खेलकुद

एक्सप्लेनरः जोकोभिचले किन अस्ट्रेलिया प्रवेश गर्न पाएनन् ?

इकागज |
पुस २२, २०७८ बिहीबार १२:२२ बजे

काठमाडौँ- सन् २०२१ मा नोभाक जोकोभिचले तीन ग्रान्डस्लाम जिते । अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका सर्बियन खेलाडी जोकोभिचले यूएस ओपनको फाइनलमा पराजय भोगे । यदि उनले चारै ग्रान्डस्लाम जितेको भए, सर्वाधिक ग्रान्डस्लाम जितको कीर्तिमान बनाउँथे । अनि एकै सिजन चार ग्रान्डस्लाम जितको कीर्तिमान बराबरी गर्न सक्थे । 

नयाँ सिजनको सुरुवातमै जोकोभिचसँग सर्वाधिक गान्डस्लाम जितेर नयाँ कीर्तिमान बनाउने मौका थियो । तर जनवरी १७ बाट सुरु हुन लागेको अस्ट्रेलियन ओपनमा भाग लिन नपाउने भएपछि उनको लक्ष्य धकेलिएको छ । यसको कारण, अस्ट्रेलियन सरकारको पछिल्लो निर्णय हो । बुधबार राति मात्रै अस्ट्रेलियन सरकारले ३४ वर्षीय टेनिस स्टारलाई अस्ट्रेलियन ओपनमा भाग लिन नदिने बताएको छ । 


अस्ट्रेलियन ओपन मेलबर्नमा हुँदैछ । मेलबर्न सहर रहेको भिक्टोरिया राज्यले अस्ट्रेलियन ओपनमा भाग लिन आउने सबैलाई कोभिड–१९ विरुद्धको खोप अनिर्वाय गरेको छ । खोप नलगाएका वा खोप लगाएको/नलगाएकोबारे सूचना नदिनेका लागि त्यहाँको स्थानीय सरकारले एउटा सुविधा दिएको छ, प्रतियोगितामा भाग लिनुभन्दा अगाडि आफू सुरक्षित रहेको प्रमाण पेश गर्नुपर्ने । 

फरक किसिमको स्वास्थ्य स्थिति, कोभिड खोपको पहिलो डोज लगाउँदा रियाक्सन भएको, ६ महिनाअघि मात्रै कोभिड संक्रमणमा परेको लगायतका कारण देखाउनेलाई कोभिड खोप अनिवार्य गरिएको छैन । यस्तो सुविधा पाउनका लागि जोकोभिचसहित कुल २६ जनाले निवेदन दिएका थिए । तीमध्ये केहीलाई मात्रै यो सुविधा दिइएको थियो । यो सूचीमा जोकोभिच पनि थिए । 

जोकोभिचका लागि अस्ट्रेलियन सरकार लचिलो बनेपछि विरोध भएको थियो । अस्ट्रेलियन ओपनमा सहभागी हुन मेलबर्नमा पुगेका खेलाडीले जोकोभिचलाई दिइएको सुविधालाई लिएर आलोचना गरेका थिए । विरोध र आलोचनालाई मत्थर बनाउन अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जोकोभिचले पर्याप्त प्रमाण नदेखाए उनलाई तुरुन्त फकाइने बताएका थिए । 

जोकाभिच बुधबार राति मेलबर्न विमानस्थलमा ओर्लिएका थिए । त्यहाँ उनलाई प्रमाण पेश गर्न भनिएको थियो । तर उनले पेश गरेको प्रमाणसँग अस्ट्रेलियाका सीमा सुरक्षा बलका अधिकारीहरू सन्तुष्ट भएनन् । नतिजा स्वरुप उनको भिसा रद्द गरियो । उनलाई विमानस्थलमा करिब आठ घण्टा राखिएको थियो । त्यसपछि उनलाई एक होटलमा स्थान्तरण गरियो । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार जोकोभिचलाई कारबाही गर्ने वा अस्टे«लियाबाट फिर्ता पठाउने भन्ने यकिन भएको छैन । 

जोकोभिचले आफूले खोप लगाएको प्रमाण देखाएको भए मात्र पनि उनलाई अस्ट्रेलियन ओपन खेल्न दिइन्थ्यो । तर उनले सुरुबाटै खोप लगाएको वा नलगाएको सम्बन्धमा खुलाउन इन्कार गरे । उनले यात्राका लागि कोभिड खोप अनिवार्य गरिएकोमा पनि विरोध गरेका थिए । अप्रिल, २०२० मा उनले यसो भनेका थिए । यसको दुई महिनापछि नै उनी र उनकी श्रीमतीलाई कोभिड संक्रमण भएको थियो । 

जोकोभिचले २० ग्रान्डस्लाम जितेका छन् । अस्ट्रेलियन ओपनको पछिल्ला तीन संस्करणको च्याम्पियन पनि उनी नै हुन् । ग्रान्डस्लाम संख्यामा उनले रोजर फेडेरर र राफाएल नाडाललाई भेटिसकेका छन् । यस्तोमा यो पटकको अस्ट्रेलियन ओपन जितेर अन्य दुई प्रतिद्वन्द्वीलाई पछि पार्न मौका थियो, जोकोभिचसँग । तर अब विश्व नम्बर एक जोकोभिचले नयाँ कीर्तिमान बनाउन केही समय पर्खनु पर्ने भएको छ । 


 


Author

थप समाचार
x