खेलकुद

प्रधानमन्त्री कपमा प्रदेश-१ को दोस्रो जित

इकागज |
पुस १५, २०७७ बुधबार १६:२४ बजे

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा प्रदेश-१ ले सुदूरपश्‍चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । समूह बी मा लगातार दोस्रो जित हासिल गरेको प्रदेश-१ ले सेमिफाइनल प्रवेश सम्भावनालाई बलियो बनाएको छ । 

लमहीस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्‍चिमले १६ ओभरमा आठ विकेट गुमाएर ५३ रन बनायो । खराब मौसमका कारण २० ओभरबाट १६ ओभरमा घटाइएको खेलमा सुदूरपश्‍चिमलाई सस्तोमा समेट्न प्रदेश-१ की संगिता राईले १० रन खर्चेर तीन विकेट लिइन् । त्यस्तै, सबनम राईले दुई विकेट लिइन् भने कप्तान रुविना क्षेत्री र निमा तामाङले एक-एक विकेट लिए । 


पराजित सुदूरपश्‍चिमका लागि कविता जोशीले अविजित १४ रन बनाउँदा बाँकी कुनै खेलाडीले पनि दोहोरो अंक छुन सकेनन् । सुदूरपश्‍चिमकी कप्तान बिन्दु रावल दुई रन बनाएर पभेलियन फर्किन भने कविता कुवर र मन्जु बोकटी शुन्यमा आउट भए । प्रारम्भिक ब्याटिङ जोडी रेवती धामी र रुबी पोद्दरले मात्र चार रनको साझेदारी गर्न सके ।

उता प्रदेश-१ ले पाएको लक्ष्य १५.१ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्‍यो । सानो लक्ष्य पछ्याएको प्रदेश-१ का लागि कप्तान रुविना क्षेत्रीबाहेक कसैले पनि दोहोरो अंक बनाउन सकेनन् । कप्तान क्षेत्रीले १२ बल सामना गर्दै उत्तिनै रन बनाउँदा अर्की ओपनर काजल श्रेष्ठ एक रनमा आउट भइन् । सुदुरपश्चिमका लागि दिपा जोराले दुई विकेट लिइन् भने कविता कुवँर र कविता जोशीले एक-एक विकेट लिए । 
  
 


Author

थप समाचार
x