काठमाडौंबाहिर-३
काठमाडौंले मात्रै थेगिने खेलकुदले मुलुकको खेलकुद उँभो लाग्दैन
नेपाल राजनीतिक-कागजी रूपमा संघीय भइसकेको छ । संघीय नेपालमा अधिकार मात्र होइन, सेवा-सुविधा पनि प्रदेशकरण-स्थानीयकरण हुनुपर्ने हो । शासन-प्रशासन, व्यापार-रोजगार, शिक्षा-स्वास्थ्य जस्ता क्षेत्र मात्र होइन, सञ्चारमाध्यम पनि काठमाडौँ केन्द्रित भइरहेको आरोप-अनुभव आत्मसात् गर्दै हामीले ‘काठमाडौंबाहिर’ शृंखलामा काठमाडौँ उपत्यकाबाहिर बसेर सत्कर्म गरिरहनुभएका प्रतिनिधि पात्रका अनुभव बाँडिरहेका छौँ । पहिलो शृंखलामा पोखरामा बसेर सिने-रंगकर्म गरिरहेका माओत्से गुरुङको अनुभव प्रस्तुत गरेका थियौँ ।
दोस्रो शृंखलामा नेपालगन्जमा बसेर लेखपढको कर्ममा सक्रिय अमृत शर्मा ढकालको अनुभव प्रस्तुत गर्यौं । यो पटक सहारा क्लब तथा सहारा एकेडेमीका संस्थापक बिक्रम थकालीको प्रस्तुत गरेका छौं । पोखरामा बसेर दुई दशक भन्दा धेरै समयदेखि नेपाली खेलकुद, विशेषगरी फुटबलमा, योगदान पुर्याइरहेका पात्र । नेपालकै महत्वपूर्ण मध्येको एक फुटबल प्रतियोगिता आहा-रारा गोल्डकपको आयोजना सुरु गर्न, सहारा क्लब र सहारा फुटबल एकेडेमी स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थकाली अविरल रुपमा पोखरामा नै रहेर खेलकुद विकासमा खटिएका छन् ।
०००
म स्कुलमा हुँदादेखि नै फुटबल खेल्थे । स्ट्राइकर भएर खेल्थे । पछि ब्याडमिन्टन पनि खेलेँ । जसमा म एकपटक कास्की जिल्ला स्तरीय प्रतियोगिताको विजेता भएँ । पोखराको खेलकुदमय वातावरणका कारण पनि खेलकुद प्रेमी भइयो ।
२०५५ सालमा पोखरामा रारा कप आयोजना हुने भयो । मेरो उमेर अलि ढल्किसकेको भएपनि अन्य साथीभाइको अनुरोध बमोजिम त्यस प्रतियोगितामा भाग लिन एउटा टिम बनाइयो । त्यही टिमपछि सहारा क्लब बन्यो । जसले मुलुककै प्रतिष्ठित मानिने आहा-रारा कप पोखरामा वर्षेनी आयोजना गर्छ । अनि फुटबल खेलाडी बन्ने सपना बोकेका विपन्न तथा गरिब पुष्ठभूमि आएका बच्चाहरूलाई पढाउने र फुटबल तालिम दिने काम गर्छ । अहिले पनि हामीसँग २३ किशोर छन् । उनीहरू २०७० देखि नै सहारा एकेडेमीमा बसेर औपचारिक अध्ययन गर्ने अनि फुटबल सिकिरहेका छन् ।
काठमाडौंबाहिर बसेर खेलकुदमा लाग्न सजिलो छैन । त्यसमाथि खेलकुदमै लागिरहेर जीवन निर्वाह गर्न त झन् ग्राहो छ । खेलकुदमा करियर बनाउन राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यता छ । किनभने खेलकुद नै काठमाडौं केन्द्रित छ । मुलुकको खेलकुद काठमाडौं केन्द्रित हुनुमा धेरै कारण छन् । मुलुक हाँक्ने शासकलाई खेलकुदमा लगानी गर्नुपर्छ, खेलकुदलाई मुलुकभर नै लग्नुपर्छ भन्ने सोच नहुनु । अनि खेलकुद निकायहरूमा भएका पदाधिकारीहरूसँग योजना नहनु ।
सुरुमा एउटा प्रतियोगिता खेल्न गठन गरेको क्लबले अहिले एकेडेमी सञ्चालन र मुलुककै प्रतिष्ठित प्रतियोगिता सञ्चालन गरिरहेको छ । यसको सन्देश भनेको, काठमाडौंबाहिर पनि अठोट राखेर प्रयास गरियो भने राम्रा काम गर्न सकिन्छ भन्ने हो । हामीले पोखरा सहर, देश विदेशमा रहनु भएका खेलप्रेमीबाट सहयोग पाएका छौं । उहाँहरूको सहयोगबिना यो स्तरको काम गर्न ग्राहो छ । हामीले एक करोड ७० लाख (लगभग खर्च, जग्गाको मोल छुट्टै), एकेडेमीका लागि भवन बनायौं, अहिले सम्म १९ पटक आहा-रारा कप आयोजना गर्र्यांै, तर हामीलाई सरकार र उसका निकायबाट सहयोग नै छैन भन्दा पनि हुन्छ । काठमाडौं बाहिर यो स्तरको प्रतियोगिता सञ्चालनमा सरकारको सहयोग नपाउनु एकदम दुखद हो ।
दलजित सिरपाइली खेलकुद मन्त्री हुँदा दोभिल्लास्थित हाम्रो एकेडेमीलाई १० लाख सहयोग प्राप्त भयो । त्यस्तै, गत वर्ष गण्डकी सरकारबाट आहा-रारा कप आयोजनाका लागि १० लाख प्राप्त भयो । सरकार वा सरकारी निकायबाट आएको सहयोग त्यत्ति नै हो । हाम्रो एकेडेमी सञ्चालनमा मासिक दुई लाख खर्च हुन्छ । हामीले गोल्डकप आयोजनाबाट बचत भएको पैसा र अक्षय कोषको सहयोगमा एकेडेमी सञ्चालन गर्ने हो । २०७० सालमा हामीले २५ लाखको अक्षय कोषको स्थापना गरेका थियौं । अहिले एकेडेमी सञ्चालनमा त्यसले ठूलो मद्दत गरेको छ ।
सरकारको खेलकुद विकासमा ‘भिजन’ छैन । अरु निकाय पनि यसमा शून्य छन् । नेपालको फुटबलमा अहिले खेलाडी उत्पादनमा कमी आएको छ । देशभर पर्याप्त एकेडेमी सञ्चालन गर्नुपर्नेमा, सञ्चालन भइरहेको हाम्रो एकेडेमीसँग पनि अखिल नेपाद फुटबल संघ (एन्फा) को कुनै किसिमको समन्वय छैन । फुटबल प्रतियोगिता काठमाडौंमै मात्र गर्ने भए पनि खेलाडी त चाहियो होला नि ? अनि हामीले उत्पादन गर्ने खेलाडीले पनि देश कै क्लबहरूका लागि खेल्ने हो, राष्ट्रिय टोलीका लागि पनि योगदान गर्ने हो । खाली पोखरामा मात्र सिमित हुने त होइन नि !
दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरामा भौतिक पूर्वाधार बनाइयो । त्यसका लागि पनि हामी पोखराबासीले वर्षौसम्म सरकारी निकायहरूलाई घच्घच्याउनु पर्यो । साग अन्तर्गत महिला फुटबल पोखरामा भयो । आएका टिमहरूका लागि अभ्यास गर्ने ठाउँको अभाव भयो । आखिरमा हाम्रो एकेडेमीको मैदान प्रयोगमा आयो । हामीले मैदान बनाएका थियौं र त त्यतिबेला परेका बेला काम लाग्यो । यस किसिमका दृष्टान्तले सरकारी निकायहरूलाई पूर्वाधार बनाउनु पर्ने रहेछ भन्ने बुद्धि आउँछ भन्ने आशा छ । काठमाडौंमा मात्र पूर्वाधार बनाए, खेलकुद त्यहीँ मात्र सीमित हुन्छ । काठमाडौंले मात्रै थेगिने खेलकुदले मुलुकको खेलकुद उँभो लाग्दैन ।
फेरि सबै ठाउँमा खेलकुद पूर्वाधार बनाउनु पर्छ भन्ने होइन । तर जहाँ यातायातको सुविधा छ, अन्य आवश्यक पूर्वाधार छ त्यहाँ बनाउने हो । भोलि पूर्वाधार चाहीँ बनाउने अनि प्रतियोगितामा भाग लिन आउने खेलाडीहरूका लागि बस्ने होटल भएन भने मज्जा आउँदैन । त्यसकारण स्थान चयन गरेर खेलकुद पूर्वाधार बनाउने हो ।
खेलकुदको विकेन्दि«करण गर्नैपर्छ । सबै जिल्लामा खेलकुद गतिविधी हुनुपर्छ । विद्यालय स्तरका प्रतियोगिता सञ्चालन गर्नुपर्छ । ग्रामिण भेगमा पनि खेलाडीले तालिम गर्न पाउने व्यवस्था हुनुपर्छ । सुरुवातका दिन कठिन थिए । हामीले आयोजना गर्ने गोल्डकपका लागि क्लबहरूलाई आउनका लागि बिन्ती गर्नुपथ्र्यो । अहिले काठमाडौंका क्लबहरू हामीलाई पनि बोलाउनुपर्छ है भन्छन् । रंगशाला २०-२२ हजार दर्शकले भरिन्छ । पहिलो जस्तो प्रायोजक खोज्न ग्राहो छैन । यो सबै हाम्रो ‘गुडविल’ले सम्भव भएको हो । काठमाडौंबाहिर पनि ठूला प्रतियोगिताहरू सञ्चालन र व्यवस्थापन गर्न सक्षम मानिस छन् भन्ने सन्देश दिएका छौं ।
देश संघीयतामा गएको छ । प्रादेशिक सरकारबाट सहयोग पाउनेछौ भन्ने आशा छ । तर खेलकुदमा राजनीति हाबी छ । खेलकुदमा, देखिने खालको काम गर्न सरकारको सहयोग र सहभागिता चाहिन्छ । तर केही गर्नका लागि राजनीतिक पार्टीको सदस्यता देखाउनु पर्छ । काठमाडौंबाहिर खेलकुदमा दीर्घकालिन महत्वका कार्य गर्न त्यसै पनि गाह्रो छ । अब राजनीतिक दलकै कार्यकर्ता बन्नुपर्ने भएपछि हामी जस्तो स्वतन्त्र मान्छेलाई त मुश्किल हुने भइहाल्यो ।
खेलकुद मै करियर अघि बढाउन काठमाडौं जान मन लागेन । पोखरा मै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोच थियो । फेरि हामी साथीभाइ मिलेर सामाजिक काम पनि गर्न चाहान्थ्यौं । त्यसकै नतिजा हो एकेडेमी सञ्चालन । पारिवारिक व्यवसाय भएर पनि टिक्न सजिलो भयो । नत्र खेलकुदकै भर परेर त बाँच्न सक्ने अवस्था छैन । त्यो पनि काठमाडौंबाहिर । खैर, गुनासो चाहीँ छैन । आफू जन्मेको ठाउँलाई खेलकुद र सामाजिक कार्यका माध्यमबाट योगदान पुर्याउने मौका पाइएको छ ।
यसअघिका काठमाडौँबाहिर १ र २
- काठमाडौँको पिँजडामा संघीयताको सुगा कैद छ
- फोहोरी काठमाडौँ नगई सुखै छैन, खास्सा त पोखरा लाग्छ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया