खेलकुद

लजालु च्याम्पियन आस्ले बार्टी जसले तोडिन् ४४ वर्षे खडेरी

इकागज |
माघ १६, २०७८ आइतबार १७:२८ बजे

काठमाडौँ- खासमा आस्ले बार्टी लजालु स्वभावकी छन् । उनको अन्तरवार्ता बिरलै आउँछ । अस्ट्रेलियन ओपन चलिरहँदा पनि उनले खासै अभिव्यक्ति वा प्रतिक्रिया दिएको होइन । शनिबारको उपाधि भिडन्तमा सफल भएपछि पनि उनको शारीरिक हाउभाउ अन्यबेलाका च्याम्पियनको जस्तो थिएन । अमेरिकी खेलाडी डानियल कोलिन्सलाई परास्त गरेपछि उनी बस् ‘यस, यस’ भनिरहेकी थिइन् । 

बार्टी पहिलो पटक अस्ट्रेलियन ओपन च्यम्पियन बनेकी हुन् । यसअघि उनी सेमिफाइनलसम्म चाहिँ पुगेकी थिइन् । आफ्नै देशमा हुने ग्रान्डस्लाम जित्न उनलाई ११ वर्ष लाग्यो । हुन त उनले अन्य दुई ग्रान्डस्लाम भने जितिसकेकी छन् । गत वर्ष विम्बल्डन जितेकी उनले सन् २०१९ मा फ्रेन्च ओपनको ट्रफी उचालेकी थिइन् । अब उनले जित्न बाँकी रहेको विम्बल्डन यूएस ओपन मात्रै हो । 


करियरको पहिलो अस्ट्रेलियन ओपन जित्दा बार्टी हर्षित हुने नै भइन् । उनको देशमा उत्साह छाउने भइगयो । तर खुशीयाली मनाउन अर्को कारण पनि थियो । त्यो के भने, अस्टे«लियाले मेलबर्न पार्कमा हुने ग्रान्डस्लाममा एकलतर्फको उपाधि जित्ने स्थानीय खेलाडी नभेटेको ४४ वर्ष भइसकेको थियो । अब भने यो खडेरी तोडिएको छ । र यसो गर्न २५ वर्षीया बार्टी सफल भएकी हुन् ।

बार्टीले सन् २०११ बाट ग्रान्डस्लाम करियर सुरु गरेकी हुन् । आफ्नो पहिलो सिजनमा उनले यूएस ओपनमा क्वालिफायर्स खेलेकी थिइन् । दोस्रो सिजन उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनमा भाग लिइन् । तर उनी तीन वटै ग्रान्डस्लामको पहिलो चरणबाटै बाहिरिन् । तेस्रो सिजन पनि उनले पहिलो सिजन पार गर्न सकिनन् । सन् २०१५ र २०१६ सिजनमा भने बार्टी कुनै पनि ग्रान्डस्लाममा सहभागी भइनन् । सन् २०१७ मा बार्टी कोर्ट फर्किइन् । यसो गरेको दुई वर्षपछि नै उनले फ्रेन्च ओपन विजेता बनिन् । त्यसपछि सन् २०२१ मा विम्बल्डन अनि अहिले आएर अस्ट्रेलियन ओपन । 

‘वास्तवमा म प्रतिक्रिया विहीन भएको छु । च्याम्पियन बनेपछि कसरी खुसीयाली मनाउने भन्नेमा पनि प्रष्ट भइसकेको छैन । तर जे होस्, म खुसी छु । मलाई समर्थन गर्नु हुने सबैलाई धन्यवाद पनि भन्न चाहन्छु,’ अस्ट्रेलियन ओपन जितेपछि बार्टीले भनिन् । बार्टीले सबै किसिमको कोर्टमा ग्रान्डस्लाम जितेकी छन् । उनले ग्रासमा हुने विम्बल्डन र क्लेमा हुने फ्रेन्च ओपनपछि हार्ड कोर्टमा हुने अस्ट्रेलियन ओपनको ट्रफी हात पारेकी हुन् । उनीबाहेक तीन फरक किसिमको कोर्टमा ग्रान्डस्लाम जित्ने खेलाडी सेरेना विलियम्स मात्रै हुन् । 

बार्टीको प्रतिभा स्काउट गरेको श्रेय गोलागोङ क्वलेलाई जान्छ । जो आफैँ चार पटक अस्ट्रेलियन ओपन जितेकी पूर्वस्टार हुन् । १९ वर्षको उमेरमा फ्रेन्च ओपन जितेकी क्वलेले बार्टीको प्रतिभाको पहिचान गरेकी थिइन् । जो अहिले पनि बार्टीको मेन्टर हुन् । तेस्रो ग्रान्डस्लाम जितेपछि बार्टीले क्वलेलाई धन्यवाद भन्न बिर्सिनन् । ‘म आफ्नो जीवनकै महत्वपूर्ण क्षणमा छु । यहाँसम्म आइपुग्नुमा उनको भूमिका अत्यन्तै महत्वपूर्ण छ । उनको प्रेरणाले मलाई यो खेलमा प्रगति गर्न मद्दत गरेको छ,’ क्वलेबारे बार्टीले भनिन् । 

बार्टी सन् २०२० को अस्ट्रेलियन ओपनको सेमिफाइनलमा सोफिया केनिनसँग हारेकी थिइन् । केनिन त्यस संस्करणको विजेता बनेकी थिइन् । तर यसपालि भने बार्टीलाई रोक्नसक्ने कोही भएन् । उनी च्याम्पियन बनेपछि मेलबर्न पार्कमा अस्ट्रेलियन समर्थक झण्डा फहराउँदै खुसायाली मनाइरहेको देखिए । यो भीडमा काथे फ्रिमन पनि थिइन् । जो सिड्नी ओलम्पिकमा स्वर्ण पदक जितेकी धावक हुन् । 


 


Author

थप समाचार
x