खाडीले परिवर्तन गरिरहेको युरोपियन क्लब फुटबल
काठमाडौँ- कोभिड-१९ महामारीले विश्व फुटबल प्रभावित बनेको छ । विशेषगरी युरोपको फुटबल अर्थतन्त्र झनै संकटमा छ । तर त्यही युरोपका केही क्लबले भने महामारीका कारण आर्थिक संकट महसुस गरेका छैनन् । भनिन्छ नि, आर्थिक संकटको घडीमा जित धनीको हुन्छ । यसपटकको युरोपियन सरुवा बजारमा ठ्याक्कै यही भयो । ठूला भनिएका क्लबहरूले हारे, धनी क्लबहरूको चाहिँ जित भयो ।
यो सिजन लियोनल मेस्सीको सरुवा पेरिसतर्फ भयो । उनको स्थान्तरणले पेरिस मात्र होइन, पूरै फ्रान्स उत्साहित बन्यो । मेस्सीको नाम अंकित पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्सी किन्न समर्थक पेरिसमा घण्टौँ लाइन बसे । उता क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर सहर फर्किदा म्यानचेस्टर युनाइटेडको शेयर मूल्य १० प्रतिशतले बढ्यो । यी दुई खेलाडीको प्रभाव विश्व फुटबलमा गहिरो छ । अनि फुटबल अर्थतन्त्रमा पनि यिनको स्थान्तरणको प्रभाव राम्रैसँग महसुस गरियो ।
मेस्सी र रोनाल्डोको स्थान्तरणसँग आर्थिक संकट जोडिएको छ । बार्सिलोना र युभेन्टस खर्च कटौतिमा केन्द्रित हुँदा आफ्ना बहुमूल्य रत्न पनि गुमाउन तयार भए । युरोपियन क्लब फुटबलका पारम्परिक शत्ति मानिने बार्सिलोना र युभेन्टसको आम्दानी घट्दा पीएसजीलाई कुनै किसिमको संकटले छुएको देखिएन । सन् २०१७ मा नेयमारको स्थान्तरणका लागि २२ करोड युरो भन्दा बढी खर्चिएको पीएसजीले मेस्सीलाई पनि भित्र्याएर सन्देश दिएको छ, युरोपियन क्लब फुटबलमा ‘पावर सिफ्ट’ हुनेवाला छ । पीएसजी जोसुकै स्टारलाई पनि किन्न तयार छ, अर्को सन्देश हो यो ।
कुनैबेला बार्सिलोनाले सोचेको थियो, नेयमारले मेस्सीको प्रभावलाई प्रतिस्थापन गर्नेछन् । तर उसले नेयमारलाई चाँडै गुमायो । न त ३४ वर्षिय मेस्सीलाई नै क्लबमा राख्न सक्यो । लगातार महंगा मूल्यमा खेलाडी खरिद गर्दा पनि सोचे अनुसारको सफलता भेट्टाउन नसकेपछि बार्सिलोना थप संकटग्रस्त बन्न पुग्यो । संकटलाई आर्थिक कोणबाट हेर्ने हो भने, यो एक अर्ब ३० करोड बराबरको छ । यस्तो ठूलो ऋण बोकेको बार्सिलोनाले मेस्सीलाई सम्झौता नवीकरणको औपचारिक प्रस्ताव राख्नै सकेन ।
युभेन्टसको अवस्था बार्सिलोनाको भन्दा केही फरक छ । इटालियन क्लब कमसेकम बार्सिलोनाको जस्तो गहिरो संकटमा छैन । बरु उसले सम्भावित संकटबाट आफूलाई निकाल्न प्रयास गरेको छ । खर्च कटौति गर्ने प्रयास गरेको हो । यही नीति अनुरुप महंगा रोनाल्डोलाई बेचिएको हो ।
सन् २०१८ मा रोनाल्डोलाई अनुबन्ध गर्दा युभेन्टसले सोचेको थियो, अब च्याम्पियन्स लिग जित्न तयार भइयो । तर मासिमिलियानो एलेग्री देखि कम अनुभवी प्रशिक्षक आन्द्रेइ पिर्लोसम्मले रोनाल्डो सम्मिलित युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन सकेनन् । अन्ततः न त पिर्लो युभेन्टसमा रहे, न रोनाल्डो नै । रोनाल्डोले क्लब छाडे पनि उनलाई अनुबन्धन गर्ने निर्णय ठिक थियो कि बेठिक भन्ने बहस भने जारी नै छ ।
भनिन्छ नि, आर्थिक संकटको घडीमा जित धनीको हुन्छ । यसपटकको युरोपियन सरुवा बजारमा ठ्याक्कै यही भयो । ठूला भनिएका क्लबहरूले हारे, धनी क्लबहरूको चाहिँ जित भयो ।
युभेन्टसमा एलेग्री फर्किएका छन् । कयौँ पटक सिरी ए जिताएका उनलाई युभेन्टसले सन् २०१९ मा बर्खास्त गरेको थियो । कारण उही थियो, च्याम्पियन्स लिगको असफलता । दोस्रो पटक युभेन्टसको प्रशिक्षक बन्दा उनी दंग देखिन्छन् । यसको एउटा कारण रोनाल्डोको बर्हिगमन पनि हो । एलेग्री रोनाल्डोविनाको युभेन्टस टिमको पुनःनिर्माण चाहन्छन् ।
जब मेस्सी र रोनाल्डोले आ-आफ्ना क्लब छाड्ने हल्ला चल्यो, केही क्लब सतर्क भए । हुन त ति क्लबमात्र यी सुपरस्टारलाई अनुबन्ध गर्न आर्थिक रुपमा सक्षम थिए । ती क्लब जस्तै धनी चेल्सीले आफूलाई मेस्सी र रोनाल्डो दौडबाट बाहिरै राख्यो ।
त्यसपछि बाँकी रहे, युनाइटेड, म्यानचेस्टर सिटी, र पीएसजी । किन यी क्लबमात्रै सक्षम देखिए ? किनभने यी तीनै क्लबको आम्दानीका स्रोत सीमित छैनन् । युनाइटेड विश्व फुटबलको सबैभन्दा ठूलो ब्रान्ड हो । अनि सिटी र पीएसजीको स्वामित्व खाडीका दुई मुलुकसँग छ । त्यसैले त यी तीन क्लब कुनैपनि खेलाडीका लागि भनेजति पैसा खर्च गर्न तयार हुन्छन् ।
त्यसोभए, मेस्सी र रोनाल्डोको स्थान्तरणपछि के पारम्पारिक ठूला क्लबहरूको युग सकिएको हो त ? प्रश्न उठेको छ । तर यसको जवाफ प्राप्त हुने बेला भइसकेको छैन । यद्यपि युरोपियन क्लब फुटबल परिवर्तन भइरहेको भान भने भइरहेको छ । क्लबहरूको चर्चा गरिरहँदा ठूला मानिने लिगहरूलाई छुटाउन मिल्दैन । यसपटक पनि सधाको जस्तै, इंग्लिस प्रिमियर लिग नै सबैभन्दा बढी खर्चालु बन्यो । सरुवा बजारमा अन्य लिगले भन्दा करिब १० गुणा बढी खर्च गर्यो ।
हुन त रियल म्याड्रिडले पीएसजीबाट किलियान एमबाप्पेलाई खोस्न सकेको भए स्पेनिस ला लिगाको खर्च ह्वात्तै बढ्ने नै थियो । रियलले एमबाप्पेको स्थान्तरणका लागि करिब २० करोड खर्चिन तयार देखिएको थियो । एक वर्षपछि प्रि-एजेन्ट बन्ने एमबाप्पेलाई त्यत्तिको महंगो प्रस्ताव राखेर रियलले आफ्नो आर्थिक हैसियत प्रस्तुत गर्यो । अनि पीएसजीले रियलको प्रस्ताव इन्कार गरेर आफू झनै बलियो रहेको प्रमाणित गर्ने चेष्टा गर्यो ।
पीएसजीले एमबाप्पेलाई जुनसुकै हालतमा पनि क्लब छाड्न नदिने अडान राख्नुका कारण मेस्सी र नेयमार पनि हुन् । फ्रेन्च क्लब यी तीन खेलाडीलाई सँगै खेलाएर भन्न चाहन्छ, हामी युरोपको नयाँ शक्ति हौँ । भलै उसले अर्को वर्ष एमाबाप्पेलाई सित्तैमा गुमाउन सक्छ ।
पीएसजीको दाबीलाई इंग्लिस क्लबले चुनौती दिन सक्छन् । विशेषगरी म्यानचेस्टर सहरका दुई क्लब र चेल्सीले । अगस्ट ३१ मा सरुवा बजार बन्द हुनुअघि सिटीले १० करोड पाउन्ड खर्चेर ज्याक ग्रेलिस अनुबन्ध गर्यो ।
चेल्सी पनि रोमेलु लुकाकु र साउन निगेजको आगमनपछि थप बलियो बनेको छ । खेलाडी विक्रिमा पनि चेल्सी अरु इंग्लिस क्लब भन्दा अघि रह्यो । आफूलाई आवश्यक नपर्ने युवा खेलाडीहरूलाई महंगोमा बेचेर चेल्सीले आफू सरुवा बजारको चलाख खेलाडी भएको पुनः प्रमाणित गर्यो । यसमा प्रमुख कार्यकारी अधिकृत मरिना ग्रानोभस्काइको भूमिका उल्लेख्य छ ।
अन्त्यमा,
हुनसक्छ युरोपियन क्लब फुटबलमा पारम्पारिक शक्ति मानिएका क्लबहरूले आफूलाई परिमार्जन गर्न सक्छन् । अथवा फुटबल भन्दा बाहिरबाट आम्दानी गर्ने क्लबहरूको स्रोत सुक्नसक्छ । यो भविष्यले बताउने कुरा भयो । तर अहिलेका लागि यति भनौँ, यसपालीको सरुवा बजारले युरोपको क्लब फुटबल परिवर्तनको संघारमा रहेको जनाउ दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया