लिभरपुल प्रिमियर लिगमा खेलाडी र अंक गुमाउँदै
काठमाडौं : लिभरपुलका लागि यस साताको प्रिमियर लिग महंगो साबित भयो । प्रतिद्वन्द्वीहरूले आ–आफ्ना खेलमा अंक गुमाउँदा योर्गेन क्लपको टिमले फाइदा उठाउन सकेन । टोटनहम, चेल्सी र म्यानचेस्टरका दुबै क्लब बराबरीमा रोकिदा लिभरपुलले आफ्नो खेल जित्दै लिगमा दबाब कायम गर्ने अपेक्षा राखिएको थियो ।
तर फुलहमसँग बराबरीमा रोकिदाँ लिभरपुलले लिग अंक तालिकामा शिर्षस्थान कब्जा जमाउने मौका गुमायो । फुलहमको मैदानमा भएको खेलमा घरेलु टिमले बबी डेकोरडोभाको गोलमार्फत अग्रता लियो । तर मोहम्मद सलाहले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्र्दै लिभरपुललाई अंकविहिन हुनबाट जोगाए । फुलहमसँग बराबरी खेलेसँगै लिभरपुलले जारी सिजनमा गुमाएको अंक ११ पुगेको छ । लिभरपुलले अपेक्षा गरेको भन्दा बढी अंक त गुमाएको छ नै, चोटका कारण आफ्ना मूख्य खेलाडीहरू पनि गुमाउँदै गएको छ ।
काराभान कटेजमा दोस्रो हाफ खेल्न नसकेका रक्षक जोएल माटिप लिभरपुलका घाइते खेलाडीहरूको सूचीमा थपिने पछिल्लो नाम बनेका छन् । प्रशिक्षक क्लपका अनुसार क्यामारुनका माटिपलाई ढाँडको समस्याका कारण फुलहमसँगको खेल दौरान मैदाबाट निकालिएको हो । बुधबार हुने टोटनहमविरुद्धको खेलमा माटिप उपलब्ध हुने सम्भावना भने कायमै रहेको क्लोपको भनाइ थियो । तर लिभरपुलले अन्य दुई सिनियर रक्षक गुमाइसकेको अवस्थामा माटिपलाई टोटनहमसगँको खेलमा प्रयोग गरेर जोखिम लिने, नलिने दुविधा छ ।
यसअघि नै भर्जिल भान डाइक र जो गोमेज लामो समय मैदान बाहिर रहने निश्चित भइसकेको अवस्थामा मिडफिल्डर फाबिन्होलाई रक्षापिंक्तिमा प्रयोग गरिदै आएको थियो । टिममा बाँकी रहेका एकमात्र रक्षक माटिप पनि मैदान छाड्न बाध्य भएपछि कप्तान जोर्डन हेन्डरसनलाई रक्षापंक्तिमा अर्का मिडफिल्डर फाबिन्होको साझेदार बनाइएको थियो । लिभरपुलको मिडिफिल्डमा पहिलाबाटै खेलाडी अभाव रहेको अवस्थामा हेन्डरसनलाई पनि रक्षापंक्तिमै खेलाउनु पर्ने भएपछि प्रशिक्षक क्लोपको तनाब थपिएको छ ।
अब क्लपसँग सिनियर मिडफिल्डरमध्येका जिनी वाइनालडम मात्रै फिट छन् । क्लबका उप–कप्तान जेम्स मिल्नर अझै फिट भइसकेका छैनन् भने थियागो अल्कनट्रा दुई महिना यता मैदानमा देखिएका छैनन् । उता नेबी केइटा पनि उपलब्ध छैनन् । यसै सिजन वुल्भरह्याम्पटनबाट लिभरपुल अइपुगेका डिएगो जोटा र ग्रिक कोस्टास सिमकिास पनि कमसेकम ६ हप्ताका लागि मैदान बाहिर रहनेछन् ।
मिडफिल्डरको अभाव खेपिरहेका क्लपका लागि युवा खेलाडी कर्टिस जोन्सको उपस्थितीले भने केही राहत दिएको छ । १९ वर्र्षीय जोन्सले लगातार मौका पाइरहेका छन् । त्यसो त लामो समय मैदान बाहिर रहेका इंग्लिस मिडफिल्डर एलेक्स अक्सले चेम्बरलेन पनि चोटमुक्त भएका छन् । क्लपले चेम्बरलेनलाई फुलमविरुद्धको खेलमा प्रयोग नगरे पनि आउँदा साताहरुमा उनी उपायोगी सिद्द हुनेछन् ।
अन्तराष्ट्रिय सञ्चार माधयमहरूको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया