खेलकुद

इरानी मेस्सी सरदार आजमोन लियोन जाने

इकागज |
भदौ १३, २०७८ आइतबार १८:१६ बजे

काठमाडौँ-युरोपियन क्लब फुटबलमा स्थापित थोरै एसियाली खेलाडीहरूमध्येका एक हुन्, सरदार अजमोन । इरानी मेस्सीका रुपमा परिचित आजमोन रुसी लिग खेलिरहेका छन् । उनी सन् २०१३ यता रुसी लिगममा छन् । रुबिन काजानबाट सिनियर करियर सुरु गरेका आजमोन हाल जेनिट सेन्ट पिटर्सबर्गमा छन् ।

आजमोनले जेनिटका लागि ९० खेल खेलिसकेका छन् । ती खेलमा २६ वर्षिय स्ट्राइकरले ५८ गोल र २० असिस्ट गरेका छन् । यस सिजन पनि उनी बलियो लयमा छन् । उनले ६ लिग खेलमा पाँच गोल गरिसकेका छन् । रुसी लिगमा स्थापित स्टार आजमोन बीचमा पटक पटक इंग्लिस प्रिमियर लिग क्लबहरुसँग जोडिए ।


यसपटक भने उनी फ्रेन्च लिगको लियोन जाने हल्ला चलिरहेको छ । फ्रान्सको अखबार एल इक्यिुपेका अनुसार आजमोन र लियोनबीच स्थान्तरणका विषयमा सहमति जुटिसकेको छ । हुन त आजमोनलाई अनुबन्ध गर्ने दौडमा बायर्न लेभरकुजन र एस रोमा पनि छन् । तर यतिबेला लियोनकै सम्भावना बलियो देखिएको छ । 

इरानी स्टारले लियोनका प्रशिक्षक पिटर बोससँग कुरा गरिसकेको बताइएको छ । जारी सिजनको अन्त्यमा जेनिटसँग सम्झौता सकिने र नविकरणको सम्भावना न्यून रहेकाले आजमोनको क्लब परिवर्तन गर्ने इच्छा पूरा हुने देखिएको हो । दुई क्लब स्थान्तरण रकममा पनि सहमतिको नजिक पुगिसकेको बताइएको छ । स्थान्तरण रकम एक करोड ५० लाख युरोको आसपास हुने बताइएको छ ।  


 


Author

थप समाचार
x