ओसिलो मैदानमा पोखराको ओजिलो जित
काठमाडौँ- एभेरेष्ट प्रिमियर लिग (ईपीएल)लाई वर्षाले सताइरहेको छ । गत सोमबार दुवै खेल स्थगित भए । वर्षा रोकिहाले पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान ओसिला हुँदा खेल मिति परिवर्तन गर्नु परिरहेको छ । यसबाट सबै टिम प्रभावित भइरहेका छन् । तीमध्ये पनि पोखरा राइनोज सबैभन्दा बढी प्रभावित देखिएको छ ।
पोखराको पहिलो खेल भैरहवा ग्लाडिएटर्सविरुद्ध थियो । गत आइतबारको त्यस खेल १० ओभरपछि रद्ध भयो । दुवै टिमले एक–एक अंक बाँडे । पोखराले दोस्रो खेल मंगलबार खेल्ने तालिका थियो । उसको विपक्षी थियो, काठमाडौँ किंग्स । तर वर्षा र ओसिलो मैदानका कारण मंगलबारको खेल सुरु नभई रद्ध भयो ।
ईपीएलमा राम्रोसँग खेलको स्वाद नै चाख्न नपाएको पोखरा आफ्नो तेस्रो खेलमा बुधबार ललितपुर प्याट्रियट्सँग भिड्यो । तर यो भिडन्त २० ओभरबाट ७ ओभरमा छोट्याइएको थियो । यो खेलमा बाजी मार्यो पोखराले । उसले नौ विकेटको जित दर्ता गर्यो ।
खेलमा टस पोखराले जित्यो र ललितपुरलाई ब्याटिङको निम्तो दियो । कुशल भुर्तेलको कप्तानीमा खेलिरहेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल तयार पार्यो । ललितपुरका लागि विदेशी ब्याट्सम्यान सान्दुन विराकोड्डीले सर्वाधिक १९ रन बनाए । उनीसँगै ओपनिङमा गएका कुशलको नाममा ३ रन रह्यो ।
सान्दुनबाहेक अन्य दुई खेलाडीले मात्रै दोहोरो अंक छुए । ती थिए, ओसादा फर्नान्डो र नारायण जोशी । अविजित रहेका ओसादाले १० रन बनाउँदा नारायणले ११ रन बनाए ।
पोखराका लागि नन्दन यादवले धारिलो बलिङ गरे । उनले ११ रन खर्चेर तीन विकेट हात पारे । ११ रन नै खर्चेका विक्रम सोबको नाममा दुई विकेट रह्यो । त्यसैगरी केस्रिक विलियम्सले एक विकेट लिए ।
विजेता पोखराले ६.३ ओभरमा एक विकेटको क्षतिमा ५५ रन बनायो । पोखराका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभीले अविजित ३८ रन जोडे । २२ बल सामना गर्दा रिचार्डले एक छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै, रित गौतमले १२ रनको योगदान गरे । रित अफगानिस्तानका आज्मातुल्लाह ओमारजाईको बलमा पभेलियन फर्किए ।
जितसँगै पोखराले तीन अंक बनाएको छ र शीर्षस्थानमा उक्लिएको छ । लगातार दुई पराजय भोगेको पोखरा पुच्छारमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया