खेलकुद

ईपीएलः जितपछि पोखरा दोस्रो स्थानमा, विराटनगर बाहिरियो

इकागज |
असोज १६, २०७८ शनिबार १७:४१ बजे

तस्बिरः पोखरा राइनोजको फेसबुक पेजबाट

काठमाडौँ- पोखरा राइनोजले एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा शनिबार पोखरा राइनोजले विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गरेको छ । विराटनगरमाथिको जितसँगै पोखराले प्ले-अफ पुग्ने सम्भावनालाई पनि बलियो बनायो । उता लगातार चौँथो पराजय भोगेको विराटनगर भने प्रतियोगिताबाट बाहिरियो । 

विराटनगरमाथि जित हासिल गरेसँगै पोखराको चार खेलबाट पाँच अंक भएको छ । शीर्षस्थानको चितवन टाइगर्सले एक खेल कम खेल्दै ६ अंक बनाएको छ । तेस्रो स्थानको भैरहवा ग्लाडियटर्सले तीन खेलबाट चार अंक बटुलेको छ । 


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुुमाउँदै १७२ रनको योगफल तयार पार्‍यो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले १७.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

पोखराको जितमा तीन विदेशी खेलाडीले गज्जबको ब्याटिङ गरे । विजयी टिमका लागि असेला गुणारत्नेले अर्धशतक प्रहार गरे । २४ बल सामना गरेका गुणारत्नेले अविजित ५० रन बनाए । त्यसैगरी, ओपनर रिचार्ड लेभीले २६ बलमा ४७ रन बनाए भने साहान अराचिगेले ४३ रन जोडे । १५ रनको योगदान गरेका कप्तान विनोद भण्डारी पनि अविजित रहे । 

त्यसअघि विराटनगरका लागि ओपनर आशिफ शेखले ४४ रन जोडे । विराटनगरको इनिङलाई बलियो स्थितिमा पुर्‍याउने प्रयास गरेका आशिफले ३३ बल सामना गर्दा ६ चौका प्रहार गरे । विराटनगरका लागि मध्यक्रमका सिकन्दर राजाले २९ रन बनाए भने सन्दिप रजालीले अविजित २८ रनको योगदान गरे । त्यस्तै नटआउट नै रहेका कप्तान करण केसीले २४ रन बनाएका थिए । 

बलिङतर्फ पोखराका विक्रम सोबले दुई विकेट लिए भने नन्दन यादव, विवेक यादव र आर्चचिगेले समान एक-एक विकेट लिए । शनिबारको पहिलो खेल भने रद्ध भएको थियो । मैदान ओसिलो भएका कारण खेल हुन नसकेपछि भैरहवा ग्लाडियटर्स र काठमाडौँ किंग्स इलेभेनले एक-एक अंक बाँडेका थिए । 


 
 


Author

थप समाचार
x