खेलकुद

विश्वकप छनौटमा पालो ब्राजिल–अर्जेन्टिना भिडन्तको

इकागज |
भदौ १८, २०७८ शुक्रबार १५:५ बजे

काठमाडौँ- दक्षिण अमेरिकामा जारी विश्वकप छनौटमा शुक्रबार ब्राजिल र अर्जेन्टिना विजयी बने । ब्राजिलले चिलीलाई १–० ले पराजित गर्‍यो भने अर्जेन्टिनाले ३–१ गोल अन्तरले भेनेजुएलालाई पन्छायो । आ–आफ्ना खेलमा जित दर्ता गरेका यी दुई टिम अंक तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

दक्षिण अमेरिकी वा कोनमेबोल अन्तर्गतको छनौटमा कुल १० टिम सहभागी छन् । शीर्षस्थानको ब्राजिलले सात खेलबाट २१ अंक बनाएको छ । उति नै खेलबाट अर्जेन्टिनाले १५ तथा तेस्रो स्थानको इक्वेडरले १२ अंक बटुलेका छन् । 


कोनमेबोलमा विश्वकप छनौटको दौड प्रतिस्पर्धात्मक बन्दै गएको छ । यस्तोमा शीर्ष दुईमा रहेका टिम आउँदो आइतबार राति आमनेसमाने हुँदैछन् । कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई उसकै मैदानमा हराएको अर्जेन्टिनाले फेरि उही लय देखाउने अपेक्षा गरेको छ । यसपालिको भिडन्त साओ पाओलामा हुनेछ । 
‘हाम्रा खेलाडीहरुको जर्सीमा कोपा च्याम्पियन लेखिएको छ । यो जर्सी लगाएर खेलिरहँदा खेलाडीहरुले पक्कै पनि गर्व महसुस गरेका छन् । कोपा जित्न उनीहरुले असाध्यै मेहेनत गरेका थिए । हामी अझैँ पनि आराम गर्ने पक्षमा छैनौँ,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भनेका छन् । 

यस खेललाई लिएर ब्राजिल पनि निर्धक्क छ । विश्वकप छनौटमा अपराजित भएका कारण पनि ब्राजिल निर्धक्क देखिएको हो । ब्राजिलले यसअघि कहिले पनि विश्वकप छनौटका सुरुवाती सात खेल जित्न सकेको थिएन । ‘सरासर सात खेल जितेका छौँ । यो आफैँमा ऐतिहासिक उपलब्धी हो । आशा छ हामीले अर्को खेलमा अर्जेन्टिनालाई हराएर जित संख्यालाई आठ पु¥यानेछौँ,’ चिलीविरुद्ध गोल गरेका एभरटन रिबेरोले भने ।

ब्राजिलका गोलरक्षक वेभरटनले अर्जेन्टिनाको खेलस्तरसँग आफूहरु अपरिचित नरहेको प्रतिक्रिया दिए ।  ‘अर्जेन्टिनाविरुद्धको खेल सजिलो हुन्छ भन्ने हामी कहिले पनि ठान्दैनौँ । यो खेलका लागि हाम्रा प्रशिक्षक टिटेले बलियो रणनीति बनाउनेछन् । ब्राजिल र अर्जेन्टिनाबीचको खेल दक्षिण अमेरिकी फुटबलको डर्बी हो । यसकारण हामी सबै यस खेलका लागि पूर्णरुपमा तयार हुनपर्छ,’ वेभरटनले भने । 

अर्जेन्टिनासँगको खेलमा ब्राजिलका इंग्लिस प्रिमियर लिग खेल्ने नौ खेलाडी भने अनुपस्थित रहनेछन् । क्वारन्टिन नियमका कारण उनीहरुलाई इंग्लिस क्लबहरुले रिलिज गरेनन् । लिभरपुल, म्यानचेस्टर सिटी लगायतका क्लबबाट खेल्ने ती खेलाडीहरु उपलब्ध नभए पनि आफू कमजोर नरहेको ब्रजिलको निष्कर्ष छ । 


Author

थप समाचार
x