खेलकुद

फिक्का हुँदै म्यानचेस्टर सिटीको अग्रपंक्ति

इकागज |
मंसिर २९, २०७७ सोमबार ७:२ बजे

काठमाडौं : इंग्लिस फुटबलमा म्यानचेस्टर सिटीको उदयसँगै म्यानचेस्टर डर्बीप्रति चासो राख्‍ने फुटबल सर्मथकको संख्यामा विश्वब्यापी वृद्धि भयो । म्यानचेस्टर युनाइटेड युरोपियन क्लब फुटबलकै स्थापित शक्ति भएकाले उसलाई टक्कर दिनेगरी सहरी प्रतिद्वन्द्वीको उदय भएपछि म्यानचेस्टर डर्बीको महत्व इंगल्यान्डबाट विश्वका विभिन्‍न कुनामा पुग्यो ।

म्यानचेस्टर डर्बी पछिल्ला वर्षमा सधै प्रतिस्पर्धात्मक र रोचक हुदै आएको थियो । तर शनिबार सम्पन्‍न एक सय ८३ औ म्यानचेस्टर डर्बी भने निरस रह्यो । गएका डर्बी भन्दा भिन्‍न । त्यसमा दुई कारण देखिए । पहिलो, दर्शकबिहिन ओल्ड ट्राफोर्ड । दोस्रो, म्यानचेस्टरका दुबै टोलीमा देखिएको नैरश्यता । न त घरेलु टिम युनाइटेडले खेलमा उर्जा देखायो । न त पेप ग्वार्डिओलाको टोली नै खेलमा उत्साहित देखियो । यस्तो लाग्थ्यो, दुई ठूला टिम नभएर रेलिगेसनबाट बच्‍न संर्घषरत टोलीहरु भिडिरहेका छन् ।


पेप ग्वार्डिओलालाई जती सुकै बलियो विपक्षविरुद्ध पनि आक्रमक फुटबल खेलाउने प्रशिक्षकका रुपमा लिइन्छ । उनले बार्सिलोना, बार्यन म्युनिख र सिटीमै पनि आर्कषक अनि आक्रमक फुटबल खेलाएकामा प्रशंसित छन् । तर शनिबार युनाइटेडसँग आमनेसामने हुँदा उनका खेलाडी गोल गर्ने भन्दा पनि गोल नखाने रणनीति अनुसार खेलिरहेका देखिन्थे ।

ग्वार्डिओलाका टिमले युरोपियन क्लब फुटबलका महत्वपूर्ण खेलहरुमा निडर देखिएका छन् । विपक्षिलाई रक्षात्मक हुन बाध्य पारेका छन् । गोल गर्ने रणनीति अनुरुप खेलेका छन् । हो, ग्वार्डिओलाले धेरै महत्वपूर्ण खेलहरु पनि गुमाएका छन् । तर उनले आफ्नो शैलीलाई कहिले तिलान्जली दिएनन् । सधै आफ्नो फुटबल दर्शनमा अडिग रहे ।

तर म्यानचेस्टर डर्बीका पछिल्ला तीन भिडन्तमा युनाइटेडले काउन्टर एट्याक रणनीतिको प्रयोग गर्दै सिटीलाई दबाबमा राखेपछि यस पटक ग्वार्डिओलाले आफ्नो योजनामा केही परिवर्तन गरेको देखियो । ग्वार्डिओलाले आफ्ना खेलाडीलाई पुरै आक्रमक होईन रक्षापंक्तिमा पनि ध्यान दिएर सन्तुलित खेल्न निर्देशन दिए । जसको पुस्टी ग्वार्डिओलाको खेलपछिको टिप्पणीले दियो ।

‘हामी तिब्र गतिमा खेल्ने गर्छौ । तर यदि हामीले योजना अनुरुप खेल्न सकेनौ भने विपक्षिले हामीलाई काउन्टर एट्याकमा सजाय दिन सक्छन् । त्यसकारण पनि युनाइटेडविरुद्ध हामीले सचेत भएर खेल्नुपर्ने आवश्यकता थियो,’ ग्वार्डिओलाले खेलपछि भने, ‘युनाइटेडका खेलाडीहरु चलाख छन् । उनीहरु काउन्टर एट्याकमा गोल गर्न माहिर छन् । उनीहरुले आफ्नो क्षमताले भ्याएसम्म खेले । तर हामीले भने पाएको अवसरहरुलाई सदुपयोग गर्न सकेनौं ।’

युनाइटेडसँगको खेलमा गोल गर्न नसके पनि सिटी केही हद सम्म सन्तुष्ट हुने ठाउँ थियो । खेलमा गोल नखाँदा, सिटीको ‘क्लिनसिट’ को संख्या ६ पुग्यो । जसको सन्देश हो, सिटीको रक्षापंक्ति स्थिर हुदै गएको छ । गएको सिजन रक्षापंक्तिले सोचे अनुसारको प्रदर्शन नगर्दा ग्वार्डिओला रनथनिएका थिए । तर यस सिजन जोन स्टोन्स र नयाँ डिफेन्डर रुबेन डायसको साझेदारीले सकारात्मक संकेत दिन सफल भइरहँदा स्पेनिस प्रशिक्षकलाई केही राहत महसुस भएको हुनुपर्छ ।

युनाइटेडसँग बराबरी गरेसँगै सिटीले प्रिमियर लिगका ठूला क्लबविरुद्ध ‘अवे खेल’ मा भोगिरहेको हारको श्रृङ्खलामा पनि पूर्णविराम लगाएको छ । युनाइटेडविरुद्धकै पछिल्ला दुई खेलमा पनि सिटीले क्लिनसिट पनि राख्न सकेको थिएन । ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटीले क्लिन सिट राख्ने मात्र होईन, युनाइटेडका तिब्र गतिका फरर्वाडहरुलाई नियन्त्रणमा राख्न पनि सफल भयो ।

अब फेरी चर्चा सिटीको कमजोरीका बारेमा । खेलमा सिटीले युनाइटेडलाई दबाब दिन सकेन । विशेषगरी अग्रपंक्तिमा । युनाइटेड गत साता च्याम्पियन्स लिगबाट बाहिरिएसँगै सिटी विरुद्धको खेलमा आफुलाई प्रमाणित गर्न चाहान्थ्यो । त्यसकारण, तुलनात्मकरुपमा युनाइटेडले बढी आक्रमण बुन्यो । अनि गोलका अवसर सिर्जना गर्नेमा पनि युनाइटेड नै अगाडि देखियो ।  तर सिटीको आक्रमण सम्हालेका खेलाडी फिक्का देखिए । त्यसो त, सिटीको आक्रमण युनाइटेडका विरुद्ध मात्र फिक्का देखिएको होइन ।

जारी सिजनमै सिटीका फरर्वाडले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । उनीहरुले अहिले सम्म १७ गोल मात्र गर्न सकेका छन् । गत सिजनमा ११ खेल सकिदाँ सिटीले ३४ गोल गरिसकेको थियो । ओल्ड ट्राफोर्डको नतिजासँगै सिटी ११ खेलबाट २१ अंक सहित लिग अंकालिकाको नौऔ स्थानमै अड्कियो । उता युनाइटेड भने सहरी प्रतिद्वन्द्वीको भन्दा एक अंक बढी बटुल्दै आठौं स्थानमा आसिन छ ।

उपाधी जित्ने लक्ष्यका साथ सिजनको सुरुवात गरेको सिटी अंक तालिकामा मात्र पछि परेको अवस्था होइन । सिटीले सुन्दर फुटबल पनि पस्किन सकेको छैन । ग्वार्डिओलाले प्रिमियर लिगमा बिगतमा सुन्दर फुटबल खेलाएर उपाधी जितेका छन् । त्यसकारण यसपटक उनलाई दोहोरो दबाब छ । जति सक्दो धेरै अंक बटुल्ने । अनि साथमा सुन्दर फुटबल खेल्ने । (गोल डटकमबाट)


Author

थप समाचार
x