खेलकुद

साफ च्याम्पियनसिप

कुनै टिमसँग डराउँदैनौँः कप्तान किरण

इकागज |
असोज १४, २०७८ बिहीबार १७:३६ बजे

काठमाडौँ-नेपालले साफ च्याम्पियनसिप २०२१ को यात्रा शुक्रबार सुरु गर्दैछ । दक्षिण एसियाली फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा घरेलु टिम माल्दिभ्सको सामना गर्दैछ । 

दुई टिम प्रतियोगिता उद्घाटन हुने दिनको दोस्रो खेलमा आमनेसामने हुँदैछन् । पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । पूरानो तालिका अनुसार उद्घाटन खेलमा मल्दिभ्स र नेपाल भिड्नेवाला थिए । 


कतारमा दुई साता भन्दा बढी तयारी गरी माल्दिभ्स पुगेको नेपाली टिमका कप्तान कप्तान किरण कुमार लिम्बुले आफूहरु साफ च्याम्पियनसिप र माल्दिभ्ससँगको खेललाई लिएर आत्मविश्वासी रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी गोर्खाली हौँ । हामी कोहीसँग डराउँदैनौँ । हामी साफ च्याम्पियनसिपमा जुनसुकै टिमसँग पनि लड्न तयार छौँ,’ माल्दिभ्सको राजधानी मालेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कप्तान किरणले भने ।

आफ्नो टिम अनुभवी खेलाडी र युवा जोशको समिश्रण रहेको बताउँदै किरणले साफ च्याम्पियनसिपका सबै खेल गाह्रो हुने पनि स्विकार गरे । ‘फाइनल पुग्ने हो भने सबै खेलमा बलियो प्रदर्शन गर्न जरुरी छ । धेरै भन्दा धेरै जित निकाल्न आवश्यक छ । अनि ती सबै खेल गाह्रो हुने छन् । तर यसो भन्दैमा हामी डराएर खेल्ने कुरा आउँदैन,’ किरणले भने, ‘माल्दिभ्सलाई घरेलु समर्थकको साथ हुनेछ । हामी माल्दिभ्स र उसका समर्थकलाई सम्मान गछौँ । तर हामी माल्दिभ्ससँग भिड्न तयार छौँ । हामीसँग आत्मविश्वास छ ।’    


 


Author

थप समाचार
x