दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेः गोकुल बास्कोटा
फाइल फाेटाे
काठमाडौँ- नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दूरुपयोग गर्ने गरेको बताएका छन् ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताए ।
बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताए । उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गरे ।
उनले भने, ‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं । आफ्नो देशको मौलिकता बिर्सन्छौं । म राजावादी भएको होईन । पञ्चायती व्यवस्था जोगाउन खेलाडीहरुको दूरुपयोग गरेपनि । हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरुलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो । अव गणतन्त्रमा चाँही खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन । राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्माविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नु पर्दछ । खेल क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्सी कारखानामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।’
त्यस अवसरमा बास्कोटाले खेलाडीहरुको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे ।
उनले खेलाडीहरुलाई अपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ सचेत गराए ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवम् मोर्चा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरुले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया