ला लिगामा मेस्सी नै उत्कृष्ट
काठमाडौं : जारी सिजन सकिना साथ लियोनल मेस्सीले बार्सिलोना छाड्न सक्नेछन् । बार्सिलोनासँगको सम्झौता जुन ३० मा सकिने भएकाले मेस्सीले नयाँ सम्झौता नगरे क्याट्लन क्लब छाड्ने पक्का हुनेछ । बार्सिलोनासँगको भविष्यमा अन्यौलता भएपनि मेस्सीले क्लबका लागि भने निरन्तर प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
स्पेनिस लिगमा सात पटक सर्वोच्च गोलकर्ता बनेका मेस्सी यस सिजन पनि धेरै गोल गर्ने खेलाडीको सूचिको शिर्षस्थानमा पुगेका छन् । शनिबार ग्रानाडाविरुध्द दुई गोल गरेका मेस्सीले बुधबार एथलेटिको बिल्बाओसँगको खेलमा पनि दुई गोल नै गरेका थिए । ३३ वर्षिय स्ट्राइकरले १७ लिग खेलमा ११ गोल गरिसकेका छन् । लिग अंक तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोना शिर्षस्थानको एथलेटिको म्याड्रिड भन्दा चार अंक पछाडि छ । एथलेटिकोको भन्दा दुई खेल बढी खेलेको बार्सिलोना लिगको शिर्षस्थानमा पुग्ने लक्ष्य राख्ने हो भने मेस्सीले आफ्नो लयलाई कायम राख्नु पर्नेछ ।
गत सरुवा बजारमा क्याम्प नौउ छाड्ने प्रयास गरेका मेस्सी कमसेकम अहिलेका लागि बार्सिलोनामा खुशी देखिन्छन् । अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको बार्सिलोनाका लागि उनी फेरी पनि उत्कृष्ट खेलाडी साबित भएका छन् । सिजनको सुरुवाती १० खेलमा तीन गोल मात्र गरेका गोल गरेका मेस्सीले पछिल्ला आठ खेलमा भने आठै गोल गरेका छन् । मेस्सी बार्सिलोनाका लागि निर्णयक हुन थाल्नु भनेको दबाबमा रहेका बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनका लागि राहत दिने खबर हो ।
यस जनवरीबाट अन्य क्लबसँग कुरा गर्न पाउने मेस्सी पछिल्लो समय ‘फ्रेस’ देखिन्छन् । उनले आफ्नो भविष्यका बारेमा निर्णय लिइसकेको हुनसक्छ । अथवा पछिल्ला नौ लिग खेलमा बार्सिलोना अपराजित रहेकाले पनि मेस्सी खुशी देखिन सक्छन् । जे जस्तो कारण भए पनि, मेस्सी मैदानमा उर्जावान देखिनु भनेको बार्सिलोना बलियो हुनु हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया