खेलकुद

दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिच फेरि अदालत पुगे

इकागज |
माघ २, २०७८ आइतबार १२:१६ बजे

काठमाडौँ- अस्ट्रेलियन सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि नोभाक जोकोभिच फेरि अदालत पुगेका छन् । अस्ट्रेलियन सरकारले डिपोर्ट गर्ने भएपछि जोकोभिच यो निर्णयविरुद्ध अदालत गएका हुन् । अस्ट्रेलियाका आप्रवाशन मन्त्री एलेक्स हकेले जोकोभिच जनस्वास्थ्यका लागि खतरा भएकाले उनलाई डिपोर्ट गरिने बताएका थिए । 

जोकोभिचको तर्फबाट अदालत गएका निक उडले जोकोभिचको उपस्थितिले कसैको स्वास्थ्य खतरामा नपर्ने बताएका छन् । ‘जोकोभिचका कारण कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विरोध हुने कुनै आधार छैन । यसो हुन्थ्यो भजे जोकोभिचले खेलेका टेनिस प्रतियोगितामा कोभिड खोप विरोधी नारा लाग्थ्यो होला,’ उडले भनेका छन् ।


जोकोभिचले दायस गरेको मुद्दाको सुनुवाई आइतबार नै हुने अनुमान गरिएको छ । किनभने अस्ट्रेलियन ओपन सोमबारबाट सुरु हुँदैछ । यसकारण वर्षको पहिलो ग्रान्डस्लाम सुरु हुनुअघि नै जोकोभिचले खेल्न पाउने वा नपाउने टुंगो लाग्नेछ । 

जोकोभिच जनवरी ५ मा अस्ट्रेलिया पुगेका हुन् । खोप लगाएका वा नलगाएकोबारे सूचना दिन इन्कार गरेको जोकोभिचले आफू सुरक्षित रहेको प्रमाण पेस गरेका थिए । तर उनले पेस गरेको प्रमाणले अस्ट्रेलियन सीमा बलका अधिकारी सन्तुष्ट नभएपछि सर्बियन खेलाडीलाई डिपोर्ट गरिने निर्णय गरिएको थियो । 

यस्तो निर्णयविरुद्ध जोकोभिच त्यहाँको अदालत गएका थिए । अदालतले अस्ट्रेलियन सरकारलाई जोकोभिचलाई अस्ट्रेलिया मै रहन दिन आदेश दिएको थियो । तर अस्टे«लियन सरकारले दोस्रो पटक जोकोभिचको भिसा रद्द गरेको थियो । यही निर्णयपछि जोकोभिच दोस्रो पटक अदालत गएका हुन् । 
 


Author

थप समाचार
x