नेपालले पनि भन्यो : फुटबल विश्वकप दुई–दुई वर्षमा आयोजना हुनुपर्छ
काठमाडौँ- विश्व फुटबल निकाय फिफाले फुटबल क्यालेन्डर परिवर्तन गर्न लागिपरेको छ । परिवर्तित क्यालेन्डर अनुसार विश्वकप दुई–दुई वर्षमा आयोजना गरिने भनिएको छ । अनि युरोपियन च्याम्पियनसिप लगायतका अन्य महादेशीय प्रतियोगिता पनि निरन्तर दुई–दुई वर्षमा गरिने योजना छ । त्यति मात्र होइन, फिफा अध्यक्ष जियानी इन्फान्टिनो क्लब विश्वकपमा पनि सहभागी क्लबको संख्या बढाउनु पर्छ भन्ने पक्षमा छन् । हाल क्लब विश्वकपमा सात क्लब सहभागी हुन्छन् । उसै पनि सन् २०२६ बाट विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने निर्णय भइसकेको छ ।
विश्वकप दुई–दुई वर्षमा गरिनपर्ने प्रस्ताव साउदी अरबको फुटबल संघले गरेको हो । साउदीले गत मेको फिफा कंग्रेसमा यस्तो प्रस्ताव राखेको हो । यसबारेमा आवश्यक अध्ययन गर्ने वा नगर्ने भन्ने प्रस्तावमा मतदान पनि भयो । फिफाका २०९ सदस्यमध्ये १६६ ले पक्षमा मतदान गरे भने २२ सदस्यले विपक्षमा मतदान गरे । हुन त फिफाका पूर्व अध्यक्ष सेफ ब्लाटरले सन् १९९९ मै विश्वकप प्रत्येक दुई वर्षमा गर्न प्रस्ताव राखेको थिए । तर त्यसबखत, युरोपेली फुटबल महासंघ (युईएफए)ले ब्लाटरको प्रस्तावको चर्को आलोचना गर्यो । जसकारण ब्लाटरको योजनाले मूर्तरुप लिन सकेन ।
आर्सनलका पूर्व प्रशिक्षक आर्सन वेङ्गर फिफाको विकास निर्देशक बनेर आएपछि अन्तर्राष्ट्रिय फुटबलको क्यालेन्डर परिवर्तन गरिनुपर्छ भन्ने बहस तातिएको छ । छनौट चरणका खेलहरूको संख्या कम गर्ने, मैत्रीपूर्ण खेलहरू कम गराउने बरु विश्वकप वा अन्य प्रतियोगितामा हुने खेलको संख्या बढाउनु पर्छ भन्ने मत, वेङ्गरको छ । यसो भए, अन्तर्राष्ट्रिय ब्रेकको संख्या ५० बाट घटेर २८ मा पुग्नेछ भने छनौट खेलको संख्या १० नभई सात हुनेछ ।
पछिल्लो समय नेपाल लगायतका दक्षिण एसियाली मुलुक पनि फिफाको प्रस्तावको पक्षमा उभिएका छन् । नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फुटबल संघहरूले संयुक्त प्रेस वत्तव्य जारी गर्दै आफुहरू अन्तर्राष्ट्रिय फुटबलको क्यालेन्डर परिवर्तन गर्ने प्रस्तावको पक्षमा रहेको बताएका छन् ।
फुटबल विश्वव्यापी खेल बन्नुमा युरोपको मात्र होइन एसिया लगायत अन्य महादेशको पनि भूमिका उत्तिकै महत्वपूर्ण रहेकाले फुटबलको थप विस्तारका लागि क्यालेन्डर परिवर्तन गर्नुपर्ने यी चार फुटबल संघको भनाइ छ ।
विश्वकप आयोजना चार वर्षको अन्तरालमा मात्र हुँदा धेरै भन्दा धेरै मुलुकले सहभागिता जनाउन मुस्किल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष लगायतका दक्षिण एसियाली फुटबल नेताहरूको निश्कर्ष छ । ‘विश्वकप चार–चार वर्षमा मात्रै हुँदा हाम्रा प्रतिभाहरूले खेल्न मौका पाउने सम्भावना झिनो हुन्छ । विश्वकपमा सीमित एसियली टिमले मात्रै भाग लिएका छन् । जबकि फुटबल खेलको विकास र विस्तारका लागि मुख्य भूमिका नै विश्वकपको रहन्छ । यस्तोमा विश्वकप थोरै अन्तरालमा गर्नसके धेरै मुलुकले भाग लिन पाउने सम्भावना रहन्छ । जसकारण हाम्रा युवा खेलाडीहरूले विश्वकप खेल्ने सपना बुन्न सक्छन्,’ वत्तव्यमा भनिएको छ ।
फिफाका लागि आम्दानीको मुख्य स्रोत नै विश्वकप हो । यसकारण दुई–दुई वर्षको अन्तरालमा विश्वकप आयोजना हुँदा फिफाको आम्दानी बढ्ने देखिन्छ । फिफाको आम्दानी बढे, सदस्य मुलुककले पाउने आर्थिक सहयोग पनि बढ्ने हो । यही कारण, विश्वकप आयोजना दुई–दुई वर्षमा आयोजना भए छनौट नहुने मुलुक पनि लाभान्वित हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया