खेलकुद

दोस्रो मैत्रीपूर्ण खेल

नेपालले खेल सुधार्‍याे तर भारतलाई रोक्न सकेन

इकागज |
भदौ २०, २०७८ आइतबार २२:९ बजे

काठमाडौँ - भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-१ ले पराजित भएको छ । आइतबार दशरथ रंगशाला, काठमाडौँमा भएको खेलमा पाहुना टिमका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे । नेपालका लागि तेज तामाङले गोल फर्काए । तीनै गोल दोस्रो हाफमा भए । पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएकाले दुवै टिम दोस्रो खेलमा विजयी बन्ने लक्ष्यका साथ मैदान उत्रेका थिए । दुवै टिमले पहिलो हाफमा अग्रता लिने प्रयास गरे । तर पाएका मौका गोलमा परिणत नभएपछि दोस्रो हाफ बराबरीबाटै सुरु भयो । 

दोस्रो हाफको ६१ औँ मिनेटमा भारतीय टिमका लागि फारुखले गोल गरे । पहिलो गोलका लागि भ्रमणकारी टिमले जम्मा तीन पास खेल्यो । रक्षक चिंगलेनसाना कोन्सानले सुनिल क्षेत्रीलाई लामो पास दिए । त्यस पासलाई भारतीय कप्तानले अस्सिटमा परिणत गरे । सुनिलको हेडर पासलाई दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुखले सहजै गोलमा परिणत गरे । 


खेलको निर्धारित समय सकिन १० मिनेट रहेका बेला भारतले अग्रता दोब्बर बनायो । पहिलो गोलका लागि पास उपलब्ध गराएका सुनिलले दोस्रो गोल गरे । पहिलो गोल पनि काउन्टर अट्याकमा गरेको भारतले दोस्रो गोल पनि उही शैलीमा गर्‍यो । पहिलो रोजाइका गोलरक्षक गुरप्रित सन्धुलाई प्रतिस्थापन गरेका अमरिन्दर सिंहले दिएको लामो पासलाई अनिरुद्ध थापाले नियन्त्रणमा लिए । र, नेपालको बक्सतर्फ लम्किरहेका सुनिलका लागि पास निकाले । वान भर्सेस वानको स्थितीमा रहेका सुनिल चुकेनन् ।

खेल उत्तर्राद्धमा पुग्दै गर्दा नेपालले गोल फर्कायो । घरेलु समर्थकको साथ पाएको नेपाली टिमका मिडफिल्डर तेज तामाङले बक्स बाहिरबाट सुन्दर गोल गरे । 

पहिलो हाफमा रक्षात्मक रणनीति अपनाए पनि नेपालले गोलका केही सुन्दर मौका भने सिर्जना गर्न सक्यो । तर ती मौका गोलमा परिणत भएनन् । १३ औँ मिनेटमा मनिष डाँगीसँग सुरुवाती गोल गर्ने मौका थियो । तेजले दिएको लामो पासलाई मनिषले भारतीय बक्सभित्र नियन्त्रणमा लिए । तर अकस्मात लड्न पुग्दा उनले बल फुत्काए । मनिषबाट फुत्केको बल कुनै नेपाली खेलाडीले नियन्त्रणमा लिन सकेनन् । 

पहिलो हाफकै २८ औँ मिनेटमा पनि नेपालले अर्को मौका सिर्जना गर्‍यो । आयुष घलानले आशिष लामाका लागि क्रस निकाले । तर भारतीय बक्सभित्र पुगेको सो क्रसलाई आशिषले नियन्त्रणमा लिन सकेनन् । दोस्रो हाफमा नेपालले थप आक्रमण गर्‍यो । मनिषले फेरि पनि गोल गर्ने मौका पाए । तर ७४ औँ मिनेटमा क्लोज रेन्जबाट उनले गरेको प्रहार थोरैले बाहिरियो । त्यसअघि विशाल राईले पनि पेनाल्टी बक्समा पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । 

नतिजाका बाबजुद खेलाडीहरुको प्रदर्शनबाट सन्तृष्ट देखिएका नेपालका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले पाएको मौका सिर्जना सदुपयोग हुन नसक्दा खेल जित्न नसकिएको प्रतिक्रिया दिए । ‘हामीले खेललाई नियन्त्रणमा राखेको हो । गोलका पर्याप्त मौका पनि सिर्जना भयो । तर फिनिसिङ भएन । हामीले कमसेकम ६ वटा गोलका मौका खेर फाल्यौँ,’ अल्मुताइरीले भने । 

भारतीय टिम तथा प्रशिक्षक दबाबमा रहेकोले उनीहरुले सुरुबाटै आक्रामक खेल्ने आँकलन गरेको र त्यसै अनुसार पहिलो हाफको रणनीति बनाएको अल्मुताइरीको भनाइ थियो ।

‘हाम्रो योजना पहिलो हाफमा आफ्नै क्षेत्रमा रहने थियो । राम्रोसँग डिफेन्ड गर्ने अनि उनीहरुको गल्ती पर्खने हाम्रो रणनीति थियो । तर दोस्रो हाफमा हामी आक्रामक बन्यौँ । हामीले गोल खायौँ तर त्यसको दोष म खेलाडीहरुलाई दिन चाहन्न,’ अल्मुताइरीको भनाइ थियो । आफ्नो टिममा फिनिसिङको समस्या रहेका स्विकार गरेका अल्मुताइरीले त्यसको समाधान अबको एक महिनामै निकाल्न नसकिने पनि प्रष्ट पारे । ‘आज जसरी तेजले लामो दूरीबाट प्रहार गर्दै गोल गरे, यस्तै गोल भइरहनुपर्छ,’ उनले भने । 

उता विजयी टिमका मुख्य प्रशिक्षक इगोर स्टिमचले जितले आफूलाई राहत दिएको प्रतिक्रिया दिए । पछिल्लो समय भारतीय समर्थकहरुले सामाजिक सञ्जालमा स्टिमचको चर्को आलोचना गर्दै आएका छन् । झन् नेपालसँग बराबरी खेलेपछि त उनको राजीनामा माग्नेको संख्या बढेको थियो । यसकारण आइतबारको नतिजाले उनलाई हर्षित बनाएको हो । 

खेलपछि आयोजित पत्रकार सम्मेलनमा स्टिमचले पहिलो खेलको तुलनामा दोस्रो भिडन्तमा दुवै टिमको खेलमा सुधार देखिएको बताए । ‘दुवै टिमले असाध्यै राम्रो खेले । तर तुलनात्मक रुपमा हामी बलियो टिम रह्यौँ । पहिलो हाफमा हामीलाई नेपाली खेलाडीहरुले खासै मौका सिर्जना गर्न दिएनन् । तर दोस्रो हाफमा जब हामीले गोल गर्‍यौँ खेल हाम्रो पक्षमा ढल्कियो,’ स्टिमचको भनाइ थियो । 

क्रोएसियाका स्टिमचले रेफ्रीको निर्णयप्रति रोष प्रकट गर्न छुटाएनन् । ‘यो मैत्रीपूर्ण खेल हो । यसमा रेफ्रीले कुनै एक टिमको पक्ष लिन जरुरी छैन,’ खेल दौरान पटक पटक रेफ्रीको निर्णय प्रति आक्राेशित  देखिएका स्टिमचले भने ।  


 


Author

थप समाचार
x