चेल्सी बाहेकको क्लब जाने सम्भावना थिएनः लुकाकु
काठमाडौँ-रोमेलु लुकाकु अगस्ट, २०११ मा पहिलो पटक चेल्सीसँग आबद्ध भएका थिए । बेल्जियमको एन्डरलेक्टमा लोकप्रियता कमाएका युवा स्ट्राइकर लुकाकलाई चेल्सीले अनुबन्ध गर्ने इच्छा राखेपछि स्थान्तरण असम्भव भएन । किनभने लुकाकु आफैँ चेल्सी समर्थक थिए ।
तर लुकाकुलाई चेल्सी बसाइ फापेन । उनले त्यहाँ जम्मा १० खेल मात्र खेले । ऋणमा वेस्टब्रुम र एभरटन गए । दुवै क्लबमा उनको प्रदर्शन असाध्यै राम्रो रह्यो । सन् २०१४ मा एभरटनले उनलाई स्थायी रुपमै अनुबन्ध ग¥यो । मेरिसाइडको क्लबमा ८७ गोल गोल गरेपछि उनी इंग्लिस प्रिमियर लिगका खतरनाक फरवार्डहरूको सूचीमा परे ।
एभरटनमा गरेको प्रदर्शनका आधारमा लुकाकुलाई चेल्सीले फिर्ता लग्ने प्रयास गर्यो । तर चेल्सीको यस्तो प्रयास म्यानचेस्टर युनाइटेडका अगाडि टिकेन । लुकाकु युनाइटेड गए । जहाँ उनले ९६ खेल खेल्दा ४२ गोल गरे । प्रिमियर लिगमा एक सय गोल पूरा गरेका लुकाकु त्यसपछि इटालियन सिरी ए खेल्न इन्टर मिलान गए ।
युनाइटेडमा दुई सिजन रहँदा लुकाकुको खेलको तारिफ जति हुनु पर्ने थियो, त्यति भएन । लुकाकु यही गुनासो बोकर इन्टर पुगे । इन्टरमा एन्टोनियो कोन्टेको प्रशिक्षणमा लुकाकुले करियरकै उत्कृष्ट खेल देखाए । ९५ खेलमा ६४ गोल गर्दै इन्टरलाई इटालियन च्याम्पियन बन्न मद्धत गरे ।
गत सिजनको अन्त्यमा कोन्टे र इन्टरको सम्बन्ध बिच्छेद भयो । कोन्टेको बर्हिगमनसँगै लुकाकु पनि प्रिमियर लिग फर्किए । चेल्सीले उनलाई स्टाम्फोर्ड ब्रिज फर्काएरै छाड्यो । चेल्सीको जर्सीमा उनले गोल पनि गरिसकेका छन् । चेल्सीमा दोस्रो चरणको बसाइको सुरुवात सुखद बनाउन लुकाकुले लिगमा आर्सनलविरुद्ध गोल गरे ।
लुकाकुलाई पुनः अनुबन्धन गर्ने चेल्सीको योजना यसअघि असफल भएपनि यसपटक भने उसले चाहे जस्तै भयो । किनभने लुकाकु आफैँ पनि चेल्सी फर्कन चाहन्थे । उनको स्थान्तरणका लागि चेल्सीले नौ करोड ८० लाख पाउन्ड खर्च गर्यो । सुरुमा चेल्सीको प्रस्ताव इन्कार गरेपनि पछि इन्टरले लुकाकुको बाटो छेकेन ।
‘चेल्सीको सुरुवाती प्रस्ताव इन्टरले स्विकार गरेन । चेल्सीले लगातार तेस्रो पटकसम्म प्रस्ताव राखिरह्यो । चेल्सीले १० करोड तथा डेभिडे जापाकोस्टा सम्मिलित प्रस्ताव राख्यो । तर त्यसमा पनि इन्टर सहमत नहुने देखिएपछि म प्रशिक्षक सिमोने इन्जाघीलाई भेट्न गए,’ लुकाकुले हालै बेल्जियमको एचएलएनसँग भनेका छन्, ‘मैले चेल्सी फर्कन चाहेको सुनाए । किनभने मेरो शरीरमात्र इटालीमा थियो, मानसिक रुपमा म लन्डनमा थिए । इन्टर छाड्ने चाहना थिएन । तर जब चेल्सीले प्रस्ताव राख्यो, मैले नाई भन्ने स्थिती थिएन । अरु क्लबका लागि म सानसिरो छाड्दैन थिए ।,’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया