कोहलीलाई भारतीय टेस्ट टिमबाट निकाल्ने निर्णयमा कसले लगायो ब्रेक ?
काठमाडौं : भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विश्वमा उत्कृष्टमध्यका एक ब्याट्सम्यान मानिन्छन् । उनले सबै ढाँचाका क्रिकेट खेलमा उत्तिकै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । तर टेस्टमा उनको सुरुवात बलियो थिएन । स्वभाविक रुपमा धेरै क्रिकेटर आफ्नो टेस्ट करियरको सुरुवाती खेलहरुमा संघर्षरत रहन्छन् । कोहली पनि फरक थिएनन् ।
कोहलीले सन् २०११ मा भारतीय टिमबाट टेस्टमा डेब्यु गरे । तर उनले किंगस्टनमा भएको वेस्टइन्डिजविरुद्धको श्रृङखलामा ७६ रन मात्र बनाउन सके । टेस्ट करियरको सुरुवाती खेलहरुमा राम्रो प्रदर्शन गर्न नसकेपछि कोहलीलाई भारतको इंग्ल्यान्ड भ्रमणका लागि घोषित टिममा पारिएन । तर वेस्टइन्डिजविरुद्ध घरेलु मैदानमा हुने श्रृङखलाका लागि भने भारतीय टिममा कोहलीलाई छानिएको थियो । कोहलीले एक खेलमा मौका पाए, जहाँ उनले अर्धशतक प्रहार गरे । त्यसपछि उनलाई अस्टे«लियाको भ्रमणका लागि पनि छनौट गरियो । तर पुनः उनको प्रदर्शन अपेक्षा गरिए अनुसारको भएन ।
रन बनाउन लगातार असफल भएपछि कोहलीलाई टिममा राख्ने, नराख्ने बहस भएको थियो । तर टिमका तत्कालिन कप्तान मेहन्द्र सिंह धोनीले कोहलीलाई मौका दिनुपर्ने अडान राखेपछि हालका कप्तानलाई टिमबाट ननिकालिएको भारतका पूर्व क्रिकेटर सन्जय मान्जेरकरले दाबी गरेका छन् ।
‘कोहली युवा थिए । उनले राम्रो सुरुवात गर्न नसकेपछि टिममा राख्ने नराख्ने बहस भयो । तर धोनीले कोहलीलाई मौका दिनुपर्छ, उनलाई विश्वास गर्नुपर्छ भनेपछि भारतीय टिममा हालका कप्तानको स्थान सुरक्षित भयो,’ मान्जेरकरले सोनी टेलिभजनसँग कुरा गर्दै भने । (अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया