एमबाप्पेका विषयमा कतारी राष्ट्रध्यक्षलाई रियल म्याड्रिड अध्यक्षको फोन
काठमाडौँ - रियल म्याड्रिड किलियान एमबाप्पेलाई अनुबन्ध गर्न प्रतिबद्ध देखिएको छ । स्पेनिस क्लबले बिहीबार राति एमबाप्पे खरिद गर्न पेरिस सेन्ट जर्मेन (पीएसजी) समक्ष करिब १८ करोड युरोको प्रस्ताव राखिसकेको छ । रियलले राखेको यो दोस्रो प्रस्ताव हो । पहिलो प्रस्ताव १६ करोड युरोको थियो । जुन पीएसीले स्विकार गरेन ।
दोस्रो प्रस्तावपछि दुई क्लब छलफलमा छन् । एमबाप्पेले पीएसजी छाड्ने सन्देश दिइसकेको अवस्थामा स्थान्तरण रकममा सहमति जुटे, रियलले विश्वकप विजेता फरवार्ड पाउने निश्चित छ । कतिसम्म भने रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले कतारी राष्ट्रध्यक्ष शेख तमिम बिन हमाद अल थानीलाई पनि सम्पर्क गरेको बताइएको छ । पीएसजीमा कतारी सरकारको लगानी रहेकाले पेरेजले एमबाप्पेका विषयमा अल थानीबाटै स्विकृति लिन चाहेको दी एथ्लेटिकले लेखेको छ ।
यद्यपि अल थानीले क्लबको सम्पूर्ण जिम्मेवारी नासेर अल खेलैफीलाई सुम्पेका छन् । खेलैफी पीएसजीका अध्यक्ष हुन् जसलाई एमबाप्पे वा अरु कुनै खेलाडी खरिद बिक्री सम्बन्धि अधिकार छ । खेलैफी एमबाप्पेलाई बेच्न तयार पनि छन् । सन् २०१७ मा पीएसजीसँग आबद्ध भएका एमबाप्पेले पेरिसको क्लबसँग नयाँ सम्झौता गर्न मानेका छैनन् । सम्झौता नवीकरण नहुने भए, एमबाप्पे एक वर्षपछि ‘फ्रि–एजेन्ट’का रुपमा अर्को क्लब जान सक्छन् । यसकारण एमबाप्पेलाई सित्तैमा गुमाउनु भन्दा अहिले रियललाई बेच्नुमै फाइदा हुनेमा खेलैफी स्पष्ट छन् ।
यसैबीच एमबाप्पेले रियलमा कति नम्बरको जर्सी लगाउलान् भन्ने अनुमान सुरु भइसकेको छ । स्पेननिस अखबार एएसका अनुसार एमबाप्पेले रिययलमा जिनेदिन जिदानले लगाएको जर्सी लगाउन सक्छन् । जिदानले खेलाडी छँदा पाँच नम्बर जर्सी लगाएका थिए । हाल यो जर्सी जेसुस भलेयोलाई दिइएको छ । गत सिजनसम्म यो जर्सी राफाएल भारानसँग थियो ।
पीएसजीमा सात नम्बर जर्सी लगाउने एमबाप्पेले रियलमा यही जर्सी पाउने छैनन् । किनभने यो जर्सी एडेन हाजार्डको नाममा छ । उसो त एमबाप्पेले आफूलाई मनपर्ने जर्सी नम्बर माग गर्ने भन्दा पनि क्लबले दिएकैमा चित्त बुझाउने सम्भावना बढी छ । किनभने एमबाप्पेले पीएसजीमै चार फरक फरक जर्सी नम्बर लगाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया