए । जहाँ उनले लिग तथा अन्य महत्वपूर्ण घरेलु प्रतियोगिताहरू पनि जिते । माल्मोका लागि गरेको प्रदर्शनका आधारमा फोर्जबर्गलाई युरोपका ठूला क्लबहरूले आँखा लगाए । तर उनको नयाँ यात्रा लाइपजिग तर्फ सोझियो । सन् २०१५ मा फोर्जबर्गले लाइपजिगबाट खेल्ने निर्णय गर्दा धेरैले उनलाई किन दोस्रो श्रेणीको क्लब छनौट गरेको भन्ने प्रश्न गरे । त्यसो त, लाइपजिगका कप्तान विल्ली ओरबान पनि जर्मन फुटबलको तेस्रो श्रेणीबाट आएका हुन् । अनि लेफट् व्याक मार्सेल हाल्सटेनर्बेग लाइपजिग आउनुअघि बोरुसिया डर्टमन्डको उमेर समूहको टिममा खुम्चिएका थिए ।

उल्लेखित खेलाडीहरू लाइपजिगका लागि महत्वपूर्ण त छदैछन् आ-आफ्ना राष्ट्रिय टिमका लागि पनि प्रमुख रोजाइको बनेर खेल्ने मौका पाइरहेका छन् । लाइपजिग नआइपुगेको भए यी खेलाडीहरूले राष्ट्रिय टिमका लागि खेल्ने मौका पाउँथे त ? क्लोसटरम्यान र हाल्सटेनर्बेग हाल जर्मन राष्ट्रिय टिमका प्रशिक्षक योकिम लोका प्रिय रोजाईहरू हुन् । उनीहरू यदि लाइपजिग नआइपुगेको भए शायद राष्ट्रिय टिमको नजरमा पर्दैन थिए । खेलाडीहरू त युवा छदैछन्, लाइपजिगमा प्रशिक्षक पनि युवा नै छन् । गत वर्ष लाइपजिग आएका जुलियन नागेल्सम्यान ३३ वर्षका मात्र छन् । उनले लाइपजिगलाई थप आकर्षक फुटबल खेलाइरहेका छन् । जारी लिगमा लाइपजिग लिग लिडर बार्यन म्युनिख भन्दा तीन अंकले मात्र पछि छ । युवा नागेल्सम्यानले लाइपजिगलाई जारी सिजनको लिग उपाधीको बलियो दाबेदार बनाएका छन् ।

लाइपजिग सन् २०१६-१७ सिजनमा बुन्डेसलिगामा बढुवा हुदाँ क्लबको प्रशिक्षक थिए, राल्फ हासनहुटेल । अनि स्र्पोटिङ निर्देशक राल्फ रागनिक । सन् २०१२ मा लाइपजिग आएका रागनिकले क्लबको सफलताकालागि जग बसाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

लाइपजिगलाई किन सकारात्मक तवरले हेर्ने भन्ने बहस बारम्बार हुने गरेको छ । लगानिकर्ता धनी भएपनि लाइपजिगले बुन्डेसलिगामा ठूलो रकम खर्च गरेर खेलाडी अनुबन्धन गर्ने गरेको छैन । लाइपजिगको यो पाटोलाई सकारात्मक रूपमा हेरिनुपर्ने तर्क नउठ्ने होइन । त्यसो त लाइपजिगले पिएसजीले जस्तो आफु खेल्ने लिगमा प्रतिद्वन्द्वी क्लबहरूका स्थापित खेलाडीहरूलाई खोस्ने गर्दैन ।

बरु ५० प्लस एकको हिमायती बार्यन म्यूनिखले खेलाडी खरिदमा लाइपजिगको भन्दा धेरै खर्च गरिरहेको छ । बार्यन आफैमा बलियो आर्थिक स्रोत भएको क्लब हो । पिएसजीले लिग वानलाई जसरी एक पक्षीय बनाएको छ, त्यसरी नै बार्यनले पनि बुन्डेसलिगामा एक पक्षीय लिग बनाउने सम्भावना रहन्थ्यो । तर लाइपजिगको उपस्थितीमा बुन्डेसलिगालाई बार्यनले मात्र कब्जा जमाउने अवस्था छैन । अनि लाइपजिगले प्रतिनिधित्व गर्ने पूर्वी जर्मनीमा कुनै ठूला क्लबहरूको उपस्थिती थिएन । त्यस कारण यो क्षेत्रले बुन्डेसलिगामा लामो समयसम्म पनि आफ्नो प्रतिनिधि पाएन । हर्था बर्लिन र युनियन बर्लिन जस्ता क्लबहरूले गत सिजन मात्रै बुन्डेसलिगामा बढवा पाएका थिए । तर यी क्लबहरू पनि लामो समयसम्म बुन्डेसलिगामा टिक्ने अवस्थामा छैनन् । त्यसकारण पनि लाइपजिगको पूर्वी जर्मनीमा उपस्थिती जर्मन फुटबलका लागि फलदायी हो ।

पिएसजीले लिग वानलाई जसरी एक पक्षीय बनाएको छ, त्यसरी नै बार्यनले पनि बुन्डेसलिगामा एक पक्षीय लिग बनाउने सम्भावना रहन्थ्यो । तर लाइपजिगको उपस्थितीमा बुन्डेसलिगालाई बार्यनले मात्र कब्जा जमाउने अवस्था छैन । 

रेडबुलले अस्ट्रियामा साल्जबर्ग जस्तो ठूलो क्लबको स्वामित्व लिए पनि जर्मनीमा भने उसले पाँचौ श्रेणीको क्लबमाथि लगानी गर्‍यो । एसएसभी मार्करान्सटाडलाई आरबी लाइपजिगमा परिणत गर्‍यो । अनि सहरका ६ लाख भन्दा धेरै मानिसहरूले बुन्डेसलिगामा सर्मथन गर्नका लागि क्लब पाए । यस अर्थमा रेडबुलले स्थानिय फुटबल सर्मथकहरूको मन दुखाएन । उल्टै सर्मथन पायो ।

सन् १९८७ मा लाइपजिग क्षेत्रकै लोकोमोटिभ लाइपजिगले युरोपियन क्लब फुटबलकै ‘कप विनर्स कप’ को फाइनलमा आयाक्सको सामना गरेको थियो । त्यसबेलाको आयाक्समा स्थापित डच खेलाडीहरू थिए । अहिले पनि त्यस क्षेत्रका पाका सर्मथकहरू त्यसबेलाको आयाक्स टिम र फाइनल खेललाई याद गर्छन् ।

त्यसबेलाका सर्मथकहरूले ठूला युरोपियन क्लबहरूको खेल हेर्ने मौका पाउँदा अहिलेको पुस्ताले त्यस्तै मौका किन नपाउने ? प्रश्न उठ्छ । त्यसकारण पनि आरबी लाइपजिग बुन्डेसलिगामा रहनु भनेको लाइपजिग क्षेत्रका फुटबल सर्मथकहरूले ठूला युरोपियन क्लबहरूको खेल हेर्ने मौका पाउनु हो । यस सिजन मात्रै पनि आरबी लाइपजिगका सर्मथकहरूले आफ्नो टिमले म्यानचेस्टर युनाइटेड र पिएसजी जस्ता स्टारहरूले भरिएको क्लबहरूसँग खेलेको हेर्ने मौका पाए ।

लाइपजिगको आलोचना हुनुअघि क्लबले फुटबलमा गरेको योगदानको पनि विश्लेषण हुन जरुरी छ । रेडबुलले सानो क्लबलाई जर्मनीकै शक्तिमा रुपान्तरण गर्‍यो । तर यही परिपेक्ष्यमा हामीले कतारी सरकारले पिएसजी, इमिरेतीले म्यानचेस्टर सिटीलाई, अमेरिकी अर्बपतिले म्यानचेस्टर युनाइटेडलाई कसरी सञ्चालन गरिरहेका छन् भनेर बुझ्‍न जरुरी छ । यदी यी क्लबहरूको सञ्चालन प्रक्रियामा चिक्त बुझेको छ भने लाइपजिगको सञ्चालनमा कुनै गुनासो राख्नु हुदैन । कुनै पनि फुटबल क्लबमा लगानी गरेर लिगलाई प्रतिस्पर्धात्मक बनाउँदा धेरै नकारात्मक हुन जरुरी छ र, शायद छैन । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूको सहयोगमा) 


Author

थप समाचार
x