खेलकुद

रोनाल्डो युभेन्टसका लागि खेल्न चाहँदैनन्: क्लब प्रशिक्षक एलेग्री

इकागज |
भदौ ११, २०७८ शुक्रबार १८:३० बजे

काठमाडौँ: युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिस्टियानो रोनाल्डोले क्लब छाड्न चाहेको पुष्टि गरेका छन् । म्यानचेस्टर सिटीसँग जोडिएका रोनाल्डोलाई शनिबार हुने इम्पोलीविरुद्धको खेलमा नखेलाइने पनि एलेग्रीले स्पष्ट पारे । 

‘क्रिस्टियानाले मलाई आफ्नो इच्छा सुनाएका छन् । उनी युभेन्टसका लागि खेल्न तयार छैनन् । उनलाई शनिबारको खेलमा सहभागी गराइने छैन,’ एलेग्रीले शुक्रबार भने,‘हामी सबैका लागि महत्वपूर्ण भनेको युभेन्टस हो । यस क्लबका लागि रोनाल्डोले योगदान गरे । अब भने उनी क्लब छाड्न चाहन्छन् । उनले जे जति गरे, त्यसका लागि उनलाई धन्यवाद,’ 


रोनाल्डोका एजेन्टर जर्ज मेन्डेस र युभेन्टस प्रशासनबीच बिहीबार छलफल भएको थियो । छलफलको एजेन्डा रोनाल्डाको सम्भावित स्थान्तरण रहेको बताइएको छ । यद्यपि रोनाल्डो र युभेन्टसबीच स्थान्तरणका लागि सहमति भने भइसकेको छैन । 

सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले सुरुवाती दुई सिजन इटालियन सिरी ए जिते । गत सिजन भने युभेन्टसले लिग च्याम्पियन बन्न सकेन । यद्यपि केही घरेलु कपमा भने युभेन्टस सफल भयो । 

कोभिड–१९ महामारीका कारण आम्दानी घट्दा युभेन्टसले खर्च कटौती गर्न चाहेको छ । यसकारण रोनाल्डोलाई क्लब छाड्न दिन युभेन्टस तयार भएको हो । ३६ वर्षीय रानोल्डोको युभेन्टससँगको सम्झौता सकिन एक वर्ष मात्र बाँकी छ । एक वर्षपछि फ्रि–ट्रान्सफरमा जान दिनुभन्दा यसपाली नै स्थान्तरण रकम लिएर रोनाल्डोलाई विक्रि गर्ने दाउमा युभेन्टस छ । 

ह्यारी केनलाई अनुबन्ध गर्न असफल भएपछि सिटी नयाँ विकल्प रोज्न बाध्य भएको हो । उसका लागि नयाँ विकल्प रोनाल्डो हुन् । सर्जियो अग्वेरोको अनुपस्थितीमा सिटीमा स्ट्राइकरको अभाव छ । गाब्रियल जिजस क्लबमा रहे पनि पेप ग्वार्डिओलाले भरपर्दो फिनिसरको खोजी गरेका हुन् । यद्यपि अहिलेसम्म सिटीले रोनाल्डोका लागि औपचारिक प्रस्ताव भने राखेको छैन । 


Author

थप समाचार
x