चिनियाँ नेतामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि बेपत्ता भइन् टेनिस खेलाडी
काठमाडौँ- गत नोभेम्बर २ मा चिनियाँ टेनिस खेलाडी पेङ सुआईले स्थानीय सामाजिक सञ्जाल वैबोमार्फत चीनकै एक नेतामाथि गम्भिर आरोप लगाइन् । पेङले चीनका पूर्वउपप्रधानमन्त्री झाङ गाओलीले आफूमाथि यौन दुर्व्यवहार गरेको दाबी गरिन् । वैबोले पेङको पोस्ट आधा घण्टाभित्र हटायो । यद्यपि यसले पेङको आरोप चीनभर फैलिनबाट रोक्न सकेन ।
पेङले वैबोमा गरेको पोस्ट भाइरल भयो तर पेङ स्वयंम भने बेपत्ता भइन् । उनकोबारे विश्व महिला टेनिस संघ (डब्लूटीए), टेनिस स्टार नाओमी ओसाका लगायतले चासो व्यक्त गरे । डब्लूटीएले चिनियाँ सरकारसमक्ष पेङले लगाएको आरोपको छानबिन गर्न अनुरोध गर्यो । अनि पेङको अवस्था सार्वजनिक गर्न पनि माग राख्यो । तर पेङ कहाँ छिन् भन्ने सूचना डब्लूटीएले पाएको छैन ।
बरु बुधबार चीनको टेलिभिजन च्यानलन सीजीटीएनले पेङले डब्लूटीएका अध्यक्ष स्टिभ साइमनलाई पठाएको पत्र भन्दै आफ्नो ट्वीटर खातामार्फत एउटा पत्र सार्वजनिक गर्यो । ‘डब्लूटीएको आधिकारिक वेबसाइटमा दाबी गरिए जस्तो म बेपत्ता भएको छैन । म सुरक्षित छु । म आफ्नो घरमा आराम गरिरहेको छु । र, मैले कसैमाथि कुनै किसिमको आरोप पनि लगाएको छैन,’ सीजीटीएनले सार्वजनिक गरेको पत्रमा लेखिएको छ । सो पत्रमा डब्लूटीएलाई पेङबारे लेख्नु परे पेङलाई सम्पर्क नगरी नलेख्न पनि भनिएको छ ।
सीजीटीएनले पेङले लेखेको भनिएको पत्र प्रकाशित गरेपछि डब्लूटीएले आफू थप सशंकित भएको प्रतिक्रिया दिएको छ । ‘चिनियाँ सरकारी टेलिभिजन च्यानलले जसरी पेङको नाममा पत्र सार्वजनिक गरेको छ, यसले हामीलाई चिन्तित बनाएको छ । उनी कहाँ छिन्, उनको अवस्था के छ जस्ता प्रश्नको उत्तर छैन । सीजीटीएनले सार्वजनिक गरेको पत्रको विश्वसनियतामाथि नै प्रश्न उठेको छ,’ डब्लूटीएका अध्यक्ष साइमनले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया