खेलकुद

फुटबलको राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु

इकागज |
माघ ४, २०७८ मंगलबार २०:१२ बजे

काठमाडौँ– आजबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका भए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन्। फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने भएकोले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएकाे हो। 


नेपाल र मोरिसस बीच दशरथ रंगशालामा  माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । काठमाडौँमा नै जारी रहेको ए डिभिजन लिगको नवौ चरण सोमबार सकिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा पुगेका छन्। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्बाददाताहरु सँग कुरागर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिससबिरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । मौरिसस विरुद्धको खेलमा  केही नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन् । 

यस्तै सहायक प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफूले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफूलाई र खेललाई अझै निखार्ने बताएका छन् । यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन् । जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन् । तर नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ ।

सरकारले जारी गरेको निषेधाज्ञा र बढ्दो संक्रमणको जोखिम बीच खेल खेलाउनु आफैमा जोखिम पनि हो । यस्तै नेपाली फुटबल टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि कोरोना संक्रमण भएका खेलाडीहरु निको भएर आएपछि सम्पूर्ण टीमको प्रशिक्षण गर्ने एन्फाको तयारी छ ।
 


Author

थप समाचार
x