खेलकुद

अस्थिर चेल्सी, निराश लाम्पार्ड

इकागज |
पुस ३, २०७७ शुक्रबार ७:५६ बजे

काठमाडौँ : ब्राइटन, क्रिस्टल प्यालेस, बर्नली, सेफिल्ड युनाइटेड, न्यूकासल युनाइटेड र लिड्स युनाइटेड प्रिमियर लिग अंक तालिकाको तल्लो क्रममा छन् । यस बाहेक यी क्लबबीच अर्को समानता पनि छ । जारी सिजनमा यी सबै क्लब चेल्सीसँग पराजित भएका हुन् । चेल्सीले यस सिजन जम्मा-जम्मी ६ खेलमा जित हासिल गर्दा उल्लेखित क्लबहरूलाई पराजित गरेको हो ।

प्रिमियर लिगमा मात्र होइन, हरेक ठूला लिगमा उपाधी जित्‍ने लक्ष्य राखेको क्लबले साना तथा कमजोर मानिएका टिमहरूलाई हराउनैपर्छ । चेल्सीले यो सिजन त्यही गरेको छ । र, ती जितहरूले चेल्सीलाई अंक तालिकामा उकासेको पनि छ । तर चेल्सीको साना र कमजोर मानिएका क्लबहरूविरुद्धको लय कायम रहन सकेन । त्यसकै नतिजा हो, पछिल्ला दुई खेलमा एभरटन र उल्भरह्याम्पटनसँगको पराजय । लगातारको दुई हारले चेल्सीलाई लिग अंक तालिकाको छैठौं स्थान पुग्यो ।


आउँदो सोमबार लन्डन प्रतिद्वन्द्वीविरुद्ध पनि चेल्सीले हारको श्रृङखला जारी राख्‍ने हो भने ६ पटकको इंग्लिस च्याम्पियन मध्यक्रम तर्फ धकेलिनेछ । यस सिजनको लागि चेल्सीले नाम चलेका युवा खेलाडी खरिद गरेको थियो । चेल्सीले सरुवा बजारमा कुनै पनि प्रिमियर लिग क्लबको भन्दा धेरै रकम खर्च गर्‍यो । त्यसकारण चेल्सीले लिग नजिते पनि शिर्ष चारमा कुनै स्थान प्राप्त गर्ने अपेक्षा राखिएको थियो । तर लिगमा १३ खेल सकिँदा लिभरपुल र टोटनहमले उपाधी दौडमा चेल्सीलाई पछि पारिसकेको अवस्था छ । लिभरपुल र टोटनहमले अंक तालिकाको मध्यक्रम र तल्लोक्रममा रहेका क्लबहरूविरुद्ध जित निकालिरहेको बेला चेल्सीले भने स्थिरता देखाउन सकेन ।

त्यसो त एभरटन र उल्भरह्याम्पटनसँगको खेलमा चेल्सी केही हदसम्म अभागी ठहरियो । दुई खेलमा चेल्सीका खेलाडीहरूको तीन प्रहार बारमा ठोक्किए । उल्भरह्यामपटनसँग त चेल्सीले इन्जुरी समयमा गोल खायो । सो खेलपछि प्रशिक्षक लाम्पार्डको प्रतिक्रिया थियो, ‘हामीले एभरटन र उल्भरह्याम्पटनसँगको खेलहरूमा आफ्नो स्तरको प्रदर्शन गर्न सकेनौ । अवे खेलमा यस्तो कमजोर स्तर प्रदर्शन गर्ने हो भने स्वभाविकरुपमा जित हासिल गर्न सकिँदैन,’ 

लाम्पार्ड प्रशिक्षणमा नयाँ छन् । तर उनीसँग खेलाडीका रुपमा तीन पटक प्रिमियर लिग उपाधी उचालेको अनुभव छ । झन् २००४-०५ सिजनमा लिग जित्दा त जोसे मौउरिन्हो नेतृत्वको चेल्सीले एक खेल मात्र हारेको थियो । लाम्पार्डको चेल्सीले भने चार दिनमा दुई पराजय भोग्यो । त्यसकारण पनि लाम्पार्ड आफ्नो टिम लिग जित्‍ने स्तरसम्म पुगिनसकेको ठान्छन् । त्यसो त, लिग दौडमा बलियो देखिएको लिभरपुलका प्रशिक्षक क्लपले चेल्सीलाई लिग जित्न सक्ने टिमका रुपमा चित्रित गरेपनि लाम्पार्ड भने त्यसमा सहमत छैनन् । ‘यस्तो तालले लिग जितिदैन,’ लाम्पार्डको भनाई थियो ।

गत सिजन चेल्सीको रक्षापंक्तिमा कमजोर देखिएको थियो । त्यसकारण, चेल्सीले यस पटक अनुभवी रक्षक थियागो सिल्भा र गोलरक्षक एडोवार्ड मेन्डीलाई क्लबमा भित्र्याएको थियो । तर मेन्डी सम्मिलत चेल्सी रक्षापंक्तिले तीन खेलमा चार गोल खाइसकेको छ । कुनैसमय, चेल्सी कम गोल खाने टिमका रुपमा परिचित थियो । तर त्यसबखत चेल्सीसँग पिटर चेक, जोन टरी लगायतका विश्वस्तरिय गोलरक्षक र रक्षक थिए । के लाम्पार्डसँग त्यही स्तरका खेलाडीहरू छन् त ? पक्कै छैनन् ।

एभरटन र उल्भरह्याम्पटनविरुद्ध चेल्सी रक्षापंक्तिमा मात्र होइन, आक्रमण बुन्ने मामलामा पनि कमजोर देखियो । बार्यन लेभरकुजनबाट ७२ मिलियन पाउन्ड खर्चेर खरिद गरिएका काइ हार्बट्सले फेरि पनि फितलो खेल देखाए । चेल्सीको ‘एट्याकिङ मिडफिल्ड’ सम्हाल्ने अपेक्षा गरिएका हार्बट्सले ११ लिग खेलमा मात्र एक गोल र दुई असिस्टको योगदान गरेका छन् ।

यसै सिजन चेल्सी आएका अर्का जर्मन खेलाडी टिमो बेरनरले पनि स्टाम्र्फोड ब्रिजमा छाप छाड्न सकेका छैनन् । चेल्सीले हारेको पछिल्ला दुई खेलमा पनि बेरनर निरस देखिए । बेरनरले चेल्सीमा अपेक्षित सफलता पाउन नसक्नुलाई टिममा उनले पाइरहेको भूमिकासँग पनि जोड्न सकिन्छ । बेरनर स्वभावतः स्ट्राइकर हुन्, तर चेल्सीमा उनलाई ‘लेफ्ट विङ्गर’का रुपमा प्रयोग गरिन्छ । त्यस भूमिकामा रहेर बेरनरले खेल्न नसक्ने होइनन्, तर स्ट्राइकरका रूपमा बेरनर बढी प्रभावशाली देखिनसक्छन् ।

माथि उल्लेख गरेझै, चेल्सीको सरुवा बजारको खर्चले सर्मथकहरूको अपेक्षा बढाइदियो । निश्चय पनि नाम चलेका स्टार खरिद गर्दा क्लबले लिग उपाधीमा दाबेदारिता प्रदर्शन गर्ने अपेक्षा गर्नु गलत होइन । तर चेल्सीले ठूला टिमविरुद्ध जित निकाल्न सकेको छैन । चेल्सीले लिभरपुलविरद्धको खेल गुमायो भने म्यानचेस्टर युनाइटेड र टोटनहमसँग बराबरी खेल्यो ।

चेल्सी एभरटन र उल्भरह्याम्पटनसँग पराजित हुनुअघि नौ खेलमा अपराजित थियो । त्यसैले हुनसक्छ क्लप लगायतले ‘चेल्सी लिग उपाधी दाबेदार टिम हो’ भनेको । तर लाम्पार्ड भने आफुले चेल्सीलाई कहिले पनि लिग दाबेदारका रुपमा नलिएको बताए । ‘धेरैले चेल्सीलाई लिग जित्ने टिमका रुपमा सूचिकृत गरे । तर त्यसमा मेरो सहमति थिएन,’ लाम्पार्डको भनाई थियो । सायद लाम्पार्ड आशावादी नहुनुमा उनको टिम अस्थिर भएर पनि हो । त्यसो त, जारी लिगमा चेल्सीको स्तर ठ्याक्कै यही हो भन्‍न पनि ग्राहो छ । (बेलायती सञ्चार माध्यम दि इन्डिपेन्डेन्टबाट)  


Author

थप समाचार
x