महिला टोलीले बंगलादेश र पुरुषले श्रीलंकासँग खेल्दै
काठमाडौं - एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुषले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा महिलातर्फ नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् ।
प्रतियोगितामा लगातार जित निकालेको महिला टोली घरेलु टोलीविरुद्व सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । खेल बिहान सवा ९ मा हुनेछ । बिहीबार आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्व ३–२ को कठिन जित निकालेको साविक विजेता नेपालले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
सन् २०१९ मा बंगलादेशमा नै भएको यसै प्रतियोगिताको पहिलो संस्करणमा महिला टोलीले अपराजित रहँदै फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो । त्यसबेला टोलीले मुख्य प्रशिक्षक जगदीश भट्टकै प्रशिक्षणमा ऐतिहासिक सफलता हात पारेको थियो ।
पुरुषतर्फको दोस्रो खेलमा श्रीलंकाविरुद्व नेपाल जितको खोजीमा कोर्टमा उत्रिनेछन् । प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेको पुरुष टोलीले एक जित र एक हार बेहोरेको छ । खेल पाैद्दे ६ मा हुनेछ ।
पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को शानदार जित निकालेको थियो । प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र माल्दिभ्स तथा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानको सहभागिता छ । राउन्ड रोबिन पद्दतिको आधारमा जारी खेलको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आगामी मंगलबार हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया