खेलकुद

पराजित भएपछि मौउरिन्होको प्रतिक्रिया : लिभरपुललाई जित्‍नुपर्ने थियो, हार्‍यौं

इकागज |
पुस २, २०७७ बिहीबार १३:७ बजे

काठमाडौं : प्रिमियर लिगमा बुधबार लिभरपुलसँग पराजित भएपछि टोटनहमका प्रशिक्षक जोसे मौउरिन्होले आफ्नो टिम मर्सीसाइड टोलीलाई हराउन योग्य भएको प्रतिक्रिया दिएका छन् । प्रिमियर लिग उपाधी दौडमा रहेका दुई टिमबीचको भिडन्त पछि मौउरिन्होले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो खेल हामीले जित्‍नुपर्ने थियो । त्यसकारण नतिजाले म निराश छु,’ मौउरिन्होले भने, ‘हो, लिभरपुलले अधिकांश समय बल नियन्त्रणमा राख्यो । तर आक्रमण बुन्ने मामिलामा हामी बलियो थियौं । हामीले एक भन्दा धेरै गोल गर्न सक्नुपर्थ्यो ।’


एनफिल्डको भ्रमण अघि लिग अंक तालिकामा शीर्षस्थानमा रहेको टोटनहम लिभरपुलसँग २-१ ले पराजित भएसँगै दोस्रो स्थानमा झरेको छ । लिगको पहिलो स्थानमा उक्लेको लिभरपुलले १३ खेलबाट २८ अंक बनाएको छ भने टोटनहमको समान खेलबाट २५ अंक छ ।

‘लिभरपुल जस्तो बलियो टिमविरुद्ध भिड्दा गोलको धेरै मौका पाइँदैन । त्यसकारण थोरै मौकामा खेल जित्‍नुपर्छ । जुन हामीले गर्नसकेनौं । बराबरी आफैमा खराब नतिजा नभए पनि खेल नजितेकोमा म खुशी छैन । लिभरपुललाई हराउन हामी सक्षम थियौं,’ मौउरिन्होको भनाई थियो ।

खेलपछि पत्रकारहरुसँगको कुराकानीमा मौउरिन्होले आफुलाई अरु प्रशिक्षक भन्दा फरक ब्यबहार गरिने भनेर गुनासो गर्न पनि भ्याए । अनि लिभरपुलका प्रशिक्षक यार्गेन क्लपसँग कुनै समस्या नरहेको पनि स्पष्ट पारे । ‘क्लपसँगको सम्बन्धमा कुनै समस्या छैन । तर उनलाई र मलाई फरक फरक ब्यबहार गरिन्छ । रेफ्रीले मलाई भन्दा उनलाई राम्रो ब्यबहार गर्छन् । यसमा मेरो चित्त दुखाई छ,’ मौउरिन्होले भने ।


Author

थप समाचार
x