एथलेटिकोमा लुइस स्वारेजको कीर्तिमान
काठमाडौं : स्पेनिस ला लिगामा आइतबार एथलेटिको म्याड्रिडलाई अलाभेसविरुध्द जित दर्ता गराउन एक गोल गरेका लुइस स्वारेजले नयाँ कीर्तिमान राखेका छन् । यसै सिजन बार्सिलोनाबाट एथलेटिको आइपुगेका स्वारेजले आफ्नो नयाँ क्लबमा २१ औ शताब्दीमा सबैभन्दा राम्रो सुरुवात गर्ने स्ट्राइकर बनेका छन् ।
अलाभेसको घरेलु मैदानमा गोल गर्दा स्वारेजले गोल गर्दा जारी सिजनमा उनको गोल संख्या नौ पुग्यो । उनी लिगमा भिल्लारियलका जेरार्ड मोरेनो र सेल्टा भिगोका इयागो आसपाससँगै सर्वोच्च गोलकर्ता रहेका छन् । लिगमा एथलेटिकोका लागि दुई असिस्ट सहित कुल ११ गोलमा योगदान गरेका स्वारेजले रादामेल फाल्काओले भन्दा राम्रो सुरुवात गरेका हुन् । सन् २०११ मा एथलेटिको आएका फाल्काओले पहिलो ११ खेलमा नौ गोल र एक असिस्ट दर्ता गरेका थिए ।
बार्सिलोनामा चार लिग र एक च्याम्पियन्स लिग जितेका स्वारेजले एथलेटिकोमा पनि प्रभाव जमाउन सुरु गरेका छन् । डिएगो कोस्टाले क्लब छाडेपछि एथलेटिकोमा स्वारेजको महत्व थप बढेको छ । लिग अंक तालिकामा शिर्षस्थानमा रहेको एथलेटिकोले सुरुवाती १५ खेलमा २९ गोल गरिसकेको छ भने ६ गोल मात्र खाएको छ ।
सात वर्ष अघि लिग जितेको एथलेटिकोले यस पटक फेरी लिग जित्ने हो भने स्वारेजले आफ्नो लयलाई कायम राख्नुपर्नेछ । दुई खेल बढी खेल्दै ३८ अंक बटुलेको रियल म्याड्रिड दोस्रो स्थानमा छ भने बार्सिलोना खराब लयका कारण पाँचौ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया