खेलकुद

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपः वडा नम्बर ५ च्याम्पीयन

इकागज |
कात्तिक १५, २०७८ सोमबार २०:४८ बजे

धनगढी – दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ आदर्श युवा क्लबले जितेको छ ।

धनगढीमा भएको प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ लाई फराकिलो अन्तरले हराउँदै वडा नम्बर ५ को आदर्श युवा क्लबले उपाधि जितेको हो । सोमबार साँझ धनगढीको फल्याटल्यान्ड फुटसलमा भएको फाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ३ लाई १०–१ को फराकिलो अन्तरले हराएको हो ।


यसअघि सोमबार नै भएको सेमिफाइनलमा जित हात पार्दै दुवै टोली फाइनलमा पुगेका थिए । वडा नम्बर ५ ले सेमिफाइनलमा वडा नम्बर ४ लाई हराएको थियो भने वडा नम्बर ३ ले वडा नम्बर ७ लाई हराएको थियो । वडा नम्बर ३ ले सोमबार नै भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर १ लाई किनारा लगाएको थियो ।

दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेता बनेको वडा नम्बर ५ आदर्श युवा क्लबले नगद ५० हजार रूपैयाँसहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ३ ले नगद २५ हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणमा पनि वडा नम्बर ५ स्टार सिटी विजेता बनेको थियो । पहिलो संस्करणको उपविजेता वडा नम्बर १ फारवेष्ट पशुपति रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का कुवेर सिंह भएका छन् । उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का भरत जोशी, सर्वाधिक गोलकर्ता वडा नम्बर ५ का कमल देउवा र उदयमान खेलाडी वडा नम्बर १२ का सुरेन्द्र ढकाल भएका छन् । उनीहरूले पनि नगदसहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरूलाई एक समारोहकाबीच धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर ओडले पुरस्कार वितरण गरेका छन् । आयोजक टेकबहादुर चोखाल फाउन्डेसनका अध्यक्ष विनय चोखालको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि मेयर ओडले खेलकुदको माध्यमबाट धनगढीलाई चिनाउने अभियान सञ्चालन गरिएको बताए । उनले खेलकुदको माध्यमबाट धनगढीलाई अगाडि बढाउन उपमहानगरपालिका सधैं तयार रहेको पनि बताए ।

समापन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) कैलालीका अध्यक्ष मोहित शाह, मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्तलगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अभि मिडिया इभेन्ट एन्ड स्पोर्टसको व्यवस्थापनमा सञ्चालन भएको थियो । दोस्रो संस्करणमा धनगढी र गोदावरीका गरी वडाका १८ वटा टीमहरूको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x