टाइम्स र रोयल उपाधि नजिक
काठमाडौं - अपराजित रहँदै टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्यौं । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५–१५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउँदै जित अन्तर फराकिलो बनाएको थियो । टाइम्सले दोस्रोमा १६–१०, तेस्रोमा १६–८ र चौथोमा २१–१५ को प्रदर्शन गर्यो ।
अर्को सेमिफाइनलमा सौरव श्रेष्ठको १७ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७९–७० ले हरायो । सुरुका तीन क्वाटर रोयलले क्रमशः २९–१८, १४–११ र २१–१५ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गर्यो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २६–१५ को अग्रता लिए पनि जितका लागि पर्याप्त रहेन ।
फाइनल शनिबार हुने छ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया