अस्ट्रेलियन ओपनः सेमिफाइनलमा बार्टीको भेट किजसँग, कोलिन्सको विपक्षी स्वान्टेक
काठमाडौँ- आस्ले बार्टी दुई पटकको ग्रान्डस्लाम विजेता हुन् । उनले सन् २०१९ मा फ्रेन्च ओपन र त्यसको दुई वर्षपछि विम्बल्डन जितेकी थिइन् । अस्ट्रेलियन ओपनको हकमा भने उनी सेमिफाइनलसम्म पुगेकी छन् । सन् २०२० को संस्करणमा सेमिफाइनलमा स्थान बनाएकी उनले यसपालि पनि त्यहाँसम्मको यात्रा तय गरिसकेकी छन् ।
बुधबार भएको क्वार्टरफाइनलमा अमेरिकाकी जेसिका पेगुलालाई ६–२, ६–० को अन्तरले पराजित गरेपछि अन्तिम चारमा स्थान बनाएकी हुन् । अब उनले म्याडिसन किजसँग प्रतिस्पर्धा गर्नेछिन् । महिला एकलतर्फकै अर्को सेमिफाइनलमा भने डानियल कोलिन्स र इगा स्वान्टेकबीच प्रतिस्पर्धा हुनेछ ।
आस्ले ‘स्लाइस सट’ खेल्ने खेलाडीका रुपमा चिनिन्छ । यसकैकारण उनलाई कतिपयले रोजर फडेररसँग दाँज्ने गर्छन् । ‘स्लाइस सट मेरा लागि बलियो हतियार हो । यसलाई अझ प्रभावकारी ढंगले प्रयोग गर्नका लागि अभ्यास पनि गर्ने गरेको छु । तर यो शैलीको प्रयोग गर्दा संयमित हुन पनि जरुरी छ,’ बार्टीले भनेकी छन् । बार्टीको क्षमताबारे किज बेखबर छैनन् । ‘बार्टीको स्लाइस सटबारे हामी सबैलाई थाहा छ । जसरी उनले यसको प्रयोग गर्छिन्, त्यो कमै महिला खेलाडीले गर्न सक्छन्,’ किज भन्छिन् ।
यी दुवै खेलाडी पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने लक्ष्यमा छन् । बार्टीले सन् २०२० को सेमिफाइनलमा सोफिया केनिनसँग हार बेहोरेकी थिइन् । उता किज भने सन् २०१५ मा सेरेना विलियम्ससँग पराजित भएकी थिइन् । संयोगवश् बार्टी र किजलाई हराउने दुवै खेलाडी च्याम्पियन बनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया