वेस्टब्रुमसँगको बराबरीले ग्वार्डिओला निराश, मिडफिल्डर गुन्डोगन भन्छन्ः खेलाडी मेसिन होइनन्
काठमाडौं : म्यानचेस्टर सिटीले प्रिमियर लिगमा मंगलबार वेस्टब्रुमलाई पराजित गर्न नसकेपछि विभिन्न प्रतिक्रिया आएका छन् । क्लब प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिमले गोल गर्न पाएको अवसर सदुपयोग नसकेको बताए भने गोलकर्ता एल्काइ गुन्डोगनले ब्यस्त तालिकाका कारण सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको दाबी गरे ।
‘हामीले पहिलो हाफमा राम्रो खेल्न नसके पनि दोस्रो हाफमा पर्याप्त गोलको अवसर सिर्जना गरेको हो । तर २६ पटक आक्रमण बुन्दा पनि गोल गर्न सकिएन । हामी गोल गर्न निरन्तर संर्घषरत छौ । वेस्टब्रुम जस्तो प्रतिद्वन्द्वीसँग खेल्दा हामीले तीन अंक बटुल्नै पर्छ,’ निराश ग्वार्डिओलाले खेलपछि प्रतिक्रिया दिँदै भने ।
उता खेलमा सिटीका तर्फबाट गोल गरेका जर्मन मिडफिल्डर गुन्डोगनले ब्यस्त तालिकाका बीच खेल्दा सबै खेल जित्न नसकिने धारणा ब्यक्त गरे । खेलमा ३० औ मिनेटमा गोल गर्दै गुन्डोगनले सिटीलाई अग्रता दिलाएका थिए । तर इतिहादमा सिटीकै रक्षक रुबेन डायसले आत्मघाती गोल गरेपछि रेलिगेसनबाट बच्न संर्घषरत वेस्टब्रुमले बलियो विपक्षिबाट महत्वपूर्ण एक अंक खोसेको थियो ।
‘प्रिमियर लिगमा ठूला क्लबको तालिका एकदमै ब्यस्त छ । युरोपका अन्य ठूला क्लबले पनि ब्यस्त तालिका कारण सबै निरन्तर खेल जित्न सकिरहेका छैनन् । तर यसो भनिरहँदा हामीले आफ्नो मैदानमा वेस्टब्रुम जस्तो विपक्षिलाई भने पराजित गर्नैपर्छ,’ गुन्डोगनले भने ।
खेलमा सिटीले दबाब सिर्जना गरेपनि अर्को गोल भने थप्न सकेन । गत शनिबार सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको सिटीको १२ खेलबाट २० अंक छ । आउँदो शनिबार सिटीले साउथह्याम्पटनको सामना गर्दैछ । यस सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको साउथह्याम्पटन १२ खेलबाट २३ अंकका साथ चौथो स्थानमा छ ।
गुन्डोगनले वेस्टबु्रमविरुद्ध आफ्नो टिमले स्वाभाविक खेल नदेखाएको पनि स्विकार गर्दै कहिलेकाँही कमजोर प्रतिद्वन्द्वीविरुद्ध पनि सफल हुन नसकिने जिकिर गरे । ‘हामी खेलाडी पनि मानव नै हो । मेसिन होईन । कुनै खेलमा धेरै संर्घष गर्नुपर्ने आवश्यकता हुन्छ । अनि सबै खेल जित्न सकिँदैन । तर हामी यो बराबरीले निराश छौं,’ जर्मन राष्ट्रिय टोलीका गुन्डोगनले भने । (अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया