अस्ट्रेलियन ओपन खेल्ने खेलाडीको सूचीमा जोकोभिच पनि, सेरेना भने नखेल्ने
काठमाडौँ- आउँदो जनवरी १७ बाट अस्ट्रेलिया ओपन सुरु हुँदैछ । अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लाम रहेको यो प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सूची बुधबार सार्वजनिक गरिएको छ । सूचीमा विश्व नम्बर एक नोभाक जोकोभिच छन् भने २३ पटक ग्रान्डस्लाम जितेकी सेरेना विलियम्सका नाम भने छैन ।
यसपालिको अस्ट्रेलियन ओपनमा सहभागी हुने सबै खेलाडी तथा अफिसियललाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप अनिवार्य गरिएपछि जोकोभिचले मेलबार्न पार्कमा हुने यो ग्रान्डस्लाममा भाग लिने वा नलिने अन्योल रहँदै आएको छ । तर जोकोभिचको नाममा सूचीमा राखिएपछि सर्बियाका जोकोभिचले पनि अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बढेको अनुमान गरिँदैछ ।
जोकोभिचले अहिलेसम्म आफूले खोप लगाएको वा नलगाएको विषयमा केही बताएका छैनन् । खोप लगाउने वा नलगाउने निर्णय व्यक्तिगत हुने भएकाले यसबारे सार्वजनिक रुपमा जानकारी दिन आवश्यक नरहेको उनको जिकिर छ । यसैकारण जोकोभिचले अस्ट्रेलियन ओपन खेल्दैनन् कि भन्ने शंका गरिँदैछ ।
यसैबीच अस्ट्रेलियाका सञ्चार माध्यमहरूले सूचीमा रहेका सबै खेलाडीले खोप लगाउनु पर्ने नियममा कुनै परिवर्तन नगरिएको बताएका छन् । यसबारे टेनिस अस्ट्रेलियाले भने कुनै प्रतिक्रिया दिएको छैन । जोकोभिच २१ औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । आगामी अस्ट्रेलियन ओपन जितेमा उनले यस्तो कीर्तिमान राख्नेछन् । तर मेलबर्नमा हुने यो ग्रान्डस्लामका लागि आफू उपलब्ध हुने वा नहुनेबारे जोकोभिचले पनि प्रष्ट पारेका छैनन् ।
उसो त जोकोभिच आगामी जनवरीमा पनि अस्ट्रेलिया जान सक्छन् । अस्ट्रेलियाको सिड्नीमा एटीपी कप आयोजना हुँदैछ । जहाँ सर्बियाको टिमले भाग लिने बताइएको छ । सर्बियाको टिममा जोकोभिचको नाम पनि राखिएको छ । सिड्नीमा हुने यो प्रतियोगिताका लागि पनि खोप अनिवार्य गरिएको छ । तर यदि जोकोभिच यो नियमबाट छुटकारा पाउन चाहन्छन् भने उनले सिड्नी उत्रने बित्तिकै १४ दिनसम्म क्वारन्टिनमा रहनु पर्नेछ ।
सात पटक अस्ट्रेलियन ओपन जितेकी सेरेना भने पछिल्लो समय भने चोटका कारण संर्घषरत छिन् । खुट्टाको चोटका कारण उनी गत जुनमा भएको विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । २४ औँ ग्रान्डस्लाम जित्दै मारगारेट कोर्टको सर्वाधिक पटक विम्बल्डन जितेको कीर्तिमान बराबरी गर्ने ध्येयमा रहेकी सेरेनाले नयाँ संस्करणको अस्ट्रेलियन ओपन खेल्ने बताइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया