खेलकुद

३९ वर्ष कोमामा रहेका पूर्वफ्रेन्च फुटबलर एडम्सको निधन

इकागज |
भदौ २१, २०७८ सोमबार २०:५६ बजे

काठमाडौँ- ३९ वर्षदेखि कोमामा रहेका पूर्वफ्रेन्च खेलाडी जिन पियर एडम्सको सोमबार ७३ वर्षको उमेरमा निधन भएको छ । एडम्स मार्च, १९८२ देखि अचेत अवस्थामा थिए । त्यसबखत उनलाई घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियाका लागि बेहोस बनाइएका एडम्स त्यसपछि कहिले पनि होसमा फर्केनन् । 

बेहोस बनाउने क्रममा लापरबाही गरिएकाले एडम्सको होस नफर्केको बताइन्छ । त्यसबेला एडम्सलाई बेहोस बनाउन खटिएका एनेसथेसिस्टको जिम्ममा अरु सात बिरामी थिए । लियोनस्थित त्यस अस्पतालका अधिकांश स्टाफ हड्तालमा रहेकाले थोरै जनशक्तिबाट अस्पताल चलिरहेको थियो । यसकारण पनि एडम्सले आवश्यक हेरचाह नपाएको बीबीसीले लेखेको छ । 


एडम्सलाई अनुभवी एनेसथेसिस्टले हेर्न नभ्याएपछि ट्र‍ेनी खटाइएको थियो । जसले त्यसबेला भनेका थिए, ‘मलाई जुन जिम्मेवारी दिइएको थियो, म त्यसका लागि उपयुक्त थिइँन,’ ट्र‍ेनीको यस्तो भनाइ बीबीसीले आफ्नो रिपार्टमा समावेश गरेको छ । 

फ्रान्सको प्रशिक्षण क्याम्पमा अभ्यास दौरान चोट बोकेका एडम्सको शल्यक्रिया त भयो तर उनी कहिले पनि बेडबाट उठ्न सकेनन् । अचेत एडम्सलाई १५ महिनापछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि उनलाई निम्सस्थित उनकै निवासमा राखिएको थियो । उनलाई उनकी श्रीमती बेर्नाडेट्टेले हेरचाह गर्ने गर्थिन् । 

गल्ती गर्ने एनेसथेसिस्ट र ट्रेनीलाई सन् १९९० दशकको मध्यतिर कारबाही गरियो । तर कारबाही फितलो रह्यो । ती दुईलाई जनही एक महिनाको काराबास र सात सय ५० युरो जरिवानाको सजाय सुनाइयो । 

सेनेगलमा जन्मेका एडम्सले फ्रान्सको शीर्ष डिभिजनको क्लब निसका लागि एक सय २६ खेल खेलेका थिए । त्यसैगरी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा पनि उनी दुई वर्ष रहे । उनले फ्रान्सको राष्ट्रिय टिमका लागि पनि २२ खेल खेलेका थिए । 
 


Author

थप समाचार
x