खेलकुद

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरी, चौथौं टेस्ट ब्रिसबनमा

इकागज |
पुस २७, २०७७ सोमबार १५:४८ बजे

काठमाडौं : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा भारतले ९८/२ को स्थितीबाट खेल सुरु गर्दै पाँच विकेटको क्षतिमा तीन सय ३४ रन बनाएपछि खेल बराबरीमा टुङ्गियो । चार सय सात रनको लक्ष्य पछ्याएको भारतका लागी रिसभ पन्त र चेतेश्‍वर पुजाराले महत्वपूर्ण योगदान गरे । पन्तले ९७ र पुजाराले ७७ रन बनाए । 
 
घरेलु टिमविरुध्दको टेस्ट बराबरीमा पुर्‍याउन भारतका हनुमा बिहारी र रबिचन्द्रन आश्‍विनले त्रमशः २३ र ३९ रन बनाए । एक सय ६१ बलको समाना गरेका बिहारीले चोट बोक्दै भारतीय इनिङको अन्त्य गरे । अन्तिम टेस्ट बराबरीमा सकिएसँगै चार टेस्टको श्रृङ्खला १-१ को बराबरीमा छ  ।
 
खेलपछि भारतीय कप्तान अजिन्क्या रहानेले आफ्ना खेलाडीहरूले बलियो मानसिकतासाथ खेलेको प्रतिक्रिया दिए । ‘पन्तले महत्वपूर्ण इनिङ खेले । बिहारी र आश्‍विनको प्रदर्शनले हामीलाई खेलमा रहिरहन मद्दत गर्‍यो ।

बिहारीको चोटले हामी सबैलाई दुखित तुल्याएको छ तर खेलमा आइपर्ने चोटलाई आमी नियन्त्रण गर्न सक्दैनौं,’ रहानेले भने । बिहारी अर्को टेस्टका लागि उपलब्ध हुने वा नहुनेमा जाँच नगरी भन्‍न नसकिने रहानेको भनाइ थियो ।
 
उता अस्ट्रेलियाका कप्तान टिम पेनले आफुहरूले खेल जित्‍न पर्याप्त मौका पाएको तर महत्वपूर्ण क्याचहरू छाड्दा बराबरीमा चित्त बुझाउनु परेको प्रतिक्रिया दिए । ‘हाम्रो बलिङ बलियो रह्यो तर धेरै क्याचहरु छाडिए । खेलमा हाम्रा ब्याट्सम्यानले देखाएको लय सकारात्मक थियो । यो खेलले हाम्रो ब्याटिङ लाइन बलियो रहेको पुष्टी गरेको छ । अनि नयाँ खेलाडीहरुको प्रदर्शन पनि सम्झनलायकको रह्यो । उनीहरूले अर्को टेस्टमा पक्कै मौका पाउछन्,’ कप्तान पेनले भने ।
  
अब दुई टोली चौथौं टेस्टका लागि ब्रिसबन जानेछन् । क्‍वीन्सल्यान्ड राज्यको कोभिड-१९ सम्बन्धि नियमका कारण भारतीय टिम अनिवार्य रूपमा आइसोलसनमा बस्‍नुपर्ने पर्ने भएपछि भारतीय टोली ब्रिसबन जाने वा नजाने टुङ्गो थिएन ।


तर सोमबार अस्ट्रेलिया र भारतका क्रिकेट संघहरूबीच वार्ता भएपछि पाहुना टोली ब्रिसबन जान तयार भएको हो । शुक्रबारबाट सुरु हुने चौंथौं टेस्टका लागि भारतीय टिम मंगलबार नै ब्रिसबन तर्फ लाग्‍नेछ । भारतीय टिमका खेलाडीहरूलाई ब्रिसबनस्थित होटलमा रहँदा एक आपसको कोठामा आउजाउ गर्न बन्देज लगाइने छैन । 
 


Author

थप समाचार
x