खेलकुद

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

इकागज |
पुस १९, २०७७ आइतबार १७:६ बजे

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश-१ ले जितेको छ । दाङको लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ ले विभागिय टोली एपीएफलाई ६ रनले पराजित गरेको हो ।
 
टस जित्दै ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५ रन बनायो । टिमलाई बलियो सुरुवात गराउन ओपनरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले ५८ रनको साझेदारी गरे । बेगमले ३४ रन बनाइन् भने कप्तान समेत रहेकी क्षेत्रीले १८ रनको योगदान गरिन् । त्यस्तै प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन् । 

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ र करुणा भण्डारीले १ विकेट लिए । 


एक सय ६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित भयो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । 

ओपनर ज्योति पाण्डेले १४ रन बनाएपनि बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ प्रदेश-१ की कप्तान रुविना क्षेत्री र अलिशा खडियाले दुई-दुई र संगिता राईले एक विकेट लिए । 

प्रतियोगिता विजेता प्रदेश १ ले पाँच लाख प्राप्त गर्‍यो भने उप-विजेता एपीएफले तीन लाख हात पार्‍यो । 


 


Author

थप समाचार
x