खेलकुद

एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप

आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकिएनः मुख्य प्रशिक्षक भट्ट

इकागज |
पुस ८, २०७८ बिहीबार १६:२० बजे

काठमाडौँ- ढाकामा सुरु भएको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले आफ्नो पहिलो खेलमा जित हासिल गर्‍यो । बिहीबार ढाकामा भएको खेलमा नेपाली टिमले श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । सुरुवाती दुई सेटमा हार बेहोरेको नेपाली टिमले त्यसपछि तीन सेटमा लगातार जित निकाल्यो । 

श्रीलंकामाथि नाटकीय जित दर्ता गरेपनि नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट पूर्णरुपमा सन्तुष्ट देखिएनन् । ‘सर्भिस, स्पाइक र रिसिभमा हाम्रो प्रदर्शन राम्रो रहेन । यी तीन पक्षबाट म सन्तुष्ट छैन,’ भट्टले भने । 


यद्यपि जितसहित प्रतियोगिताको सुरुवात गर्न सक्दा खेलाडीहरूको मनोबल भने बढेको उनको भनाइ थियो । ‘श्रीलंकाविरुद्ध जसरी पनि जित्नु पर्छ भन्ने थियो । किनभने हामी डिफेन्डिङ च्याम्पियन हौँ र यो खेल हाम्रा लागि पहिलो खेल थियो । अनि दक्षिण एसियाली खेलकुदमा श्रीलंकालाई हराइसकेका हुनाले पनि हामीलाई जित्नै पर्ने दबाबमा थियौँ । फेरि पहिलो खेल नै जित्दा टिमको मनोबल उच्च हुन्छ,’ भट्टले भने । 

नेपालमै भएको १३ औँ सागमा नेपालले श्रीलंकालाई सजिलै हराएको थियो । तर ढाकामा भने श्रीलंकाले सुधारिएको प्रदर्शन गर्‍यो । आफ्ना खेलाडीहरूले स्वभाविक खेल देखाउन नसकेकाले श्रीलंका दुई सेटमा हाबी भएको भट्टको भनाइ थियो । उनले ब्लकर सुनिता खड्का र ओपन स्पाइकर शान्ति थारुको प्रदर्शनको भने तारिफ गरे । ‘सुनिता र शान्तिको प्रदर्शनको बलमा हामीले पुनरागमन गर्न सक्यौँ,’ मुख्य प्रशिक्षक भट्टले भने । 
 


Author

थप समाचार
x