सहिद स्मारक लिगकाे तेस्राे चरण सुरु हुँदै, यसाे भन्छन् टिमका प्रशिक्षक तथा अफिसियल
काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछन् ।
शुक्रबारको पहिलो खेलमा फ्रेन्ड्स् क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ । शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लब न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्दैछ ।
तेस्रो चरण अन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले बलियो त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक फुटबलको दबाब खेप्नेछ । यसैगरी २० हुने भनिएका दुई खेल अब २२ गते खेलाइने छ ।
रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएकाले तेस्रो चरणका अन्तिम दुई खेलको मिति परिवर्तन गरिएको हो । बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लबले च्याम्पियन मछिन्द्र फुटबल क्लबको सामना गर्ने तालिका छ । तेस्रो चरणको पूर्वसन्ध्यामा बिहीबार एन्फाले पत्रकार सम्मेलन आयोजना गरेको छ । सो पत्रकार सम्मेलनमा प्रशिक्षक तथा प्रतिनिधिहरूले आ-आफ्नो विचार राखे ।
मृगेन्द्र मिश्र
मुख्य प्रशिक्षक- फ्रेन्ड्स क्लब
तयारी राम्रो छ । विदेशी खेलाडी फर्कँदै छन् । म थ्री स्टारको पूर्वखेलाडी तथा प्रशिक्षक भएकाले विपक्षीबारे थाहा छ । थ्रीस्टार लिग जितिसकेको टिम हो । तर हामी डराउँदैनौ । थ्री स्टारबाट अंक खोस्ने हाम्रो उद्देश्य हो । चाहे तीन वा एक अंक नै किन नहोस् हाम्रो टिममा स्टार खेलाडी नभए पनि प्रतिदिन राम्रो गर्ने प्रयास गरिरहेका छौं ।
रवीन्द्र सिलाकार
सहायक प्रशिक्षक -थ्री स्टार क्लब
लगभग तयारी पूरा भएको छ । खेलाडीको फिटनेसमा सुधार आएको छ । सातदोबाटोसँग हार्यौं । तर त्यो सुरुवाती खेल भएकाले हाम्रो उद्देश्यमा फरक पर्दैन । किनभने अरू धेरै खेल खेल्न बाँकी नै छ ।
सुरज महर्जन
सहायक प्रशिक्षक - सातदोबाटो युथ क्लब
हाम्रो मनोबल उच्च छ । थ्री स्टारविरुद्ध मात्रै हैन अन्य टोलीविरुद्ध पनि जितका लागि खेल्ने छौं । लिगका विपक्षी टिमहरू बलिया छन्, हामीले कसैलाई पनि कमजोर मानेका छैनौं ।
रत्न महर्जन
सहायक प्रशिक्षक- एपीएफ फुटबल क्लब
हामीले दुई खेल हारिसक्यौं, त्यसकारण हामी दबाबमा छौं । आउँदो खेलमा जसरी हुन्छ तीन अंक बटुल्ने लक्ष्य छ । टिममा देखिएको कमजोरी सुधार गर्दै अघि बढ्ने प्रयासमा छौं ।
राज कुमार केसी
सहायक प्रशिक्षक-संकटा युथ क्लब
जारी लिगमा सबै टिम बलिया छन् । यो नयाँ चरणका खेलहरूका लागि हामले पर्याप्त तयारी गरेका छौं । टिम गेम खेल्ने हाम्रो प्रयास हो । अवश्य पनि तीन अंक बटुल्ने हाम्रो योजना हो ।
राजेन्द्र तामाङ
मुख्य प्रशिक्षक- मनाङ मस्र्याङ्दी क्लब
संकटा बलियो टिम हो । उसको गेम मुमेन्ट राम्रो छ । उसले सेट पिसका धेरै मौका पाएको छ ।
हामी हाल लिग लिडर छौं । तर यो स्थान जोगाउनका लागि संकटालाई हराउनै पर्छ । हामी सन्तुलित खेल खेल्ने प्रयासमा हुनेछौं ।
राजु काजी शाक्य
मुख्य प्रशिक्षक - न्युरोड टिम (एनआरटी)
पहिलो दुई खेलको नतिजाले केही बिग्रिहालेको छैन । लिगमा सबै टिमको स्तर उस्तै छ । हामीले अझै धेरै खेल खेल्न बाँकी नै छ । ती खेलबाट अधिकतम अंक बटुलेर शीर्ष चारमा पर्ने हाम्रो लक्ष्य हो ।
राजु श्रेष्ठ
अफिसियल- ब्रिगेड ब्वाइज युथ क्लब
हामी पहिलो पटक फ्लड लाइटमा खेल्दै छौं । साँझमा हुने यो खेलका लागि हामी उत्साहित छौं । हम्रो विपक्षी आर्मी शारीरिक रूपमा बलियो टिम हो । यसैलाई ध्यानमा राखेर हामी तयारी गरिरहेका छौं ।
राजु तामाङ
सहायक प्रशिक्षक- त्रिभुवन आर्मी फुटबल क्लब
हामी उपाधि दाबेदार हौं । उपाधि दौडका लागि हामी मानसिक रूपमा तयार छौं । आउँदो खेलबाट तीन अंक खोस्ने हाम्रो लक्ष्य हो । पछिल्लो दुई खेलमा हामी अभागी सावित भएको होइन, बरु विपक्षीले राम्रो खेलेका हुन् । हाम्रो टिममा अझै पनि स्ट्राइकरको अभाव छ । यसैलाई मध्यनजर गर्दै योजनासहित खेल्ने छौं ।
विजेन पुडाशैनी
व्यवस्थापक- हिमालयन शेर्पा क्लब
कुनै पनि टिमलाई आँक्दैनौं । तर, पुलिससँग खेल्दा हाम्रो ध्यान तीन अंकमै हुनेछ । यो खेलका लागि हाम्रो तयारी जारी छ । अनि सबै खेलाडी मानसिक रूपमा पनि तयार छन् ।
सञ्जीव जोशी
सहायक प्रशिक्षक- नेपाल पुलिस क्लब
हाम्रो उद्देश्य तीन अंककै हो । पछिल्लो खेलमा हाम्रो प्रदर्शन सन्तोषजनक नै रह्यो । घाइते हुँदा-हुँदै पनि खेलेका सुमन निर्णायक सावित भए । अबको विपक्षी र हाम्रो स्तर उस्तै हो । यसको मुख्य कारण दुवै टिममा युवा खेलाडीको बाहुल्यता हो ।
किशोर केसी
मुख्य प्रशिक्षक -जावलाखेल युथ क्लब
हाम्रो अबको खेल मछिन्द्रसँग छ । त्यो खेलबाट कमसेकम एक अंक बटुल्न सक्छौं भन्ने आत्मविश्वास छ । पछिल्ला दुई चरणको नतिजाका आधारमा भन्ने हो भने मछिन्द्र लिगकै बलियो टिम हो । तर हामी प्रतिष्पर्धाका लागि तयार छौं ।
प्रवेश कटुवाल
मुख्य प्रशिक्षक- मछिन्द्र फुटबल क्लब
खेलको मिति परिवर्तन भएकाले हामीलाई फाइदा भएको छ । टिममा आठ जना स्ट्राइकर छन् । तर एक पटकमा खेल्न पाउने तीन जनामात्रै हो । जावलाखेलले दुवै खेल हारेको छ । यद्यपि, ऊ स्तरीय टिम हो । यसकारण खेल प्रतिष्पर्धात्मक हुने छ । दुई चरणका खेल सकिँदा सबै टिम र खेलाडीको प्रदर्शनमा भिन्नता छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया