खेलकुद

कतार विश्‍वकप २०२२ लाई स्वास्थ्य खेल समारोह बनाउने घोषणा

इकागज |
कात्तिक २, २०७८ मंगलबार १६:२५ बजे

काठमाडौँ - खाडी मुलुक कतारमा हुने आगामी विश्‍वकप-२०२२ लाई जनस्वास्थ्यका दृष्टीकोणबाट स्वास्थ्य खेल समारोह बनाउने घोषणा भएको छ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)को मुख्यालय जेनेभामा उक्त घोषणा भएको हो । 

डब्लूएचओका महानिर्देशक डा‍‌. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल-थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्‍व स्वास्थ्य संगठन मध्यपूर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल-मन्धारीको उपस्थितिमा उक्त घोषणा भएको थियो ।


कतार सरकार तथा विश्‍वकप फुटबल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) सँगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउने काम गर्नेछन् । साथै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउँने काम पनि गरिने जानकारी ललितपुरस्थित कतारी दुतावासले जानकारी दिएको छ ।

विश्‍वकप फुटबल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्बर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारिरीक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेकाे पनि दूतावासले जानकारी दिएको छ । यो कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठूला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसँग सम्बन्धित विषयमा पुर्‍याउन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्‍वास गरिएको छ ।

विश्‍व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्‍वकप फुटबल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिएका थिए । ’विश्‍व स्वास्थ्य संगठन कतार सरकारसँग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिवद्ध छ ।  विश्‍वकप फुटबलसँगसँगै जनस्वास्थ्यका विषयमा बुझाउँन पनि यी कार्यक्रम सहयोगी सावित हुनेछ भन्ने मैले विश्‍वास लिएको छु,' उनले भने । 

महानिर्देशक डा तेड्रेसले कोरोना महामारीकै बीचमा सुरू हुन लागेको विश्‍वकप फुटबलले जनस्वास्थ्यका क्षेत्रमा नयाँ संभावनाको बाटो देखाउँनेमा ढुक्क भएको तथा विश्‍वले नै यस महामारीबाट छुटकारा पाउँने विस्वास व्यक्त गरे । कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारीले मध्यपूर्वमा विश्‍वकप फुटबल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गर्ववान्वित भएको बताए ।

'हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा  लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउँने भएकोले हामी डब्लूएचओसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं, जनस्वास्थ्यमन्त्री डा. हनानले भने,'हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा यस्तै ठूला खेलकुदका कार्यक्रम आयोजना गर्दै जानेछौँ ।' विश्‍वकप फुटबल आयोजनाको आठ वर्षपछि अर्थात सन् २०३० मा कतारले एशियन गेमको पनि आयोजना गर्दैछ । 


Author

थप समाचार
x