खेलकुद

‘ग्वार्डिओलालाई हराउँदा टुकेल खुशीयाली मनाउँदैनन्’

इकागज |
भदौ १९, २०७८ शनिबार १८:५१ बजे

काठमाडौँ-क्रिस हेइडेल जर्मन क्लब मेन्जका स्पाेर्टिङ डिरेक्टर हुन् । त्यही मेन्ज जसले योर्गन क्लप र थोमस टुकेल जस्ता प्रशिक्षकलाई मौका दियो । मेन्जबाट दुवै प्रशिक्षक बोरुसिया डर्टमन्ड पुगेका थिए । अनि अहिले उनीहरू इंग्लिस प्रिमियर लिगमा छन् । क्लपले लिभरपुलबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका छन् । टुकेल पनि गत सिजन चेल्सीसँग च्याम्पियन्स लिग विजेता बने । 

टुकेल नेतृत्वको चेल्सीले च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । चेल्सी प्रशिक्षक बनेपछि टुकेलले सिटी प्रशिक्षक पेप ग्वार्डिओलालाई तीन पटक पराजित गरिसकेका छन् । युरोपियन क्लब फुटबलमा सफल प्रशिक्षकमध्येका एक ग्वार्डिओलालाई हराउँदा जो सुकै प्रशिक्षक पनि हर्षित हुनुपर्ने हो । तर हेइडेलका अनुसार टुकेलले भने ग्वार्डिओलाविरुद्धको जितमा खुशीयाली मनाउँदैनन् । 


कारण? टुकेल ग्वार्डिओलालाई अत्याधिक सम्मान गर्छन् । यसै भन्छन्, हेइडेल । ‘ग्वार्डिओललाई पराजित गर्दा टुकेल हर्षित हुँदैनन् । किनभने उनी स्पेनिस प्रशिक्षकबाट प्रेरणा लिन्छन् । टुकेलको फुटबल रणनीति ग्वार्डिआलाबाट प्रभावित छ । टुकेलले ग्वार्डिओलाबाट सिकेका पनि छन् । यसकारण ग्वार्डिओेलालाई हराउँदा टुकेल खुशीयाली मनाउँदैनन्,’ हेइडेलले भनका छन् । 

सन् २०१५ मा डर्टमन्डका प्रशिक्षक बन्नुअघि टुकेल पाँच वर्षसम्म मेन्जमा रहे । उनले केही समय पेरिस सेन्ट जर्मेन (पीएसजी)को जिम्मेवारी पनि लिए । ४८ वर्षिय टुकेल हाल युरोपियन क्लब फुटबलमा स्थापित प्रशिक्षकका रुपमा गनिन्छन् । तर टुकेलको सफलताबाट हेइडेल अच्चमित भने छैनन् । 

‘टुकेलको स्तरबारे हामी जानकार थियौँ । यसकारण उनले चेल्सीलाई च्याम्पियन्स लिग जिताउँदा हामी अचम्ममा परेनौँ । यद्यपि खुशी भने भयौँ । उनी अहिलेको स्तरमा पुग्नु संयोग होइन,’ हेइडेलले भने । केही वर्ष साल्केमा बिताएर सन् २०२० मा मेन्ज फर्किएका हेइडेलले टुकेल वा क्लपको सफलतामा जस भने लिन मानेनन् । 

‘आजको दिनमा योर्गन र थोमस युरोपियन क्लब फुटबलमा सम्मानित प्रशिक्षक हुन् । उनीहरुको सफलताको जस मैले लिन मिल्दैन । उनीहरूको सुरुवात मेन्जबाट भयो । तर उनीहरू सफल दरिनुमा मेरो कुनै भूमिका छैन । उनीहरू असाधारण प्रतिभा हुन् । यसकारण उनीहरूलाई यो स्थानसम्म आईपुग्नु नै थियो,’ हेइडेलले भने । 

 


Author

थप समाचार
x