खेलकुद

‘फुटबल क्यालेन्डर व्यवस्थित नहुँदा खेलाडीको फिटनेसमा समस्या’

प्रविणबिक्रम कट्‍वाल |
पुस २९, २०७८ बिहीबार ९:२ बजे

काठमाडौँ- खेल्दा-खेल्दै मैदानमा कुनै खेलाडी लडे, उसको प्राथमिक उपचारका लागि दौडेर जाने मानिस फिजियोथेरापिस्ट हो । सामान्य भाषामा फिजियोथेरापिस्टको परिचय यही हो । हुन त फिजियोथेरापिस्टको सहयोगको आवश्यकता खेलाडीलाई मात्रै होइन, आम मानिसलाई पनि पर्छ । किनभने मांसपेसीसम्बन्धी समस्या हरेकलाई आउन सक्छ । 

मांसपेसीमा उत्पन्‍न समस्याको प्रकृति र यसलाई कसरी समाधान गर्ने भन्‍नेबारे सल्लाह दिने काम फिजियोथेरापिस्टकै हो । खेलकुदमा चाहिँ फिजियोथेरापिस्टको परिचय यतिमा मात्रै सीमित छैन । खासमा फिजियोथेरापिस्ट ‘फस्ट लाइन अफ डिफेन्स’ हुन् । कुनै बेला राष्ट्रिय फुटबल टिमका लागि काम गरेका विवेक विक्रान्त अधिकारी यसै भन्छन् । 


फुटबलकै कुरा गर्ने हो भने, टिमलाई गोल खानबाट रोक्ने मुख्य जिम्मेवारी रक्षापंक्तिको काँधमा हुन्छ । रक्षापंक्तिमा रक्षकबाहेक गोलरक्षक पनि हुन्छन् । यिनले आफ्नो टिमलाई गोल खानबाट रोक्न भरमग्दुर प्रयास गर्छन् । खेलको प्रकृतिअनुसार सफल वा असफल हुने कुरा त छँदै छ । अब यी खेलाडीलाई चोट लाग्न नदिने काम फिजियोथेरापिस्टको हो । यस अर्थमा फिजियोथेरापिस्टलाई ‘फस्ट लाइन अफ डिफेन्स’ भनिएको हो । 

यो वाक्यको सन्देश हो, खेलाडीलाई चोटबाट मुक्त पार्दै मैदानमा फर्काउने मात्र होइन, उसलाई घाइते हुनै नदिने रणनीति हुन्छ, फिजियोथेरापिस्टको । खेलाडीलाई घाइते हुन नदिन उसको फिटनेसमा ध्यान दिन आवश्यक रहन्छ । खेलाडीको शारीरिक अवस्था सधैँ बलियो अवस्थामा राख्‍न पालना गर्नुपर्ने नियम र गर्नुपर्ने काम धेरै हुन्छन् । फेरि फिजियोथेरापिस्ट वा खेलाडीले चाहेर मात्रै चोटबाट बच्न सकिँदैन । किनभने मैदानमा खेलाडी जुनसुकै बेला घाइते हुन सक्छ ।

सामान्यतया खेलकुदमा खेलाडीले सामना गर्नुपर्ने चोट दुई प्रकारको हुन सक्छ । पहिलो, ‘ट्रमाटिक इन्जुरी’ र दोस्रो ‘ओभरयुज अफ मसल्स’ । फुटबलको मैदानमा विपक्षी खेलाडीको ट्याकलबाट कोही खेलाडी घाइते भए, यो ‘ट्रमाटिक इन्जुरी’ हो । अनि कोही खेलाडी बल भेट्टाउन दौड्दै गर्दा ‘ह्यामस्ट्रिङ’को चोटको सिकार बन्‍न सक्छन् । यस्तो चोट ‘आभेरयुज्ड अफ मसल्स’का कारण हुन सक्छ । मतलब मांसपेसीमा आवश्यकताभन्दा बढी भार परे, खेलाडी घाइते बन्‍न पुग्छ । 

घाइते भएको खेलाडीलाई मैदानमा फर्किने गरी तयार पार्ने जिम्मेवारी फिजियोथेरापिस्टको हो । उसो त कतिपय खेलाडीको उपचारका क्रममा शल्यक्रियाको आवश्यक हुन्छ । तर शल्यक्रिया गर्नुअघि खेलाडीको प्रि-रिह्याबिलिटेसन हुन्छ । शल्यक्रियापछि गरिने रिह्याबिलिटेसन, पोस्ट-रिह्याबिलिटेसन हो । यी सबै काम फिजियोथेरापिस्टविना सम्भव छैन ।  

स्पोर्टस् साइन्सको क्षितिज फराकिलो छ । यही विषयका विद्यार्थी रहेका विवेकको भूमिका पनि गहिरो छ । राष्ट्रिय फुटबल टिममा रहँदा उनको भूमिका फिजियोथेरापिस्ट तथा एथ्लेटिक ट्रेनरको थियो । खेलाडीले ९० मिनेटसम्म खेल्न गर्नुपर्ने शारीरिक तयारी र खेलपछिको रिकभरीका लागि विवेक योजना बनाउने गर्थे । 

शारीरिक श्रमपछि आराम कत्तिको जरुरी छ, यो सबैलाई थाहा भएकै कुरा हो । झन् खेलाडीका लागि त आरामको विकल्प छैन । ‘जसरी लामो यात्रापछि मोटरसाइकल सर्भिसिङ गरिन्छ, हाम्रो शरीरका लागि पनि हेरचाह आवश्यक पर्छ । खेलाडी राम्रोसँग रिकभर नभए अर्को खेलमा उसको प्रदर्शनको स्तर खस्किन्छ । अनि खेलाडीका लागि साइकोलोजिकल रिकभरी पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ विवेक भन्छन् । 

सामान्यतया फिजिकल रिकभरीका लागि कार्डियो ट्रेनिङ, साइक्लिङ, लाइट जगिङ गराइन्छ भने साइकलोजिकल रिकभरीका लागि मेडिटेसन, मनोरञ्जनका विभिन्‍न गतिविधि । फिजिकल रिकभरीका लागि खेलाडीले खानुपर्ने पौष्टिक आहाराको कुरा त छँदै छ । जसमा प्रोटिन, म्याग्नेसियम लगायतका खनिजको आवश्यकता रहन्छ । 

खेलाडीको फिटनेसका लागि चरणबद्ध काम गरिन्छ । योजना बनाइन्छ । पूरा वर्षलाई तीन भागमा विभाजन गरिएको हुन्छ । जसलाई प्रि-सिजन, सिजन र अफ-सिजन । ‘फरक फरक समयमा फरक फरक तरिकाले खेलाडीलाई फिजिकल ट्रेनिङ गराउनुपर्ने हुन्छ । ट्रेनिङको फ्रिक्वेन्सी, इन्टेनसिटी र एक्सरसाइजको छनौटमा ध्यान दिनुपर्छ,’ विवेक भन्छन् ।  

फुटबल वा अन्य खेलको सिजन जारी रहँदा खेलाडीले नियमित रुपमा शारीरिक अभ्यास गरिरहेकै हुन्छन् । रिकभरीका लागि आवश्यक काम भइरहेकै हुन्छ । सिजन सकिएपछि अफ-सिजनको पालो आउँछ । ‘अफ सिजनमा खेलाडीको स्ट्रेन्थ बढाउन ट्रेनिङ गराइन्छ । किनभने खेलाडी जति बलियो भयो, घाइते हुने सम्भावना उति नै कम हुन्छ,’ विवेक भन्छन्, ‘प्रि-सिजनमा चाहिँ खेलाडीलाई छरितो बनाउन आवश्यक अभ्यास गराइन्छ । किनभने स्ट्रेन्थ बढ्दा खेलाडीको मुभमेन्टमा केही सुस्तता आएको हुनसक्छ ।’ 

युरोपियन फुटबलमा अथवा विकसित देशका खेलकुदमा प्रि-सिजन, सिजन र अफ-सिजनको अवधारणा नयाँ होइन । किनभने त्यहाँ सबै खेलका लागि क्यालेन्डर बनाइएको हुन्छ । नेपालमा भने फुटबल जस्तो सर्वप्रिय खेलकै व्यवस्थित क्यालेन्डर छैन । अनि यहाँको प्रि-सिजन भनेको केही अभ्यास खेल मात्रै हो । 

अस्तव्यस्त क्यालेन्डरका कारण एउटा खेलाडीले सातामै तीन-चार खेल खेल्नु नेपाली फुटबलका लागि सामान्य हो । काठमाडौँ उपत्यकाबाहिर हुने विभिन्‍न प्रतियोगिताका लागि एक ठाउँबाट अर्को ठाउँ रातारात पुगेर खेल्नु नेपाली फुटबलरको नियति नै हो । ‘तर यसले खेलाडी घाइते हुने सम्भावना बढिरहेको हुन्छ । अनि फिटनेस र रिकभरीमा ध्यान नपुग्दा खेलाडीको प्रदर्शनमा असर पर्छ,’ विवेक भन्छन् । 

फुटबल क्यालेन्डरलाई व्यवस्थित गर्ने जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)को हो । तर फिटनेस र रिकभरीका लागि सचेत हुनुपर्ने खेलाडी हो । यद्यपि यसका लागि उचित सुविधा र वातावरण मिलाउने जिम्मेवारी त एन्फा र क्लबकै हो । 

खेलाडीलाई चक्कुसँग तुलना गर्छन्, विवेक । ‘प्रयोग गरेपछि चक्कुलाई सफा गर्ने र धार लगाउने काम गरे यसको आयु लम्बिन्छ । त्यसरी नै खेलाडीको शरीरमा ध्यान दिए उसको प्रदर्शनमा एकरुपता आउँछ । तर नेपाली फुटबलमा खेलाडीको प्रदर्शन खस्किँदा यसको कारण फिटनेस पनि हो भनेर विश्लेषण गरिँदैन,’ विवेक भन्छन् । 

अमेरिकामा फिजियोथेरापी र स्पोर्ट्स साइन्स पढेका विवेक सन् २०१८ मा नेपाल फर्किएका हुन् । नेपाल आएपछि उनी एन्फासँग आबद्ध भए । त्यसभन्दा अगाडि उनले अमेरिकाको घरेलु फुटबलमा दोस्रो श्रेणीको लिग मानिने नर्थ अमेरिकन सकर लिग (एनएएसएल)मा खेल्ने क्लब सान फ्रासिस्को डेल्टाजमा काम गरे । अमेरिकी लिगमा काम गरेकाले त्यहाँ हुने विभिन्‍न प्रयोगबारे उनी जानकार छन् । कतिपय त्यस्ता प्रयोगलाई नेपालमा पनि अनुसरण गर्न सकिने उनको विश्वास छ । 

विवेक नेपालमा पनि खेलाडीहरूको फिटनेस डाटा संकलन गर्नुपर्ने मान्यता राख्छन् । ‘प्रशिक्षकले खेलाडीले कति गोल गर्‍यो, साथी खेलाडीलाई कति अस्सिट दियो भनेर हेर्लान् । हामीले हेर्ने चाहिँ उसको फिटनेस डाटा हो । उसको कार्डियो इन्डुरेन्स कस्तो छ, स्ट्रेन्थ कस्तो छ भनेर जाँच गर्नुपर्छ । तब न उसको फिटनेस बढाउन बढाउन प्रभावकारी ढंगले काम गर्न सकिन्छ,’ विवेक भन्छन् । 

कमसेकम राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा डाकिने खेलाडीहरूको फिटनेस संकलन गरिनुपर्ने सुझाव छ, विवेकको । ‘अहिलेको फुटबल डाटाबाट चल्छ । डाटा भए कुन खेलाडीको फिटनेसको स्तर के छ, कसलाई कुन स्तरसम्म पुर्‍याउनुपर्ने हो भन्‍ने थाहा हुन्छ । अर्को पटक बन्द प्रशिक्षणमा खेलाडी फर्कंदा उसको फिटेनस लेभलमा कति फरक आएछ भन्‍ने थाहा पाइन्छ । फेरि कोही खेलाडीको फिटनेस घटेछ भने फाल्ने भन्‍ने होइन, उसलाई बलियो बनाउने काम गर्ने हो । डाटा संकलन गर्नुको कारण पनि यही हो । नेपालमा चाहिँ खेलाडी डराउँछन्,’ विवेक भन्छन् । 

नेपालमा फिटनेस भन्‍नासाथ बडिबिल्डिङ भनेर बुझिने चलन रहेको अनुभव सुनाउँछन्ु, विवेक । उनका अनुसार जिममा गएर ‘वेट लिफ्ट’ गर्नु मात्र फिटनेस होइन । खेलाडीले आफ्नो फिटनेसमा फरक तरिकाले काम गर्न सक्छन् । तर एथ्लेटिक फिटनेसका लागि अभ्यास गर्ने ठाउँ नभएको विवेकको भनाइ छ । ‘नेपालमा एथ्लेटिक फिटनेसका लागि ठाउँ छैन । पूर्वाधार छैन । यसकारण आफ्नो स्थानबाट केही गर्न सकिन्छ कि भनेर व्यक्तिगत लगानीमा पर्फमेन्स सेन्टर खोलेको छु । तर निजी लगानी भएका कारण यहाँ खेलाडीले पैसा तिर्नुपर्छ । यसकारण सबैको पहुँच हुने प्रकारको पर्फमेन्स सेन्टर खोल्न जरुरी छ,’ विवेकको भनाइ छ । 

विवेकका अनुसार पर्फमेन्स सेन्टरमा खेलाडीले अभ्यास गर्ने मात्र होइन, अभ्यासदेखि डाइटसम्मको ज्ञान प्रदान गरिन्छ । रिह्याबिलिटेसन गराइन्छ । अनि ‘इन्जुरी प्रिभेन्सन’बारे कक्षा पनि दिइन्छ । हो यस्तै सेन्टर एन्फा जस्ता संस्थाले पनि स्थापना गर्नुपर्ने आवश्यकता रहेको ठान्छन् । आफू एन्फामा रहँदा भिन्दै एथ्लेटिक युनिट खोल्नुपर्ने सुझाव दिएको विवेक सम्झिन्छन् । 

‘खेलाडी घाइते भए उसको उपचार गर्ने ठाउँ त हुनुपर्‍यो नि । उसको रिह्याबिलिटेसनको कुरा आउँछ । अहिले गम्भीर घाइते भएका खेलाडीलाई कतार पठाउने चलन छ । तर प्रत्येक वर्ष दुई खेलाडीले मात्रै यस्तो अवसर पाइरहेका छन् । अनि घाइते भएका बाँकी खेलाडीलाई चाहिँ के गर्ने नि ?’ विवेक प्रश्न गर्छन् । कतारको सहयोगमा हुने उपचार र रिह्याबिलिटेसनका लागि निश्चित संख्यामा मात्रै खेलाडी पठाउनुपर्ने हुँदा बाँकी खेलाडीमा निराशा छाउने विवेकको भनाइ छ । 

‘सक्ने जति उपचार र रिह्याबिलिटेसन एन्फाले स्थापना गरेको एथ्लेटिक युनिटमै होस् न । नसकेको केस विदेश रिफर गरे भयो । वर्षभरि नै रिह्याबिलिटेसन र खेलाडीलाई अभ्यास गराउन सकिने पूर्वाधार भए नेपाली फुटबललाई नै फाइदा हुने हो,’ विवेक भन्छन् । आफ्नो कुरा एन्फाको नेतृत्वले चाख मानेर सुनेको र यस्तो पूर्वाधार स्थापनाको लागतबारे आफूलाई अध्ययन गर्न लगाएको सम्झिन्छन्, विवेक । तर लागतबारे रिपार्ट बुझाएपछि भने काम अगाडि नबढेको विवेकको गुनासो छ । 

फरक फरक पोजिसनमा खेल्ने खेलाडीलाई फरक फरक तरिकाले स्ट्रेन्थ ट्रेनिङ दिनुपर्ने आवश्यकता रहने विवेकको भनाइ छ । ‘डिफेन्डरलाई जुन स्तरको स्ट्रेन्थ आवश्यक पर्छ, त्यही स्तरको स्ट्रेन्थ मिडफिल्डरलाई नपर्न सक्छ । अनि स्ट्राइकरलाई डिफेन्डर र मिडफिल्डरको भन्दा फरक तरिकाले ट्रेनिङ दिनुपर्छ । किनभने स्ट्राइकर छरितो, भनेको समयमै टर्न सक्ने र ड्रिबल गर्न सक्ने हुनुपर्छ । यसकारण भूमिका अनुसारको एथ्लेटिक ट्रेनिङको आवश्यकता पर्छ,’ विवेक भन्छन् । 

उनको अनुभवमा नेपाली खेलाडी ‘स्पिडी’ छन् । तर ‘कार्डियो स्ट्रेन्थ’ भने कम छ । ‘राष्ट्रिय टिममा पर्ने अधिकांश खेलाडीको स्पिड हुन्छ । उनीहरू लामो पास भेट्टाउन सक्छन् । यहीकारण नेपाली खेलाडीहरूले धेरैजसो गोल रनिङ बलमा गर्छन् । तर उनीहरुको एक्सिलिरेसनमा समस्या छ । यसको मतलब तुरुन्तै तीव्र गतिमा दौडन सक्दैनन् । यहीकारण नेपाली खेलाडीले विपक्षीलाई बिट गरेर तीव्र गतिमा दौडेर गोल गरेको कमै देखिन्छ । यो समस्या समाधान भने गर्न सकिन्छ,’ विवेकको भनाइ छ । 

उनको बुझाइमा नेपाली फुटबलर तीन प्रकारका छन् । पहिलो, आफ्नो फिटनेसमा असाध्यै सजग हुने । दोस्रो, धेरै मेहेनत नगरे पनि मेन्टेन चाहिँ गर्नुपर्छ भन्‍ने मानसिकता भएको । तेस्रो, अहिलेसम्म यसरी नै खेलियो, धेरै मेहनत किन गर्ने भनेर सोच्ने । ‘हामी ज्लाटन, रोनाल्डो, मेस्सी जस्ता खेलाडीले ३४-३५ वर्ष कट्दा पनि विश्वस्तरीय खेलिरहेका छन् भनेर भन्छौँ । तर उनीहरूले फिट रहन कति मेहनत गरेका छन् भनेर चाहिँ विचार गर्दैनौँ । खेलाडीले एकैनासको प्रदर्शन गर्न उसको फिटनेस पनि त्यही अनुसारको हुनुपर्छ । नेपालमा अञ्जन विष्टको प्रदर्शनमा एकरुपता छ । यसको एउटा कारण उनले फिटनेसका लागि गरेको मेहनत हो,’ विवेक भन्छन् । 

विश्व फुटबलमा तरक्की गर्ने देशहरूको सूची लामो छ । अन्तर्राष्ट्रिय उपाधि जित्नेको संख्या सानो होला तर खेलाडीको अभ्यास र आहारामा ध्यान दिनुपर्छ भन्‍ने चेत भएका देशको संख्या भने ठूलै छ । तर नेपालमा भने अधिकांश खेल संघले फिजियो मात्रै पनि राख्‍न सकेका छैनन् । खेल अनुसारको स्ट्रेन्थ ट्रेनिङ र खेलाडीका लागि आवश्यक पर्ने पौष्टिक आहाराको व्यवस्थापन गर्ने त परको कुरा भइगयो । 

देशमा सबैभन्दा लोकप्रिय रहेको फुटबल खेल नियमन गर्ने संस्थाको मुख्यालयमा समेत आधुनिक अभ्यासस्थल र पूर्वाधारको व्यवस्था छैन । न त खेलाडीका लागि रिह्याबिलिटेसनको व्यवस्था छ । केही साताअघि युवा फरवार्ड रेजिन सुब्बा कुर्कुच्चाको चोटको उपचारका लागि कतार प्रस्थान गरे । विदेशमा गरिने उपचारको खर्च धान्‍न सक्षम खेलाडीको संख्या धेरै छैन । यस्तोमा अधिकांश खेलाडीको उपचार वा शल्यक्रिया नेपालमा हुने गरेको छ । 

जसोतसो शल्यक्रिया भए पनि रिह्याबिलिटेसनका लागि भौँतारिनुपर्ने अवस्था छ । राम्रो रिह्याबिलसेन नभएकै कारण खेलाडीलाई पुरानै चोटले सताउने र अन्ततः करियर नै सकिने खतरासँग हामी सबै साक्षात्कार छौँ । यस प्रकारका समस्यासँग जुध्न आवश्यक तयारी गर्ने र तिनको कार्यन्वयनतर्फ जान आवश्यक छ । नत्र अनुमान गरिएझै नेपाली फुटबलको स्तर जहाँको त्यही रहने खतरा उत्पन्‍न हुन्छ । 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x