खेलकुद

सिटी र रोनाल्डोका एजेन्टबीच कुराकानी जारी

इकागज |
भदौ ११, २०७८ शुक्रबार १४:४० बजे

काठमाडौँ- म्यानचेस्टर सिटीले क्रिस्टियानो रोनाल्डो अनुबन्ध गर्ने प्रयास सुरु गरेको छ । रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले स्थान्तरणका विषयमा युभेन्टस र सिटीसँग कुराकानी अघि बढाएका छन् । 

सिटीले रोनाल्डो अनुबन्ध गर्न युभेन्टससमक्ष औपचारिक प्रस्ताव राखिहालेको छैन । तर आगामी २४ घण्टाभित्रमा सिटीले प्रस्ताव पठाउने दी गार्डियनले दाबी गरेको छ । रोनाल्डोले भने आफू क्लब छाड्न तयार रहेको सन्देश युभेन्टसलाई दिइसकेको गार्डियनले लेखेको छ । कतिसम्म भने रोनाल्डोले शनिबार इम्पोलीसँग हुने खेलमा आफू उपलब्ध नहुने पनि बताइसकेका छन् । 


पाँच पटक बालोन डोर जितेका रोनाल्डोलाई सिटीले दुई वर्षका लागि सम्झौता प्रस्ताव गर्ने बताइएको छ । टोटनहमबाट ह्यारी केन खरिद गर्न नसकेपछि सिटी रोनाल्डोमाथि केन्द्रित भएको हो । रोनाल्डोलाई सिटीले साताको २ लाख ५० हजार पाउन्ड प्रति साता हाराहारीको तलब दिने प्रस्ताव पनि राखेको गार्डियनको रिपोर्टमा उल्लेख छ । 

सिटीले रोनाल्डो भित्र्याए बर्नादो सिल्भा र रहिम स्टर्लिङले क्लब छाड्ने सम्भावना रहेको बताइएको छ । ३६ वर्षिय रोनाल्डोको युभेन्टससँगको सम्झौता सकिन एक वर्षमात्र बाँकी छ । सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले त्यहाँ वार्षिक तीन करोड १० लाख युरो प्रति वर्ष तलब पाउँछन् । 

युभेन्टसले रोनाल्डो स्थान्तरणका लागि दुई करोड ५० लाख देखि तीन करोड युरो माग्ने अनुमान गरिएको छ । उसो त युभेन्टसको नजर गाब्रियल जिजसमाथि छ । यसकारण, रोनाल्डो र सिटीबीच सहमति भए युभेन्टसले जिजस अनुबन्ध गर्नसक्ने सम्भावना पनि छ ।

रोनाल्डो कुनै समय सिटीको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमा थिए । किशोर उमेरमै स्पोर्टिङ लिस्बनबाट युनाइटेड पुगेका रोनाल्डो त्यहाँ छ सिजन रहे । गत सिजन सिरी ए को गोल्डेन बुट विजेता रोनाल्डो रियल फर्कने हल्ला पनि नचलेको होइन । तर हाल रियलको ध्यान पेरिस सेन्ट जर्मेनमा किलियान एमबाप्पेमाथि छ । 


Author

थप समाचार
x