म्यानचेस्टर युनाइटेडमा पर्याप्त समय पाइन: जोसे मौउरिन्हो
काठमाडौं : टोटनहमका प्रशिक्षक जोसे मौउरिन्होले म्यानचेस्टर युनाइटेडमा आफुले पर्याप्त समय नपाएको गुनासो गरेका छन् । प्रिमियर लिगमा बुधबार हुने लिभरपुलविरुद्ध हुने खेल अघि पत्रकारहरूसँग कुरा गर्दै मौउरिन्होले युनाइटेडका विषयमा गुनासो गरेका हुन् । इंगल्यान्डको सर्वाधिक सफल क्लबमा आफ्नो बसाइ लामो नभए पनि लन्डन क्लब टोटनहममा भने आफु लामो समय बस्ने सम्भावना रहेको मौउरिन्होको भनाई थियो ।
युनाइटेड पुग्नुअघि धेरै क्लबमा सफलता हासिल गरेका मौउरिन्होले युनाइटेडमा भने उस्तै जादु देखाउन सकेनन् । युनाइटेडमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको तर समय नपाउँदा त्यहाँको ‘प्रोजेक्ट’ लाई बीचमै छाडेर हिड्नुपरेको पोर्चुगिज प्रशिक्षकको भनाइ थियो । ‘युनाइटेड बाहेकका क्लबहरूमा मैले सोचे जस्तो सफलता पाए । किनभने ती क्लबहरू पहिले नै राम्रो अवस्थामा थिए । तर युनाइटेडमा भने जग बसाउनु पर्ने आवश्यकता थियो । तर मलाई समय दिइएन,’ मौउरिन्होले भने ।
र्पोटो, इन्टर मिलान, रियल म्याड्रिड र चेल्सीमा लिग जितेका मौउरिन्होले युनाइटेडलाई भने लिग जिताउन सकेनन् । टोटनहमले मौउरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि उत्तरी लन्डन आइपुगेका मौउरिन्हाले क्लबमा एक वर्षको अवधिमा राम्रो छाप छाड्न सफल भएका छन् । जारी प्रिमियर लिगमा टोटनहम १२ खेलबाट २५ अंक सहित शिर्षस्थानमा छ । टोटनहमलाई पछ्याइरहेको लिभरपुल गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ । उपाधी दौडमा रहेका यी दुई टिम बुधबार आमनेसामने हुँदैछन् ।
बीस वर्षदेखि प्रशिक्षणमा संलग्न मौउरिन्होले दुई च्याम्पियन्स लिग, तीन प्रिमियर लिग, एक स्पेनिस ला लिगा, दुई इटालियन सिरी ए, दुई पोर्चुगिज लिग र एक युरोपा लिग सहित २५ उपाधी जितेका छन् । (गोल डटकमबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया