खेलकुद

ग्रिजमन करिब आधा तलबमा एथ्लेटिकोबाट खेल्दै

इकागज |
भदौ २१, २०७८ सोमबार २०:२३ बजे

काठमाडौँ- एन्टोइन ग्रिजमन गत साता एथ्लेटिको म्याड्रिड फर्किए । दुई सिजन बार्सिलोनामा रहेपछि फ्रेन्च फरवार्ड फेरि एथ्लेटिकोसँग आवद्ध भएका हुन् । ३० वर्षीय ग्रिजमन ऋण सम्झौतामा एथ्लेटिको फर्किएका हुन् । जहाँ उनी यसअघि पाँच सिजन रहेको थिए । आर्थिक संकटमा फसेको बार्सिलोनाले लियोनल मेस्सीलाई क्लब छाड्न दियो । खर्च कटौतीको नाममा ग्रिजमनलाई पनि एथ्लेटिको पठायो ।

हुन त ग्रिजमन आफैँले पनि एथ्लेटिको फर्कन चाहेको बताइएको छ । पुरानो क्लबतर्फको स्थान्तरण सफल पार्न उनले तलब कटौती स्विकार गरेको पनि गोल डटकमले लेखेको छ । गोलका अनुसार ग्रिजमनले एथ्लेटिकोसँग आबद्ध हुन बार्सिलोनामा पाइरहेको तलबमा ४० प्रतिशत कटौति स्विकार गरेको बताइएको छ ।  


ग्रिजमनलाई ऋणमा अनुबन्ध गरे वापत एथ्लेटिकोले बार्सिलोनालाई कुनै प्रकारको स्थान्तरण रकम तिर्नुपरेको छैन । ग्रिजमन हाल एक वर्षका लागि एथ्लेटिकाेसँग आबद्ध भएका हुन् । डिएगो सिमओनेको क्लबले ग्रिजमनलाई थप एक वर्ष राख्‍नसक्छ । 

सझौताका अनुसार ग्रिजमनलाई एथ्लेटिकोले स्थायी रुपमा पनि अनुबन्ध गर्नसक्छ । सन् २०२२-२३ सिजनमा ग्रिजमनले एथ्लेटिकोका ५० प्रतिशत खेल खेल्ने हो भने म्याड्रिडको क्लबले चार करोड युरो तिरेर फ्रेन्च खेलाडीलाई आफ्नो बनाउन सक्नेछ । 

दुई वर्ष अगाडि बार्सिलोनाले ग्रिजमनको स्थान्तरणका लागि १२ करोड युरो तिरेको थियो । महंगो स्थान्तरणमा बार्सिलोना पुगेका विश्वकप विजेताको क्याम्प नौउ बसाइ खासै सुखद रहन सकेन । उनले त्यहाँ कुल एक सय दुई खेल खेल्दा ३५ गोल गरे । प्राय खेलमा साविकको भन्दा फरक पोजिसनमा खेलेका ग्रिजमनलाई बार्सिलोनाका अधिकांश समर्थकले पनि रुचाएको देखिएन । 

यसअघि एथ्लेटिको रहँदा दुई सय ५७ खेलमा एक सय ३३ गोल गरेका ग्रिजमनले आउँदो आइतबार सिमओनेको टिमबाट दोस्रो पटक डेब्यु गर्ने सम्भावना छ । हाल फ्रान्सको राष्ट्रिय टिमबाट विश्वकप छनौटमा भाग लिइरहेका ग्रिजमन मंगलबार हुने फिनल्यान्डविरुद्धको खेलपछि वान्डा मेट्रोपोलिटानो पुग्‍नेछन् । 


Author

थप समाचार
x