खेलकुद

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु : लुम्बिनी र एपीएफको विजय सुरुवात

इकागज |
पुस १२, २०७७ आइतबार ११:२३ बजे

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदा पहिलो दिनका खेलहरुमा लुम्बिनी प्रदेश र विभागीय एपीएफले विजय दर्ता गरेका छन् । दाङको लमहीस्थित क्रिकेट मैदानमा सम्पन्‍न पहिलो खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गर्‍यो भने दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशमाथि २ सय ४ रनको जित दर्ता गर्‍यो ।

पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७७ रन बनायो । प्रदेश २ का लागि अनुराधा चौधरी र साना प्रबिनले समान २१ रन बनाए भने बिमला मगरले १० रन बनाइन् । प्रदेश २ का बाँकी खेलाडी कसैले पनि दाहोरो रन बनाउन सकेनन् । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीकी सुस्मिता भुसालले तीन विकेट लिइन् ।


विजय टोली लुम्बिनीले ७८ रनको लक्ष्य १६.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्‍यो । गीता गोसाईंले ४२ बलमा दुई चौकासहित २३ रन र कप्तान नेरी थापाले १३ बलमा दुई चौकासहित १५ रन बनाउँदा लुम्बिनीले सहज जित दर्ता गर्‍यो ।

दोस्रो खेलमा एपीएफले टस जित्दै ब्याटिङ गर्ने निर्णय गर्‍यो । विभागीय टोलीले कप्तान सिता राना मगरको ६८ रनको मद्धतले निर्धारित २० ओभरमा २३५ रन बनायो । एपीएफलाई विशाल योगफल बनाउन ओपनर ज्योती पान्डेले ३२ र सरिता मगरले ४४ रन बनाए । उता पराजित कर्णालीले १४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३१ रन मात्र बनाउन सक्यो । कर्णालीलाई सस्तैमा समेट्न एपएिफकी करुण भण्डारीले ५ विकेट लिइन् ।

अब कर्णालीले दोस्रो खेल आइतबार लुम्बिनीसँग खेल्नेछ भने एपीएफले प्रदेश २ को समाना गर्नेछ । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा सात प्रदेश र एपीएफ क्लब सहभागी छन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश १ छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्‍नेछन् । सेमिफाइनलका दुवै खेल पुस १७ गते हुनेछ भने फाइनल पुस १९ गते खेलाइनेछ । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सवुमनले १० हजार, उत्कृष्ट बलरले ५ हजार र प्लेयर अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x