खेलकुद

सेन्ट्रल जोन विजेता गण्डकीका खेलाडीलाई नगदसहित सम्मान

इकागज |
पुस १९, २०७८ सोमबार १७:२५ बजे

पोखरा- युवा तथा खेलकूद मन्त्रालय, गण्डकी प्रदेशले एशियन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीलाई सम्मान गरेको छ । बंगलादेशमा भएको प्रतियोगितामा गण्डकीबाट प्रतिनिधित्व गर्ने खेलाडी र अफिसियललाई मन्त्रालयले सोमबार सम्मान गरेको हो ।

प्रदेशबाट टिम कप्तान म्याग्दीकी अरुणा शाहीसहित तनहुँकी उषा भण्डारी, बागलुङकी सफिया पुन र नवलपुरकी शान्ति थारु उक्त प्रतियोगितामा सहभागी भएर च्याम्पियन भएका थिए । यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ अफिसियलका रुपमा बंगलादेश गएका थिए ।


मन्त्रालयले खेलाडीहरुलाई जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र र दोसल्लासहित सम्मान गरेको हो, भने गुरुङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुुद मन्त्री राजीव गुरुङले खेल क्षेत्र र खेलाडीको महत्वबारे मुख्यमन्त्री र अर्थमन्त्रीले बुझ्न आवश्यक रहेको बताए ।

खेलाडीको वृत्ति विकासका लागि राज्यले धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो । मन्त्रालयमा बजेट थोरै हुँदा आफूले सोचेअनुरुप काम गर्न नसकेको उनले बताए । खेलाडीहरुलाई स्वरोजगार बनाउनुपर्ने उनको जोड थियो ।


Author

थप समाचार
x