खेलकुद

मेस्सीले अब कस्तो कीर्तिमान राख्‍ने ?

इकागज |
पुस ८, २०७७ बुधबार ७:५३ बजे

काठमाडौं : स्पेनिस ला लिगामा शनिबार भ्यालेन्सियाले बार्सिलोनालाई बराबरीमा रोक्यो । तर खेलको नतिजाले लियोनल मेस्सीलाई अर्को कीर्तिमान राख्‍न रोकेन । भ्यालेन्सियाविरुद्ध गरेको गोल मेस्सीले बार्सिलोनाका लागि गरेको छ सय ४३ औ गोल थियो । त्यस गोलसँगै मेस्सीले ब्राजिलका सर्वकालिन महान् खेलाडी पेलेले एउटै क्लबका लागि धेरै गोल गरेको कीर्तिमानलाई बराबरी गरे । एउटै क्लबमा रहेर धेरै गोल गर्ने कीर्तिमान बराबरी भएपछि मेस्सी र पेलेमध्य को सफल गोलकर्ता भन्‍ने बहस फेरि सुरु हुने देखिन्छ ।

पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्रजिलियन क्लब सान्तोसमा रहँदा ६४३ गोल गरेका थिए । बार्सिलोनाका लागि सन् २००५ मा पहिलो गोल गरेका मेस्सीले पेलेको कीर्तिमान छुन सात सय ४८ खेल खेल्नु पर्‍यो । पेलेले भने सात सय ५७ खेल खेलेर त्यक्तिको संख्यामा गोल गर्न सकेका हुन् । तथ्यांकको विश्लेषण गर्ने हो भने मेस्सीले बार्सिलोनाको जर्सीमा १.१६ (सरदरमा) खेलमा एक गोल गरेका छन् ।  उता पेलेले एक १.१७ (सरदरमा) खेलमा एक गोल गर्न सफल भएका थिए ।


मेस्सीले र्बासिलोनाबाट खेलिरहँदा कयौं कीर्तिमान राखेका छन् । पुराना कीर्तिमानलाई भताभुङ्ग बनाएका छन् । गत जुलाईमा एथलेटिको म्याड्रिडविरुद्ध गरेको गोल उनको व्यवसायिक फुटबल करियरको सात सयौं गोल रहेको थियो । बार्सिलोना इतिहासकै सर्वोच्च गोलकर्ता रहेका ३३ वर्षीय अर्जेन्टिनियनसँग अझै केही वर्ष बाँकी नै छ, थप कीर्तिमान राख्‍न वा राखेका कायम गरिएका कीर्तिमानमा सुधार गर्न । तर उनले त्यसो गर्न बार्सिलोनामा बस्छन् वा नयाँ क्लबमा पुगेर जादु देखाउँछन्, अनुमान गर्न मुश्किल छ । किनभने आउँदो जुलाई १ मा उनको र बार्सिलोनाको औपचारिक सम्बन्ध अन्त्य हुँदैछ । यदि मेस्सीले नयाँ सम्झौतामा हस्ताक्षर नर्गने हो भने उनको बार्सिलोनाको बसाई सकिनेछ ।

त्यसोत आधिकारिक खेलमा गरिएको गोलका आधारमा को महान् खेलाडी भन्‍ने बहस सुरु भए, जोसेफ बिकनको नाम पनि अगाडि आउँछ । अस्ट्रिया र चेकोस्लोभाकियाका राष्ट्रिय टोलीका लागि खेलेका बिकनले आठ सय पाँच गोल गरेका थिए । फिफाका अनुसार बिकन सन् १९३१ देखि ५५ सम्म खेलाडीका रुपमा सक्रिय थिए ।

छ पटक बलोन डि ओआर जितेका मेस्सी बार्सिलोनाका लागि मात्र होइन, स्पेनिस ला लिगाका लागि पनि सर्वोच्च गोलकर्ता हुन् । मेस्सीले चर सय ७६ लिग खेलमा चार सय ४० गोल गरेका छन् भने उनका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले दुई सय ९२ खेलमा तीन सय ११ गोल गरेका छन् ।

गोल गर्नमा मात्र होईन, मेस्सी बार्सिलोनाको जर्सीमा सर्वाधिक उपाधि जित्‍ने मामलमा पनि अगाडी छन् । मेस्सीले बार्सिलोनामा चार च्याम्पियन्स लिगसहित ३४ उपाधि जितेका छन् । एउटै क्लबमा रहेर धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरे पनि मेस्सी अर्को महत्वपूर्ण विभागमा भने पेले भन्दा पछाडि छन् । आधिकारीक भनेर मानिने खेलमा गरेको गोल संख्या हेर्ने हो भने मेस्सी पेले भन्दा केही पछि छन् । क्लब र राष्ट्रिय टोलीको जर्सीमा खेलिएका आधिकारिक खेलमा पेलेले सात सय ५७ देखि सात सय ६७ गोल गरेको बताईन्छ । उता मेस्सीले भने बार्सिलोना र अर्जेन्टिजनाबाट खेलेका आधिकारिक खेलहरुमा सात सय १४ गोल गरेका छन् भने रोनाल्डोले सात सय ५४ गोल गरेका छन् ।

पेले आफुले खेल करियरमा एक हजार भन्दा बढी गोल गरेको दाबी गर्छन् । उनको दाबीमा आधिकारिक मान्न नमिल्ने खेलमा गरिएका गोल पनि समावेश छ । त्यसो त, आधिकारिक खेलमा गरिएको गोलका आधारमा को महान् खेलाडी भन्‍ने बहस सुरु भए, जोसेफ बिकनको नाम पनि अगाडि आउँछ । अस्ट्रिया र चेकोस्लोभाकियाका राष्ट्रिय टोलीका लागि खेलेका बिकनले आठ सय पाँच गोल गरेका थिए । फिफाका अनुसार बिकन सन् १९३१ देखि ५५ सम्म खेलाडीका रुपमा सक्रिय थिए ।    


Author

थप समाचार
x